काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको विकल्पमा अर्को टिम बनाउन प्रस्ताव अघि सारेका छन्। पार्टी संस्थापन पक्षले बहुमतका आधारमा महाधिवेशनको मिति तोकेपछि संस्थापन इतर समूह असन्तुष्ट छ।
नेता सिंहकाअनुसार देउवा इतरको समूह अब अहिलेको नेतृत्वले चल्दैन भन्ने साझा निश्कर्षमा पुगेका छन्। नेता सिंह भन्छन्, ‘अब नेतृत्वको विकल्प दिन सक्नुपर्छ। त्यसका लागि उत्कृष्ट टिम तयार गरौं।’ तर देउवाको विकल्पमा यो समूहको नेता को भन्ने प्रश्नको जवाफ छैन। देउवा इतर समूहको नेता को भन्ने प्रश्नमा सिंह भन्छन्, ‘लिडरको फर्मुला उचित समयमा आउँछ।’
उनीहरुले पार्टीको परम्परा र विधान विपरीतका निर्णय भएको भन्दै सच्याउन माग गरेका छन्। नभएसम्म केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी नहुने संस्थापन इतरका नेताहरु बताउँछन्। उनीहरु मध्ये एक पूर्वमहामन्त्री प्रकाशमान सिंह भन्छन्, ‘पार्टी सभापतिले म नै कांग्रेस हुँ भन्ने रवैया देखाउनु भएको छ। मैले भनेको मान्ने भए मान, नभए देखा जाएगा भन्नेजस्तो गर्नुभएको छ। देखा जाएगा भनेपछि देखाइदिन्छौं।’
अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘केन्द्रीय समिति बैठकमा जाँदैनौं, असहयोग गर्छौं र राजनीतिक तथा लोकतान्त्रिक अभ्यासबाट यो निर्णय सच्याउन बाध्य पार्छौं।’ १४ औं महाधिवेशनको कार्यतालिका बनाउनुपर्ने माग राखेर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बैठक बहिस्कार गरेको थियो। अहिले बहुमतकै आधारमा भए पनि २०७७ फागुन ७–१० मा महाधिवेशन गर्ने कार्यतालिका बनेको छ।
माग पूरा हुँदा पनि किन विरोध भन्ने प्रश्नमा पौडेल समूहका नेता सिंह भन्छन्, ‘महाधिवेशनको मिति जस्तो विषय अल्पमत वा बहुमतबाट होइन, सबैको सहमतिबाट गर्ने हाम्रो परम्परा थियो। त्यसलाई सभापतिले तोड्नु भएको छ।’