‘२०७२ को संविधानलाई नेपालले चिन्दैन’

  • 11
    Shares
0

काठमाडौं, २९ कार्तिक। नेपाललाई असफल राष्ट्र हुनबाट जोगाउनको लागि स्वतन्त्र नागरिक समाजले आगामी मंसिर १ गतेदेखि ७२ घण्टे सत्याग्रह गर्ने भएको छ। उक्त सत्याग्रहमा समाजका संयोजक हेमविक्रम सिलवाल बस्ने भएका हुन्। सत्याग्रह विहान ८ बजे काठमाडौंको शान्तिवाटिकामा सुरु हुनेछ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समाजले खबरदारीको कारण सरकार सुध्रिने कुनै लक्षण नदेखिएको र जनताको आवाजलाई बेवास्ता गरिएको आरोप लगाएको छ। समाजद्वारा जारी विज्ञप्तीमा ‘देशलाई यस भयानक आर्थिक–राजनीतिक संकटको दलदल र असफल राष्ट्र हुनबाट समयमै जोगाउन हामी यही २०७६ साल मंसिर १ गतेदेखि ७२ घण्टे सत्याग्रह गर्न बाध्य हुनुको विकल्प नरहेको कुरा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई जानकारी दिन्छाैं भनिएकाे छ।

समाजले आफ्नो स्थापनाकालदेखि नै जनताको मौलिक हकहितका कुरा, भ्रष्टाचार विरोधी, प्रेस तथा वाक स्वतन्त्रता, गरिबी निवारण, देशमा राजनीतिक स्थिरता र राष्ट्रिय एकताको लागि राजसंस्था र नेपाललाई हिन्दू अधिराज्य स्थापना गर्ने सम्बन्धमा आवाज उठाई आएको जनाएको छ। नेपाली जनताले लगभग ७० वर्ष प्रजातान्त्रिक आन्दोनलमा समय व्यतित गरेको उल्लेख गर्दै समाजले यो अवधिमा जनताले केही पनि उपलब्धि हााँसिल गर्न नसकेको दाबी गरेको छ। नागरिकको तर्फबाट हेर्दा जनताले भएको पनि गुमाएको समाजको ठहर छ।

समाजका संयोजक हेमविक्रम सिलवालले फाष्टट्रयाकको नाममा २०७२ सालको संविधान जारी गरिएकाले उक्त संविधानलाई मुलुकले नचिनेको आरोप लगाए। त्यतिमात्रै होईन, उनले उक्त संविधानले नेपाली जनताको हकअधिकार पनि सुरक्षित नगरेको दाबी गरे। उनले वर्तमान दुई तिहाई बहुमत प्राप्त सरकार स्वेच्छाचारी हुँदै गएको आरोप लगाए।

बरिष्ठ पत्रकार प्रेम कैदीले मुलुकको अर्थतन्त्र अहिले डामाडोल भएको सुनाउँदै भारतसँगमात्रै १६/१७ खर्ब व्यापार घाटा रहेको सुनाए। विगतमा कांग्रेस सरकारमा हुँदा चार सयभन्दा बढि कलकारखाना सखाप पारेको पनि उनको आरोप छ। उनले भारतसँगको नेपालको सीमाबारे १८५० सालमै तत्कालिन् लेफ्टिनेन्ट लालसिंह खत्रीले बेलायतको प्रसिद्ध टाइम्स पत्रिकाका सम्पादकलाई चिठ्ठी लेखेको स्मरण गराए।

भारतीय पत्रिका टाईम्स अफ इण्डियाका पत्रकार सुजीत ताम्बडेले नेपाल–भारत द्विपक्षीय सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिएका छन्। मित्र राष्ट्रबीचको सम्बन्धमा कुनै पनि किसिमको कटुता हुन नहुने उनको भनाई छ। उनले भने, ‘नेपाल र भारतबीच रहँदै आएको भाईचारा सम्बन्ध आगामी दिनमा पनि कायम रहोस्। हामीबीचको मित्रता सधैं सुमधुर रहोस्।’

बौद्धिक मञ्चका अध्यक्ष डा. केबी रोकायले नेपाललाई हिन्दू अधिराज्य बनाउनुपर्ने माग गरे। उनले भने, ‘आज नेपाललाई हिन्दूराष्ट्र चाहिएको छ। धर्म र नैतिकता हराएको छ। हाम्रो समाज अहिले अनैतिक र भ्रष्ट, ध्वस्त भएको छ।’

Comments
Loading...
You might also like