पुस २६ गतेदेखि माघ १ गतेसम्म रुपन्देही मत्स्य कृषि तथा माघी महोत्सव

pic
लाेकपाटी न्यूज

अस्मिना पाण्डे\ बुटवल, १५ पुस। माछा खान कहाँ जाने भन्ने बित्तिकै रुपन्देहीको छपिया भन्ने गरेको तपाईले सुन्नु भएकै छ। हो , रुपन्देही माछाको राजधानीको रुपमा पहिचान बनाएको धेरै भएको छैन तर, यहाँ एक पटक माछा खाएर जानेहरुको सधैं मुख रसाउने गर्छ।

चिसो मौसममा माछाका परिकारसँगै प्रचार प्रसार गर्ने उदेश्यले रुपन्देहीको सियारी गाउँपालिकामा पहिलो पटक रुपन्देही मत्स्य कृषि तथा माघी महोत्सव आयोजना हुने भएको छ। नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर चारवटा गाउँपालिकाले मत्स्य महोत्सव गर्ने भए हो। रुपन्देही जिल्लाका सियारी गाउँपालिका, सुद्धोधन गाउँपालिका, गैँडहवा गाउँपालिका र मायादेवी गाउँपालिकाको संयुक्त आयोजनामा कृषिलाई विशेष लक्षित गरी महोत्सव हुने लागेको हो।

यहि पुष २६ गतेदेखि माघ १ गते सम्म ५ दिने रुपन्देही मत्स्य कृषि तथा माघी महोत्सव २०७६ आयोजना प्रदेशमै पहिलो कार्यक्रम सियारी गाउँपालिका वडा नम्बर ७ जनता माध्यमिक विद्यालयमा हुन् लागेको प्रदेश सभाका सदस्य तुल्सी प्रसाद चौधरीले बताए। नेपाल भ्रमण वर्ष २०२० र लुम्बिनी भ्रमण वर्ष २०७६ लाई लक्षित गरी कार्यक्रम आयोजना गर्न लागेको चौधरीको भनाइ छ।

सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले एक क्षेत्रको मात्रै नभएर रुपन्देही जिल्लामा प्रदेश स्तरकै पहिलो महोत्सव हुन थालेको बताए। उनले भने, ‘नेपाल भ्रमण वर्षलाई लक्षित गरेर गाउँपालिका स्तरबाट सुरुवात गरौँ भनेर हो।’ महोत्सवको पशुपन्छी तथा कृषि विकास मन्त्री घनश्याम भुषालले कार्यक्रम उद्घाटन गर्ने छन्। पाँच दिन सम्मको महोत्सवमा थारु संस्कृति, स्थानीय उत्पादन, माछाका विभिन्न परिकार, कृषिका उत्पादन र कृषिका औजारको समेत प्रद्धर्शन हुने छ।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुन चन्द्र चौधरीले धेरै कुरामा नेपाल आत्मनिर्भर हुन् नसकेको बताउँदै अब हामी माछामा आत्मनिर्भर छौं भन्ने सन्देश महोत्सवले दिने बताए। प्रदेश नम्बर ५ का वरिष्ठ कृषि अधिकृत मक्बुल अलिले मत्स्य कृषि तथा माघी महोत्सव २०७६ प्रदेशकै पहिलो प्रयास भएको बताए। संस्कृतिले कृषि उत्पादनमा कस्तो असर पारेको छ प्रद्धर्शन हुने नवितम प्रयास हुने अलिको बुझाई छ।

माछा सुपरजोन सञ्चालक समितिका संयोजक गणेश बहादुर शाहीले महोत्सवमा ३० देखि ४० हजार कृषक ल्याउने लक्ष्य भएको बताउँदै २५ वटा उपसमिति गठन गरिएको बताए। रुपन्देही जिल्लाको माछा सुपरजोन चार वटा गाउँपालिकामा कार्यान्वयन भएको बताए। सुपरजोन क्षेत्र भित्र प्रति हेक्टर ५ म्याट्रीक टन माछा उत्पादन हुने गरेको बताए।

नेपाल मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दिवाकर भुषालले कृषकका उपजदेखि लिएर कृषि औजारहरु प्रदर्शनमा राखिने बताए। रुपन्देही जिल्लाका ४ वटा गाउँपालिमा माछाको लागि सुपरजोन भएका कारण मत्स्य महोत्सवले नयाँ सन्देश दिने भुषालले बताए। कार्यक्रम संयोजक भुषालले २४ साना स्टल र १२ ठूला स्टल रहने बताए। साना स्टललाई सरसफाईका लागि ५ सय र ठूला स्टललाई अधिकतम सरसफाई शुल्क भनि दुई हजारसम्म लिइने बताए। महोत्सव सफल बनाउन २१ सदस्यीय सचिवालय र ८ सदस्यीय सल्लाहकार समिति गठन भएको भुषालले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्