किराँत दर्शन मुन्धुम : एक भौतिकवादी दर्शन

  • 1.1K
    Shares
0

दिनेश लिम्बु

नेपालको पूर्वी भू–क्षेत्रमा आदिमकालदेखि बसोबास गर्दै आएका राई, लिम्बू, गुरूङ, मगर, तामाङ, नेवार, मेचे, कोचे शेर्पा, जिरेल, थामीआदि लगायतका जातीय समुदायहरू (मङगोलोइड नश्ल) अन्तर्गतका प्रजातिमा पर्दछन्। विश्वका ऐतिहासिक मानव नश्लहरू–ककेसियन नश्ल, अष्ट्रो नश्ल, द्रविड नश्ल, निग्रेटो नश्लजस्तै (मङगोलोइड नश्ल) पनि विश्वकै ऐतिहासिक मानव नश्ल वर्गीकरण अनुसार पर्ने एक प्रसिद्व मानव नश्ल हुन्।

यी सम्पूर्ण प्रजातिहरूको साझा भूमि भएकाले नेपाल विश्वमै एक सुन्दर समावेशी देशमा पर्दछ। नेपालमा ठूला र प्रभावशाली मानिएका पौराणिक कथाहरू, मिथहरू, वेद, पुराण र विश्वकै महान कृतिहरू मध्येमा एक महाभारत मात्र छैन। यहाँ सयौं यस्ता दमित पौराणिक कथाहरू, मिथकहरू, उखान, टुक्का र श्रुति परम्पराहरू पनि छन्, जसको नजरअन्दाज गर्दा हाम्रा सामाजिक जीवन प्रणालीहरू असहज महसुस हुन्छन्। शोषित वर्ग तथा उत्पीडित जातीय समुदायहरूले आफ्नो जीवन दर्शन, भाषा, धर्म, संस्कृति र इतिहासका कुरा गर्दा साम्प्रदायिक भनिदिने नश्लवादी शासकीय अहंकारी चिन्तन हामी कहाँ अझै विधमान छ।

विश्वव्यापी रूपमा (Great narrative) का विरूद्व (Small narrative) आयो, अर्थात् केन्द्र अकेन्द्रवादमा फेरियो। अकेन्द्रवादले दर्शन साहित्यको क्षेत्रमा एकल हिरोको भूमिकालाई विस्थापित गरिदियो र आमपात्रको भूमिकालाई उतिकै स्थापित गरिदियो। यसले नेपाली राजनीति र समाजशास्त्रमा उल्लेखनीय सकारात्मक प्रभाव पार्‍यो। अब एक मात्र मर्यादा पुरूष राम, सम्पूर्ण संसारलाई लिलामा नचाउने कृष्ण, सृष्टि र पालनकर्ता ब्रह्मा, बिष्णु, महेश्वर मात्रै हुन् भनेर पत्याउने एकल जातीय हिरोइज्म वा केन्द्र अब रहेन। जनयुद्व–जनक्रान्तिले लिङ्गीय, जातीय भाषिक, धार्मिक, सांस्कृतिक, वर्गीय शोषण र उत्पीडनमा परेका आम मानिस वा समुदायहरूको राजनीतिक, सामाजिक तथा सांस्कृतिक मिथकहरू अब अकेन्द्रवाद वा समावेशी र समानुपातिक जीवन प्रणालीमा स्थापित गरिदियो।

