काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेटको शल्यक्रियाको असरबाट पूर्णरूपमा ठीक हुन अझै केही समय लाग्ने चिकित्सकले जनाएका छन्। मंसिर १० मा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।
मंसिर ९ मा प्रधानमन्त्रीको पेटमा एक्कासि दुखाइ सुरु भएपछि ट्रान्सप्लान्ट सेन्टरमा परीक्षण गर्दा ‘एपेन्डिसाइटिस’ भएको देखिएको थियो। पेटमा एपेन्डिसाइटिसको उक्त संक्रमण सुरु भएको २/४ घण्टामै पेटभरि फैलिएको थियो। अंग प्रत्यारोपण गरेको व्यक्तिमा एपेन्डिक्सको लक्षण ढिलो आउँछ र कीटाणु अत्यन्त तीव्र गतिले फैलिन्छ।
उनको शरीरमा प्रतिरक्षा प्रणाली कमजोर भएकाले सामान्य व्यक्तिको दाँजोमा छिटो पेटमा संक्रमण फैलिएको उपचारमा संलग्न चिकित्सकले बताएका थिए। प्रधानमन्त्री ओली १० दिनको अस्पताल बसाइपछि मंसिर १९ मा घरमै आराम गर्ने सुझावसहित डिस्चार्ज भएका थिए। उनको उपचारमा संलग्न चिकित्सकका अनुसार शल्यक्रियाको असरबाट पूर्णरूपमा ठीक हुन अझै चारदेखि ६ सातासम्म लाग्न सक्छ।
‘बाहिरबाट हेर्दा घाउ निको भएको देखिए पनि त्यो ठाउँ बलियो हुन अझै चारदेखि ६ सातासम्म लाग्न सक्छ,’ उपचारमा संलग्न एक चिकित्सकले भने। प्रधानमन्त्रीको पेटमा शल्यक्रियापछि लगाइएका टाँका अघिल्लो साता नै हटाइसकिएको छ। ‘अब उनमा शल्यक्रियापछि देखिएका संक्रमण केही पनि छैन,’ एक चिकित्सकले भने।
शल्यक्रियापछि संक्रमणको असर पेट र रगतमा देखिएको जानकारी उपचारमा संलग्न चिकित्सकले दिएका थिए। हाल प्रधानमन्त्री सक्रिय रूपमै काममा फर्किए पनि केही बचाउका उपाय अपनाउनु राम्रो हुने विशेषज्ञहरूले औंल्याएका छन्। शल्यक्रियाको असरबाट सामान्य रूपमा मुक्त भए पनि प्रधानमन्त्री ओली मौसमी रुघाखोकीबाट जोगिनुपर्ने विशेषज्ञहरू बताउँछन्।
‘मौसमी रुघाखोकीबाट प्रधानमन्त्री जोगिनुपर्छ,’ एक चिकित्सकले भने, ‘रुघाखोकीले पेटमा बल पर्ने भएकाले नकारात्मक असर गर्न सक्छ।’ व्यायाम गर्न, धेरै बेरसम्म उभिन र सामान उचाल्न नहुने चिकित्सकको भनाइ छ। ६७ वर्षीय प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण भएको थियो। हाल डायलसिस गराइरहेका उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने तयारी भइरहेको छ।