शक्तिशाली पश्चिमी वायु नेपालमा प्रवेश, वर्षा र हिमपात हुने

mausama
लाेकपाटी न्यूज

काठमाडौं। नेपालमा पश्चिमी वायुको बलियो प्रणाली प्रवेश गरेको छ। जसले उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात र देशैभर वर्षा गराउने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यो प्रणाली सोमबार बेलुका नेपाल प्रवेश गरेको हो।

पश्चिमबाट भित्रिने यो पश्चिमी न्यून चापीय प्रणालीको हल्काफुल्का प्रभाव रातिदेखि नै सुरु भइसकेको उनले जानकारी दिइन्। ‘यो अलि बलियै खालको प्रणाली हो,’ मौसमविद् बासीले भनिन्, ‘यसले अलि दिन प्रभाव जमाउने देखिन्छ, त्यसबारे हामी क्रमशः बुलेटिन प्रकाशन गरेर जानकारी गराइरहन्छौं।’

महाशाखाका अनुसार यस प्रणालीका कारण आज (मंगलबार) नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना छ। यो प्रणाली बुधबार अझै सशक्त हुने मौसमविद् मञ्जु बासीले जानकारी दिइन्। बुधबार देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत मध्यमदेखि भारी हिमपातको सम्भावना छ।

उक्त प्रणालीका कारण बुधबार र बिहीबार देशभर बदली भई तापक्रममा गिरावट आई देशैभर चिसो बढ्ने उनले बताइन्। साथै यस प्रणालीका कारण बुधबार र बिहीबार देशका पश्चिमी भूभागका धेरै स्थान र मध्य र पूर्वी भूभागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

महाशाखाले विशेष बुलेटिन नै जारी गर्दै भनेको छ : ‘उच्च पहाडी र हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात हुन सक्ने र पहाडी भेगमा हल्कादेखि मध्यम वर्षा हुने र तापक्रममा गिरावट पनि हुने सम्भावना रहेकाले हिमपात र चिसोबाट बच्न सतर्कता अपनाउन हुन सर्वसाधारणलगायत सबैमा अनुरोध गरिन्छ।’

मौसमविद्का अुनसार वर्षा याममा पूर्वी र हिउँद याममा पश्चिमी वायु चल्छ। यस हिसाबले अहिले हिउँदको समयमा पश्चिमी वायु जहिले चलिरहेको हुन्छ। खासमा भित्रिने भनेको चाहिँ यस वायुबाट विकास हुने पश्चिमी न्यून चापीय प्रणाली हो। अहिले भारतबाट नेपाल प्रवेश गरेको पनि न्यून चापीय प्रणाली नै हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्