(क) साम्जिक (सृष्टि) मुन्धुम दर्शन

मुन्धुम भन्नाले हामी ब्राह्माण्डदेखि पृथ्वी र मानव लगायतका सारा चराचर प्राणी जगतको सृष्टि वर्णनको भौतिकवादी दार्शनिक दृष्टिकोणलाई मुन्धुम ग्रन्थ भनेर बुझ्छौं। सृष्टिलाई पूर्णता दिने नश्वरचोला मानव जातिको उथान र पतन, मानव जातिले आफ्नो (Survival) का लागि उसले गरेका उत्तर जीवनका संघर्षहरू, हितकारी र अहितकारी देहधारी देवी देउताहरूको रचना तथा पूजाअनुष्ठान, धर्म र संस्कृतिका विधिविधानहरूको मौखित अभिलेख तथा परम्परागत अनुष्ठान भनेर पनि मुन्धुमलाई बुझ्न सकिन्छ। यसरी मौखिक रूपमा सुन्दै, सुनाउँदै र भन्दै आएका श्रुति परम्परा मुन्धुमलाई नै श्रुति ग्रन्थ भनिन्छ, लिम्बु जातिको विभिन्न परम्परागत पूजा र अनुष्ठानहरूमा सृष्टिका मिथक गाउने जातीय पुरोहितहरूलाई नछुम, येवारयेमा, फेदाङ्वा र साम्बा भनिन्छ, साह्रै बिरामी हुँदा र नराम्रो सपना देखेर मन भड्किएको बेला देवारीले हे देवी देउता १ दिन नजाने पनि लिन जान्नु, भन्न नजाने पनि सुन्न जान्नुु भन्दै माङगेना गरिदिने प्रचलन लिम्बु जातिमा छ।

मुन्धुम लेखित भएता पनि, वैदिक आर्यको यज्ञमा पुरोहितले शास्त्र पढेर अनुष्ठान गरे जसरी गरिँदैन। साम्बाले श्रुति परम्परा फलाकेको आधारमा अनुष्ठान गरिन्छ। मुन्धुम पढेर वा जानेर साम्बा भन्न सकिँदैन, बंशानुगत गुणका आधारमा साम्बा आफैँ उत्पत्ति हुन्छ। साम शब्द निकै प्राचीन हुनुपर्छ, साममा सहायक क्रिया लोमा जोडेपछि साम्लोमा गीत गाउनु हुन्छ। आर्यको सामवेद पनि काव्यात्मक संरचना भएकाले साम्लोमाबाट नै सामवेदको उत्पत्ति भएको हुनसक्छ। मुन्धुम गाउने मूख्य पूजारीलाई साम्बा भनिन्छ भने काव्य वाचन गर्नेलाई कवि भनिन्छ।

मुन्धुम दर्शनले ब्रह्माण्ड, पृथ्वी, प्रकृति, मानवलगायत चराचर प्राणी जगतको उत्पत्ति र विकासबारे अन्य ग्रन्थहरूले भन्दा अलिक भिन्न दृष्टिकोण प्रस्तुत गरेको छ। सृष्टि वा उत्पतिको प्रक्रिया सुरु हुनुपूर्व संसार महाशून्य भएको मिथक वेद, बाइबल, कुरान र जेन्द अवेस्ता आदि सबै धर्मग्रन्थहरूमा आउँछ। बुद्वले यसलाई परिपूर्ण शून्य भनेका छन् भने हकिङ्ले पनि शून्य विन्दुबाट विशाल विश्व भयो भनेका छन्।

मुन्धुम दर्शनले आख्यान गरेको शून्य भनेको रिक्त हुनु होइन। संसार अन्धकार थियो। तर, निराकार त थिएन, त्यहाँ केही न केही तत्व अवश्य थियो। जसरी आकार नदेखिएता पनि शून्य तत्वमा विन्दु हुन्छ नै, रित्तोमा होइन। यही शून्य तत्वको घर्षणबाट अतिप्रकाश (ताकेरा निवाङफुमाङ) को उत्पति भयो र यसैबाट सारा सृष्टि जगतको प्रक्रिया प्रारम्भ भयो। मुन्धुमका मिथकहरूमा ताकेरा निवाङफुमाङुले चन्द्र, सूर्य र ताराको रचना गरेपछि अन्धकारमय संसार उज्यालो संसारमा फेरिएको सृष्टि वर्णनमा आउँछ।

