रारातालको जिल्ला : मुगुको संक्षिप्त परिचय

  • 25.6K
    Shares
0

कर्णाली प्रदेशको उत्तरी भेगमा अवस्थित अति विकट एवं दुर्गम जिल्लाका रुपमा मुगु जिल्ला चिनिन्छ। ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक तथा पौराणिक किम्वदन्तीहरुले धनी जिल्ला मानिने यस जिल्लाको सदरमुकाम गमगढीमा रहेको छ। प्रायः मुगाली भनेर चिनिने यस क्षेत्रका बासिन्दाहरु रारा तालको मालिक भन्न रुचाउँछन्।

जिल्लाकाे परिचय

मुगु कर्णाली, हुम्ला कर्णाली जस्ता नदीहरु त्यसैका छेउछाउमा बस्ने डाँफे, कालिज चराहरुको सुमधुर धुन र कस्तुरीहरुको नाँचले मुगु जिल्लाको विशेष परिचय दिन्छ। पशुपालन, साना व्यवसाय र जडीबुटी यस जिल्लाको प्रमूख पेशा र आयस्रोत मानिन्छ। प्रशस्तै जडीबुटीको खानी रहेको यस जिल्ला स्वास्थ्य, शिक्षा, यातायात र पूर्वाधार विकासका दृष्टिले पिछडिएको जिल्ला मानिन्छ।

वर्षायाम सुरु नहुँदै यार्सागुम्बा खोज्न मुगुका बासिन्दा लेकतिर उक्लिने गर्दछन्। यो उनीहरुको आम्दानीको महत्वपूर्ण स्रोत हो। मुगुमा १५ जेठदेखि यार्सा संकलन गर्न सुरु गरिन्छ। त्यसअघि नै स्थानीय बासिन्दा लेक पुग्ने गर्दछन्। प्रायः समूहमै लेकतिर लाग्ने गर्छन्। यार्सागुम्बा टिप्न महिनौं हिमाली भेगमा बस्दा उनीहरु ओडारमा पनि बस्ने गर्दछन्।

mugu_District
मुगु जिल्लाको नक्शा

मुगु जिल्ला सुनको सिरानी हालेर नूनका लागि भौतारिएका बासिन्दाहरुको बसोबास भएको जिल्ला हो। खस–आर्य जातिको बाहूल्यता रहेको यस जिल्लामा नून, चामल लगायतका आधारभूत खाद्यवस्तु आपूर्तिका लागि पनि हम्मेहम्मे हुने गरेको छ। यातायातको प्रवन्ध नहुँदा चर्को ढुवानीको मार स्थानीय उपभोक्तामा पर्ने गरेको छ। अथाह साधन स्रोत हुँदाहुँदै पनि राज्यले उपेक्षा गर्दा मुगुले सधैं सास्ती खेप्नुपरेको छ।

मुगु जिल्लामा भौगोलिक बिविधतासँगै धार्मिक, सांस्कृतिक तथा भेषभुषामा पनि विविधता भएको जिल्ला हो। यहाँको सांस्कृतिक विविधता निकै अचम्मलाग्दो छ। त्यसैगरी असुरोदेखि यार्सागुम्वा र सिसौंदेखि देवदारजस्ता काठ पाइने हुनाले यहाँको प्राकृतिक सम्पदामा पनि निकै विविधता पाइन्छ। त्यसै गरी तराईको गर्मी हावापानीमा फल्ने आँप, केरा, उखु पहाडमा पाइने सुन्तला र हिमालमा पाइने स्याउ, नास्पति जस्ता फलफूलहरु पाइनुका अतिरिक्त बाबियो, घाँसदेखि बुकी फूलसम्म पाइने यस जिल्लाको भौगोलिक विविधता पनि अनौठो नै छ।

भौगोलिक अवस्थिति

यस जिल्लाको सदरमुकाम गमगढी बजार प्रसिद्ध रारातालको उत्तरपूर्वमा तथा प्रसिद्ध मुगु कर्णाली नदीको किनारमा रहेको छ। यो श्रीनगरमा अवस्थित छ। गमगढी बजारको उचाई समुद्री सतहदेखि २,२६६ मिटर छ। मुगु जिल्ला भौगोलिक रुपमा विषम र विविधतायुक्त पर्यटन, जडीबुटी र तामाखानी, फलामखानी समेत भएको विकट र दुर्गम हिमाली जिल्ला हो। ३५३५ वर्ग किमि क्षेत्रफल भएको यस जिल्लाको पूर्वमा डोल्पा, पश्चिममा बाजुरा, दक्षिणमा जुम्ला र कालिकोट र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्वत रहेको छ, जुन नेपालको कूल क्षेत्रफलको २.११ प्रतिशत हो।

