काठमाडौं, १५ पुस। दोलखाका तत्कालीन प्रमूख जिल्ला अधिकारी (सीडीओ) उपसचिव खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमूख जिल्ला अधिकारी उपसचिव खगेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको हो।
आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरुसँग घुस लिएको आरोप लागेका रिजाल अहिले निलम्बनमा छन्। रिजालमाथि लागेको सोही आरोपको थप अनुसन्धानका लागि भन्दै अख्तियारले मंगलबार उनलाई नियन्त्रणमा लिएको हो ।
अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले रिजाललाई नियन्त्रणमा लिइएको पुष्टि गरे। अभद्र व्यवहार सम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तसँग रिजालले ९० हजार घुस लिएको विषय सार्वजनिक भएको थियो। घुस लिएको विषय सार्वजनिक भएपछि गृह मन्त्रालयले गत बिहीबार नै उनलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानेको थियो ।