लिम्बु भाषामा तामा शब्द दिशाहीन जताबाट पनि आउने सर्वव्यापी क्रिया विशेषण हो भने केराको अर्थ चाहिँ पुग्यो हुन्छ। ताकेरा अर्थात् पहिल्यै आइपुग्यो। प्राणी जगत र मानव जाति आएपछि सृष्टि जगत आएको होइन। हामी आउनुपूर्व नै गति र पदार्थसहितको परम सत्ता पहिल्यै उपस्थित थियो। पदार्थको गति सर्वव्यापी हुने भएकाले जहिले पनि विद्यमान हुन्छ। प्राणी जगत त पदार्थको परिवर्तित रूप मात्र हो। हरेक भौतिक जीवनका लागि पदार्थ र उर्जा पूर्वनिर्धारित सत्य हुन्छ। अविछिन्न पुग्ने सर्वभ्यापी परम सत्ता नै मुन्धुमको ताकेरा हो।

मुन (पानीमा हल्लिने जीवात्मा) र थुम (कडा–बलियो।) मुन र थुम मिलेर मुन्धुम बनेको छ। यसको अर्थ जीवात्मा र कडा तत्व हड्डी मिलेर मानवको उत्पत्ति र विकास भएको हो। मुन्धुमले चराचर जीवप्राणीको उत्पत्तिको स्रोतको रूपमा प्रकाश सूर्य (ताकेरा) मानेको छ भने प्रागमानव पुर्खा (माङ) को विकासको स्रोतका रूपमा जीवात्मालाई मानेको छ। यसरी मुन्धुमले अजैविक गति वा प्रकाशमा बालोलोजी लपेटिएपछि नै जैविक चराचर जीव आत्माको उत्पत्ति भएको र जीव आत्माबाट क्रमिक रूपमा प्रागमंगोल मानव जातिको विकास भएको वैज्ञानिक दृष्टिकोण राख्दै आएको छ। यही अजैविक र जैविक तत्वबीचको द्वन्द्वात्मक सम्बन्धलाई मुन्धुमले ताकेरा निङ्वाफुमाङ भनेर वर्णन गरेको छ।

निङवाको अर्थ मन, आत्मा, चेतना र बुद्वि हुन्छ। फुको अर्थ भण्डार वा स्रोत हुन्छ भने थक्लिमाङको अर्थ देहधारी देवी र देउता हुन्छ। यसरी किराँत समुदायहरूले आफ्ना आदिम मातृ तथा पितृहरूको भौतिक मन, आत्मा र ज्ञानको स्रोत वा सर्वव्यापी चेतनाको चैतन्य स्वरूपलाई नै सामाङ (देवी र देउता) भनेका रहेछन्। ऋग्वेद भन्दा अगाडिको खसआर्यको जनपथले पनि देहधारी इष्टदेवी र प्रकृति वा अग्नि (आगो) लाई मूख्य देउता मानेको श्रुति परम्परा ऋगमा आउँछ। विश्वमित्र र वशिष्ठको ऋग्वेदपछि प्रवाहणको उपनिषद् कालमा (शब्दब्रह्मा) को रचना भएपछि ब्रह्मालाई निराकार ईश्वरको रूपमा व्याख्या गरिए जसरी नै एकथरी पुरोहितपन्थी किराँतीहरूले मुन्थुमका ताकेरा निङवाफुमाङुलाई गुण र रूपहीन माङु (ईश्वर) को रूपमा परिवर्तन गर्दैछन्। अलिअलि आध्यात्मिक चिन्तन रहेता पनि समग्रमा साम्जिक (सृष्टि) मुन्धुम भौतिकवादी दार्शनिक दृष्टिकोणको संश्लेषण रहेको छ।

(ख) जीवन प्रणालीबारे मुन्धुम

रिसिया (श्लोक) मा भनिएको छ, ‘ल है पहाड, ल है खोला, ल है जून, ल है घाम हामीलाई बाटो देखाइदेऊ। ल है भूमि हामीलाई अन्न उब्जाइदेऊ। ल है प्रकृति हाम्रो रक्षा गरिदेऊ।’ यसरी जंगली गुफा र ओडारहरूमा बसाइँ गर्दा आइपर्ने जंगली जनावरको आक्रमण, मेघ गर्जन, आँधीबेरी, बाढीपहिरो किन आउँछ भन्ने ज्ञान नहुँदा, कठोर प्रकृतिको शिकार भएर मर्नुपर्दा प्राकृतिक महाबिपत्तिबाट बच्न पुर्खाहरूले प्रकृतिलाई शक्तिको स्रोतको रूपमा र रक्षा कवजको रूपमा बुझ्नु तत्कालीन समयको उपज थियो। जीविकोपार्जनका लागि कन्दमुलमा निर्भर हुनुपर्दा भूमिसँग ल है अन्न उब्जाइदेऊ भन्नु स्वभाविक थियो।