समुन्द्री सतहबाट २९९० मिटरको उचाइमा रहेको रारा ताल मुगु जिल्लामा आउने पर्यटनको मुख्य गन्तव्य हो। मुगु जिल्ला मानव विकास सूचकाङ्कका दृष्टिले निकै पछाडि रहे पनि पर्यावरणीय पर्यटनका दृष्टिले अनुपम नै मानिन्छ। राराताल नेपालका पर्यटकीय गन्तव्यमध्ये सबैभन्दा आकर्षक र उत्कृष्ट मानिन्छ। हाल नीजि क्षेत्रले रारा क्षेत्रको दृश्यावलोकनका लागि हेलिकोप्टर लगायतका सवारी साधनका माध्यम प्रयोग गरी पर्यटकलाई गन्तव्यसम्म पुर्‍याउन थालेका छन्।

मुगु जिल्लामा जम्मा ४ स्थानीय तह रहेका छन्। तीन हुन्, (१) छायाँनाथ रारा नगरपालिका, (२) खत्याड गाउँपालिका, (३) मुगुम कार्मारोङ्ग गाउँपालिका र (४) सोरू गाउँपालिका। भौगोलिक रुपमा ठूलो रहे पनि मुगुको जनसंख्या कम नै रहेको छ। यो जिल्ला कम जनघनत्वको जिल्लाभित्र पर्दछ। जिल्लामा सङ्घीय संसदको १ क्षेत्र र प्रादेशिक संसदका २ क्षेत्र रहेका छन्।

कसरी रह्यो मुगु नाम ?

पौराणिक किम्बदन्ती अनुसार विभिन्न भनाइहरू रहेता पनि यस जिल्लाको उत्तरी भेगको इलाका नम्बर–३ मा पर्ने मुगु गाउँको नामबाट यस जिल्लाका नाम मुगु रहन गएको हो। इतिहासविदहरुका विभिन्न अभिलेखहरुले पनि त्यो कुरा पुष्टि गर्दछन्।

उत्कृष्ट गन्तव्य रारा ताल

राराताल नेपालको सबैभन्दा ठूलो ताल हो। यस तालको अवलोकन गर्न वर्षेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन्। यसका साथै छायाँनाथ मन्दिर, रारा राष्ट्रिय निकुञ्ज, चङ्खेली हिमाल आदी पर्यटकीय स्थलहरू यस जिल्लामा रहेका छन्। तर, भौगोलिक विकटताका कारण यी पर्यटकीय गन्तव्यहरुमा पूर्वाधार विकास हुन सकेको छैन।

यो ताल समुद्र सतहदेखि २,९९० मिटर उचाईंमा अवस्थित छ। जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चमतर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ। १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारातालको अधिकतम लम्वाई ५ किलोमिटर, अधिकतम चौडाई ३.२ किलोमिटर र गहिराई १६७ मिटर छ। प्रकृतिको उपहारको रूपमा सिर्जित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवाजस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा दिएका छन्। यसको वरिपरि रारा राष्ट्रिय निकुञ्ज रहेको छ।

rara-lake mugu
नेपालको सबैभन्दा ठूलो राराताल

दिनभरिमा आफ्नो रुप फेरिरहने राराताल जेष्ठदेखि आश्विन महिनासम्म विभिन्न फूलहरूले सजिएर स्वर्गकी अप्सराजस्तै देखिन्छ। रारातालको अर्को एक थप विशेषता यस तालमा विश्वमा अन्यत्र कहीँ पनि नपाइने असला (हिमाली) माछा पाइन्छ। रारातालबाट करीब ३ घण्टाको पैदल यात्रापश्चात् यसको पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिन्छ, जहाँबाट रारातालको मनमोहक दृष्यका साथै सैपाल हिमालको श्रृङ्खलाको मनोरम अवलोकन गर्न सकिन्छ। यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देखिन्छ।

