काठमाडौं, १५ पुस । भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले कालापानी क्षेत्रमा गएको नापी विभागको टोलीलाई भारतले रोकेको बताएकी छिन्। मन्त्री अर्यालले नापनक्सा गर्न गएको नापी विभागको टोलीलाई भारतले रोकेको बताएकी हुन्।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति बैठकमा मन्त्री अर्यालले यस्तो कुरा बताएकी हुन्। भारतले रोक लगाएसँगै नाप नक्साको काम स्थगित भएको छ। कुटनीतिक तहबाट कुरा गरी समाधान निस्केपछि काम अगाडि बढाउने उनले बताए।
मन्त्री अर्यालले अहिलेसम्मको कुनै पनि नेपाली नक्सामा लिम्पियाधुरा नसमेटिएको बताएकी छिन्। कालापानी र लिपुलेक नेपाली नक्सामा अहिले पनि रहेको र लिम्पियाधुरासहित नक्सा अहिलेसम्म प्रकाशनमा नआएको उनले बताइन्।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वनको जग्गा प्रयोग गर्न निश्चित विधि भएपनि सुरक्षा पोष्ट स्थापनाको क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा राखेको बताए। उनले कालापनी, कञ्चनपुर र कञ्चजङ्घा गरी तीन क्षेत्रमा सुरक्षा पोष्ट स्थापनाका लागि जग्गा उपलब्ध भएको बताए ।