जननायिका (युमा) को जनपथले आगो पार्न जानेपछि मंगोल कविलाहरू शिकारी युगबाट कर्षन (कृषि) युगमा प्रवेश गरेका हुन्। शिकार गरी ल्याएको चराचुरूङ्गीको गाँढबाट निस्किएका कागुनी, कोदोका दानहरू भुइँमा झरी उम्रेर फलेको अन्नहरू चाख्दै जाँदा विस्तारै कागुनी खेतीपछि जीवन सहज बन्दै गयो। अन्न उब्जाउ हुन थालेपछि पनि बाढी पहिरो, खडेरीले सताउँदा र सिँचाइको ज्ञान नहुँदा आदिम पुर्खालाई प्रकृतिको शरणमा जानुभन्दा अरू उपाय थिएन। यसका लागि प्रकृतिप्रति कृतज्ञता प्रकट गर्न थाले। यो विस्तारै प्रकृतिप्रति आशा र भरोसाको संस्कृति बन्यो र पछि यही संस्कृति चासोक वा उधौली र उभौली चाडको रूपमा विकास भयो।

आजभन्दा दस हजार वर्ष पहिला ह्ववाङहो भूमिमा कागुनी अन्नको उत्पत्ति किराँती समुदायले गरेका थिए। यो अन्न संसारमै प्रथम उत्पत्ति मानिएको छ। कागुनीलाई चिनियाँ भाषामा फ्रें भनिन्छ, लिम्बुले पया भन्छन्, चाम्लिङ राईले फेरों भन्छन्, वान्तावाले फेसाकु र गुरूङले कावन भन्ने गर्छन्। यस कागुनीलाई किराँतीहरूले आफ्ना मातृ, पितृ र प्रकृतिलाई चडाउने पहिलो पवित्र अन्नको रूपमा लिएका छन्। यस कारण मंगोल प्रजातिका समुदायहरू प्रकृति पुजक बोनमार्गी हुन्।

सन् १८३१ को (किपट प्रथा) भन्दा अघिको किराँती सामाजिक व्यवस्था वर्गविहीन भएकाले एकले अर्कोलाई थिचोमिचो गर्ने अन्यायपूर्ण समाज थिएन। सामूहिक प्रणालीको न्यायपूर्ण साम्यवादी समाज थियो। सुम्निमाकी माता चिनिमा (युमा) को जन्म रिभ्याँमा र रिकपा चेली–माइतीको सहवासबाट पारूहाङको जन्म भएको कुरा आउँछ। समाज विकासको क्रममा रक्तसम्बन्धमा आधारित परिवारमा एकै बाबुआमाका सन्तान तथा काका, बडा, फुपुका छोराछोरीहरूको एकअर्का बीचमा बिवाह र यौन सम्बन्ध हुन्थ्यो। (एंगेल्स, १९८६ः ४४–४५) अहिले यो परिवार वंशमा कतै नभए पनि नेपालमा गुरूङ, मगर र तमाङ समुदायमा मामाचेला र फूपूचेलीबीच बिवाह हुने प्रचलन अझै छ। यो हाडनाता बिवाह प्रणालीकै बाँकी अवशेष हो। किराँत समुदायहरूमा पूर्खाहरूले गरेका अनैतिक कुकर्मबाट मोक्ष वा पाठ सिक्न गरिने गालीश्रप अनुष्ठान अझै प्रचलित नै छ।

(ग) मुन्दुम दर्शन कति प्राचीन हो ?

