काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको भेटवार्ता सकिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार अध्यक्षद्वयबीच सभामुखको विषयमा सामान्य कुराकानी भए पनि निष्कर्षमा पुग्न सकेनन्।
‘दुई अध्यक्षबीच लामै समय कुराकानी भयो। छलफलका क्रममा पार्टी एकीकरणका बाँकी काम टुंगोमा पुर्याउने विषयमा छलफल भयो। त्यस्तै आन्तरिक तयारीका विषयमा छलफल भयो। सभामुखको विषयमा खासै छलफल भएन,’ एक सचिवालय सदस्यले भने।
उता प्रचण्डको सचिवालयले पनि सभामुखको विषयमा कुनै निष्कर्षमा नपुगेको बताएको छ। यही कारण ११ गतेका लागि तय गरिएको संसद बैठक सूचना टाँस गरी रद्द गरिएको थियो। अब संसद १६ गतेका लागि बोलाइएको छ। नेकपाले सभामुख पदमा दावी गर्दै आएको छ। तर सभामुख कसलाई बनाउने भन्ने विषय अझै अन्योलमा छ।
नेकपाका अधयक्षद्वयबीच आज भएको भेटबाट सभामुखको टुंगो लाग्ने अपेक्षा गरिएको थियो। उनीहरुबीच सभामुखको विषयमा सामान्य कुराकानी भए पनि निष्कर्षमा पुग्न सकेनन्। नेकपाका शिर्ष नेताहरुले सभामुखका लागि छुट्टाछुट्टै उम्मेद्वार अघि सारेका छन्। पूर्वसभामुख समेत रहेका सुवास नेम्वाङलाई र स्थायी कमिटी सदस्य अग्नि सापकोटाको नाम सभामुखका लागि चर्चामा छ।
त्यस्तै उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले पनि सभामुखमा दावी गर्दै आएकी छन्। पार्टी एकता नहुँदा सभामुख तत्कालीन माओवादी तथा उपसभामुख एमालेको भागमा परेको थियो। पूर्व माओवादीहरु आफ्नै पक्षले सभामुख बन्न पाउनुपर्ने माग राख्दै आएका छन्। उता, सभामुखका लागि पूर्वसभामुख नेम्वाङ नै उपयुक्त पात्र भएको पूर्वएमाले नेताहरु बताउछन्।
यौन शोषणको आरोपमा तत्कालिन सभामुख कृष्ण बहादुर महरा यतिबेला जेलमा छन्। उपसभामुख तुम्बाहाम्फे आफू सभामुख बन्नुपर्ने अडानमा छिन्। नेकपामा सभामुखबारे अन्यौलता कामयमै छ।