काठमाडौँ। नेपाली काँग्रेसले ओखलढुङ्गाका पूर्व जिल्ला सभापति प्रेमराज राईको दुःख व्यक्त गरेको छ। ७२ वर्षको उमेरमा सोमबार राती उनको काठमाडौँको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनी नेपालको प्रजातान्त्रिक/लोकतान्त्रिक आन्दोलनहरू तथा पार्टी सङ्गठनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको काँग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरे। उनले भने, ‘नेपाली काँग्रेस ओखलढुङ्गाका पूर्व सभापति प्रेमराज राईको निधनको खबरले मलाई स्तब्ध र मर्माहत बनाएको छ। नेपालमा प्रजातन्त्र स्थापनाका क्रममा स्वर्गीय राई पटक–पटक जेल जीवन र प्रवास समेत बस्नुभयो। स्वर्गीय राईले पार्टी सङ्गठनमा पुर्याउनु भएको महत्त्वपूर्ण भूमिकाको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, उहाँको आत्माको चीर शान्तिको कामनाका साथ सबै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु।’
उनी श्रीमती, दुई छोरा, दुई छोरी छन्। २००४ साल असार ११ गते जन्मेका राई सानै उमेरबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुँदै आएका थिए। पञ्चालयतकालमा पटक पटक गरी उनी साढे तीन वर्ष जेल परेका थिए।
यस्तै कास्कीकी महिला नेतृ प्रभाश्री गुरुङको निधनप्रति नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ। काँग्रेसले एक विज्ञप्ति मार्फत उनको निधनप्रति दुःख व्यक्त गरेको हो। गुरुङको निधनले पार्टीका अपूरणीय क्षति पुगेको काँग्रेसले जनाएको छ।
विज्ञप्तिमा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना गरिएको छ। केही समय अघिदेखि निमोनियाबाट पीडित गुरुङको काठमाण्डौंस्थित टोखा अस्पतालमा उपचारका क्रममा पौष १० गते निधन भएको थियो।
कांग्रेसकी क्षेत्रीय सदस्य समेत रहेकी गुरुङ २०७४ को स्थानीय निर्वाचनमा मादी गाउँपालिकामा उपाध्यक्ष पदकी उम्मेदवार समेत हुन्। गुरुङले नेपालको लोकतान्त्रिक आन्दोलनहरू तथा पार्टी सङ्गठनमा सक्रिय भूमिका निर्वाह गरेको काँग्रेसले विज्ञप्तिमा उल्लेख छ।