कागुनी खेती र भाषालाई आधार मान्ने हो भने मुन्धुमको उत्पत्ति एक हजार वर्ष हुन आउँछ। चीनमा इ.पू. सात हजारदेखि तीन हजारको आसपासमा अजिङ्गर पूजा र चुलापूजा गर्ने नछुम (धामी) भएको तथ्यले मंगोल संस्कृति हजारौं वर्ष प्राचीन हो भन्न सकिन्छ। यदि भाषा बिनाको संस्कृति हुँदैन भने मुन्धुम दर्शनको विकास पनि सात हजारदेखि तीन हजार वर्ष भएको प्रमाणित हुन्छ।

भाषा वैज्ञानिकहरूको अनुसार ६ हजार वर्षअघि चिनियाँ भाषाबाट भोटबर्मेली छुट्टिएको थियो। मंगोल किरातहरूले बोल्ने भोट–बर्मेलीहरूको बंशाणु जडको उमेर छ। दुई सयदेखि ५ हजार ९ सय वर्ष पुरानो हो भनेका छन्। जर्ज भान ड्रिमले ह्वाङहो नदीबाट हिडेका मंगोलियन पुर्खाहरू इ.पू. २,५०० देखि १,७०० वा ४,५०० देखि ३००० हजार वर्षअघि सिन्धुघाँटी आइपुगेको बताउँछन्।

त्यहाँबाट इ.पू. २००० मा नेपालको पूर्वी पहाडमा आएर बसेका हुन् (VAN DRIEM 2005:95)। तर केही विद्वानहरूका अनुसार मंगोलहरू सिधै ह्ववाङहोबाट हिमालय छिचोलेर ५,६०० देखि ६००० हजार वर्षअघि पूर्वी पहाडमा आएर बसेको बताउँछन्। यो तथ्य पनि मुन्धुमसँग मेल खाएको देखिन्छ। सिन्धु सभ्यताबाट आएकी कन्या सुन्दरी कङगतीबाट जन्मिएका ब्याधाले पाण्डप पुत्र अर्जुनलाई बँदेल युद्वमा जितेको वर्णन महाभातमा आउँछ। यसलाई आधार मान्ने हो भने पनि मुन्धुमको उत्पत्ति इ.पू. ३५०० वर्ष भन्न सकिन्छ भने महाभारत युद्व इ.पू. ७९० मा भएकोलाई आधार मान्ने हो भने पनि मुन्धुम महाभारतकालीन हुन आउँछ।

गौतम बुद्वका गणराज्यलाई मुन्धुममा साप्ते भनिएको छ। यसले पनि बुद्व दर्शनभन्दा अगाडि मुन्धुम दर्शनको विकास भएको पुष्टि हुन्छ। भारत वर्षमा इ.पू. एक शताब्दीबाट सुन (साम्याङ) प्रयोगमा आएको र यो हिमालयमा छ भनिएको छ। त्यस्तै इ.पू. २,००० देखि १,३०० वर्षबाट तामा र फलाम (फिन्जे) प्रयोगमा आएको थियो। यसको आधारमा पनि मुन्धुम इ.पू. के हो भन्न सकिन्छ। सावायेत्हाङसाहा (सन्तानहरू) सुन, जाँदी तामा र फलामका ज्ञाता भएको मुन्धुमा वर्णन आउँछ। त्यस्तै साम्पोरीमा मेम्पोरीमा चेलीलाई साम्याङ (सुन) र युक्पा (चाँदी) का गहना दिएको वर्णन गरिएको छ।

त्यसैगरी साम्सोघामा तति (बञ्चरो) र वाफे (खुर्पा) ले प्रेतात्मा अर्थात् सोघा बस्ने टुनीको रूखलाई डालेको वर्णन आउँछ। यहाँ एउटा रोचक वर्णन के छ भने अहिले हामी जुन हिमालय खण्डमा छौं, यो लाखौं वर्ष पहिले टेथिस सागर थियो, हामी पानीमुनि थियौं भने यसको अपोजिट एटलान्टिस जमिनमाथि थियो। लाखौं वर्षको (Evolution) मा टेथिस सागर हिमाल पहाड र तराई बन्यो भने एटलान्टिक्स जमिन, एटलान्टिक्स सागर बन्यो। यसको (Civilization) वैज्ञानिकहरूले भेटाएका छन्।