राजा महेन्द्र शाहले २०२० सालमा यस क्षेत्रको भ्रमण गरेपछि पहिलेका दिनहरूमा रारा दह भनेर चिनिंदै आएको यस तालको नाम महेन्द्र ताल राखेका थिए। ग्रीष्म ऋतुमा राराताल निकै सुन्दर छ। तर, जाडो हुन्छ। सबैभन्दा उत्तम भ्रमण गर्ने समय सेप्टेम्बर र अक्टोबर र अप्रिलदेखि मइसम्म हुन्छ। डिसेम्बरदेखि मार्चसम्म तापमान जिरो डिग्रीभन्दा तल झर्छ। हिउँदमा यहाँ १ मिटरसम्म बाक्लो हिउँ पर्दछ। राराको सामान्य तापक्रम ७ देखि ८ डिग्रीसम्म रहने गर्दछ।

बहुमूल्य जडीबुटी यार्सागुम्बा

यार्सागुम्बा शब्द तिब्बती भाषाबाट अपभ्रंश भएर आएको शब्द हो। तिब्बती भाषामा यसलाई ‘यारचा कुम्भू’ भनिन्छ। जसमा ‘यार’को अर्थ वर्षा, ‘सा’को अर्थ घाँस र ‘कुन्भ’को अर्थ हिउँदे किरा अर्थात् वर्षामा घाँस र हिउँदमा किरा भन्ने बुझिन्छ। यो अमूल्य जडीबुटी हिमाली भेकका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको पाइन्छ। शेर्पा भाषामा यसलाई ‘यार्चा गुम्बु’ भनिन्छ। जसको अर्थ ‘यार्चा’ वनस्पति र ‘गुम्बु’ किरा हो। मुगु जिल्ला यार्सागुम्बाका लागि प्रख्यात जिल्ला हो।

वनस्पति र किरासँगै भएको वस्तु नै यार्सागुम्बा हो। नेपालका कतिपय स्थानहरूमा भने यसलाई जीवनबुटी र किडाजडी भनिन्छ। यसलाई यौनशक्तिबर्धक र सर्वगुण सम्पन्न टनिकको रूपमा लिइएको छ। पुरुष नपुंसकता र अजीर्ण अपचमा स्थानीय कुखराको मासुमा र मृगौलाको रोगमा सुँगुरको मासुमा यसलाई पकाएर खाइन्छ। खोकी, दम, क्षयरोग, अनिद्रामा यसलाई चिनियाँ औषधि विधिअनुसार सेवन गरिन्छ।

Yarsagumba
मुगु जिल्लामा पाइने यार्सागुम्बा

वीर्यमा शुक्राणुको संख्या बढाउन र शुक्राणुलाई स्वस्थ्य राख्न अण्ड र डिम्बाशयको खराबी कमलपित्त जण्डिसमा यो उपयोगी देखिएको छ। स्नायु सम्बन्धी रोग अनिद्रा मांशपेसीको दुखाई श्वासप्रश्वास सम्बन्धी रोगमा कोलेष्ट्रोल घटाउन रोग प्रतिरोधक क्षमता बढाउन यो उपयोगी छ। मुगु लगायतका हिमाली जिल्लामा पाइने यार्सागुम्वा प्रकृतिको अनुपम उपहार हो। नेपालमा यार्सागुम्बा प्रतिकेवी २८ देखि ३० लाखसम्ममा बिक्री हुने गरेको छ।

रारा राष्ट्रिय निकुञ्ज

रारा राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको मुगु जिल्लामा अवस्थित छ, यसले रारा ताल तथा यस वरिपरिको क्षेत्र ओगटेको छ। यसको क्षेत्रफल १०६ वर्ग किलोमिटर रहेको छ। रारा राष्ट्रिय निकुञ्ज १८०० मिटरदेखि ४०४८ मिटरसम्मको उचाइमा रहेको छ। यहाँ कस्तुरी मृग, थार, भालु, बँदेल आदि पाइन्छन्। रारा तालमा पाइने केही थरीका मछाहरू संसारको अन्य कतै पाइँदैन। यस निकुञ्जमा पंक्षीहरू कालिज तथा डाँफे आदि पाइन्छन्।

सन्दर्भ स्रोत : विकिपीडिया र मुगुका सरकारी कार्यालयहरु।

Comments
Loading...
You might also like