प्रदेश ५ को नाम लुम्बिनी, राजधानीको सिफारिस कहाँ ?

  • 56
    Shares
0

बुटवल। प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव गरिएको छ। प्रदेशको स्थायी राजधानी र नाम सिफारिस गर्न गठित विशेष समितिले प्रदेश ५ को नाम लुम्बिनी राख्ने विषयमा एकमतले सिफारिस गरेको हो। स्थायी राजधानीका लागि भने रुपन्देहीको सैनामैना (बुटवल पश्चिम) कपिलवस्तुको बुद्धभूमि वा दाङको भालुबाङ-लमही क्षेत्रलाई सिफारिस गरिएको बताइएको छ।

समितिका सादस्यहरुले स्थायी राजधानीको विषयमा फरक-फरक नाम बताउने गरेकोले एकिन भइसकेको छैन। ‘बुटवलबाट पश्चिम रुपन्देहीको सैनामैना, कपिलवस्तुको बुद्धभूमि र दाङलाई राजधानी सिफारिस गरिएको छ,’ विशेष समितिका एक सदस्यले भने। अर्का एक सदस्यले भने स्थायी राजधानीका लागि बुटवल र दाङ (भालुबाङ-लमही) सिफारिस भएको दावी गरेका छन्। हाल प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवल तोकिएको छ।

विशेष समितिका संयोजक दीपेन्द्रकुमार पुन ‘सिजल’ले बाह्रै जिल्लाबाट आएका सुझाव र विज्ञ समितिको सुझावका आधारमा राजधानी हुन सक्ने स्थानहरु सिफारिस गरी प्रतिवेदन तयार पारिएको बताउछन्। विशेष समितिले बनाएको प्रतिवेदन पुसको दोस्रो साता शुरु हुने प्रदेश सभाको बैठकमा प्रस्तुत हुने र संवैधानिक व्यवस्थाअनुसार टुंगो लाग्ने पुनले बताए।

राजधानी र नामाकरण संसदको दुई तिहाइ बहुमतले निर्णय गर्ने संवैधानिक व्यवस्था छ। प्रदेशसभामा सत्तारुढ नेकपाको दुई तिहाई बहुमत भए पनि राजधानीका विषयमा पार्टीभित्र एकमत छैन। नेकपाभित्रै रुपन्देही र दाङका विषयमा मत विभाजन छ। प्रदेशसभामा सत्तारुढ नेकपाका ६१, कांग्रेसका १९, समाजवादीका ५, राजमो र राजपाका एक-एक सांसद छन्।

एक विशेष समितिका सदस्यका अनुसार सिफारिस गरिएका कुनै पनि स्थानका पक्षमा दुई तिहाइ मत पुग्ने अवस्था छैन्।

Comments
Loading...
You might also like