यस एभोलुशनमा भएका जलप्रलयहरूमा असंख्य जीव र मानव समूहहरू डुबेर अस्तित्व विलाएको र लेम्मुहाङले नौका (ढुंगा) बाट केही जीव प्राणी र आफ्नो वंशलाई बचाएको वर्णन आउँछ। यसरी हेर्दा मुन्धुम ग्रन्थ प्राचीन मानव सभ्यताको एउटा केन्द्र र विश्व भौतिकवादी दृष्टिकोणको विकासका लागि स्रोत ग्रन्थको रूपमा देख्न सकिन्छ। नेपाली विशेषताको माक्र्सवादी दर्शन निर्माण तथा ऐतिहासिक जनयुद्व–जनक्रान्तिमा मुन्धुमको ऐतिहासिक योगदान रह्यो। यही भौतिकवादी दृष्टिकोणका आधारमा पूर्वविद्रोही नेकपा (माओवादी) मा (किराँत वर्कश पार्टी) समाहित भएको थियो। वर्कश पार्टीले मार्ग निर्देशक सिद्वान्तको रूपमा मुन्धुम अवलम्बन गरेको थियो।

मुन्धुमा वर्णन भएका स्थान :- मनातेम्भे, मनासावर, वरक, खाम्पुरादेन, मिकफुरादेन, थोसोलुङ, योसुलुङ, सिन्युक्यान, मुदेन आदि ठाउँको नाम आउँछन्। सिन्युक चीन र मुदेन भोट (तिब्बत) भन्ने बुझाई छ। यसैगरी आप्ताङवा, तिताङवा, युक्पावा (दुधकोशी), साम्याङवा (सुनकोशी), ताम्मावा (तामाकोशी), फिन्जेवा (कालीगण्डकी) जस्ता नदीहरूको सृष्टि वर्णन आउँछ। मुन्धुमले वर्णन गरेका मानव समूहहरूः सिन्युक्काङ साहा (चिनियाँ सन्तान), मुदेनाङ साहा (भोटिया सन्तान), तमेन्नाङ साहा (औल मैदानका सन्तान), वलक्काङ साहा (सागर पार गरी आउनेको सन्तान), खाम्जिरी साहा (यहीँ माटोमा जन्मिएका सन्तान), खाम्बोस्ङवा साहा (यहीँ भूमिमा जन्मिएका सन्तान)।

(घ) निष्कर्ष :

  • मुन्धुम भौतिकवादी दर्शनको संश्लेषण हो।
  • यो किराँत समुदायको मार्गनिर्देशन गर्ने सामाजिक तथा संस्कृतिक संविधान हो।
  • मुन्धुममा किराँत, याक्थुङ र लिम्बू शब्दहरू उल्लेख नभएकाले साम्जिक (सृष्टि) मुन्धुम (मगोलोइड नश्ल) अन्तर्गतका सम्पूर्ण जनजागिहरूको मुल दर्शन ग्रन्थ हुन् सक्छ।
  • यो किँरातीहरूको आदिम तथा ऐतिहासिक बसाइसराईको मौखित अभिलेख हो।
  • यो कर्षन (कृषि) साहित्य–कला र संगीत, आयुर्वेद उपचार विधि, वनस्पति, खाद्यान्न, पशुपंछीलगायत विविध ज्ञानहरूको समुच्चय हो।
  • साम्जिक (सृष्टि) मुन्धुममा वर्णन भएका ठाउँहरू र मानव समूह एकाधबाहेक अरू कहाँ–कहाँ र को–को हो भन्न सक्ने अवस्था छैन। पुरातात्विक उत्खनन् वंश विज्ञान, भाषाशास्त्रीय अध्ययन, मानवशास्त्र, दर्शनशास्त्र, इतिहास, वनस्पतिविज्ञान र जीवविज्ञान (Research) खोजविन र अनुसन्धान नगरी मन्धुमलाई समग्रमा बुझ्न सकिँदैन।
Comments
Loading...
You might also like