भीम रावललाई सूर्य थापाको चेतावनी, ‘एक्लो बृहस्पति’ बन्न नखोज्नुहोस्

bhim rawal n surya thapa
लाेकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा आफ्नै नेतामाथि फेरी कटाक्ष गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य भीम रावलमाथि उनले कटाक्ष गरेका हुन्।

रावलले २०५६ सालमा लेखेको ‘लिम्पियाधुरा’ र उनले हालै स्थायी कमिटि बैठक चलिरहँदा बैठकमै सुनाएको ‘धुँवाले छोपिँदै दियो’ शीर्षकको कविता सामाजिक सञ्जालमा शेयर गर्दै थापाले एक्लो ‘बृहस्पति’ बन्न नखोज्न चेतावनी दिएका छन्।

पुरानो र नयाँ कवि तपाईँ नै हो भन्ने विश्वास नलागेर सार्वजनिक खपतका लागि दुवै कविता प्रस्तुत गरेको उल्लेख गर्दै थापाले रावललाई प्रश्न गरेका छन् ‘राष्ट्रवाद’को बहसमा बुझेर नै उत्रिनुभएको हो त ?’

‘पार्टीले तपाईँका कविता बमोजिम चलिदिनुपर्ने कि कसो हो ? यी दुई कविताको ‘पुरानो’ र ‘नयाँ कवि’ तपाईं नै हो भन्ने विश्वास नलागेर नै सार्वजनिक खपतका लागि यहाँ दुवै कविता प्रस्तुतसम्म गरिएको जानकारी अनुरोध छ। म पुरानो लिम्पियाधुरा लेख्ने कविको हिमायती हुँ। तर स्थायी कमिटीमा सुनाएर सार्वजनिक गरिएको कविता भने तथ्यको भ्रष्टीकरण, भ्रमको पुलिन्दा र आत्मनिन्दा एवं भ्रत्सनाको मजाकपूर्ण दृष्टान्तबाहेक अरू केही होइन र हुन पनि सक्दैन। तपाईँका यताका अन्तर्वार्ता, प्रस्तुति र यावत् पक्षले क्रमशः पापराजीको फन्दामा उहिले डायना परेजस्तो र वा आज तपाई परिरहेको अनुभव भइरहेको छ। यो नबुझेर वा नजानेर त पक्कै गर्नुभएको होइन होला ? एक्लो ‘बृहस्पति’ बन्न नखोज्नु नै हितकर हुन्छ होला’, थापाले भनेका छन्।

उनले अघि लेखेका छन्, ‘तपाईँको आजको बोली, धारणा र अभिव्यक्ति नेकपाको संस्थागत निर्णय, धारणा र निर्देशन कदापी होइन र मान्न सकिँदैन। कमसेकम आफूले टेकेको धर्ती र आफ्नो टाउकोले खामेको आकाश मात्रै थाम्न खोज्नु उचित होला कि। विषयको संवेदनशीलता र गम्भीरता बिर्सेर फर्किने ठाउँ नै नराखी आफू अनुकूल अपव्याख्या गरेर बहकिनु उचित होइन। आगे कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्दि।’

थापाले यो भनाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहँदा आफूलाई पार्टीको सहप्रवक्ता उल्लेख गरेका छन्। त्यसकारण कतै यो भनाई थापाको व्यक्तिगत नभई नेकपाको आधिकारिक भनाई त होइन भन्ने प्रश्न उब्जेको छ। यसअघि पार्टी स्थायी कमिटि बैठकका निर्णय मिडियामा सार्वजनिक गरेको भन्दै थापाले रावलको आलोचना गरेका थिए । त्यसको जवाफ दिँदै रावलले आफूलाई जिम्मेबारीको उपदेश दिने धृष्टता नगर्न थापालाई सचेत गराएका थिए।

रावल पछिल्लो समय पार्टी र सरकारका गलत क्रियाकलापविरुद्ध खरो रुपमा उत्रेका छन्। लगातार सरकार र पार्टीको विरोध गर्न थालेपछि सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पनि सोमबार रावलको कटाक्ष गरेका थिए। धनगढीमा आयोजित एक कार्यक्रममा बाँस्कोटाले रावलको नाम नलिएर चर्चित नेताहरुले आफ्नो जिल्लामा छाउपडी प्रथा उन्मुलन गर्न नसकेको बताएका थिए।