रवि लामिछाने र ज्ञानेन्द्र शाहीलाई सोध्नुपर्ने १२ प्रश्न

0

– वसन्त तमु, लण्डन

भ्रष्टाचार, बेथिति न्यूनिकरण गर्ने नै हो। तर, भ्रष्टाचार बेथितिविरुद्ध भन्दै गर्जिने ज्ञानेन्द्र शाही, सुरेन्द्र भण्डारी सुरेन्द्र केसी, रबि लामिछानेलाई मिडियाले यी प्रश्नहरु सोध्दा राम्रो हुन्छ।

(१) सडक चोकमा उभिएर नेतालाई गाली गलौज र दोष दिएर मात्रै भ्रष्टाचार न्यूनिकरण सम्भव छ, के तपाईहरुले त्यसको भरपर्दो बिकल्प दिनु पर्दैन ?

(२) केही नेता खराब हुँदैमा व्यवस्था नै खराब भन्न मिल्छ ? गणतन्त्रले जति विकास र समृद्धि दिएको छ, के त्यो राजाको पालामा थियो ?

(३) केही व्यक्तिहरुको खराव नियतको कारण देखाई स्वार्थका खातिर गणतन्त्र असफल बनाउन जनतामा अतिरञ्जित हल्ला फैलाएर जनतालाई बरालिने बनाउँदा देश अस्थिरता र द्वन्द्वमा फस्दैन, के देश द्वन्दमा जानु तपाईहरुका लागि लाभदायी हुन्छ ?

(४) नेता जति सबै खराब भन्दै जनता विभिन्न कित्तामा बिभाजन भएर एकले अर्को पक्षका नेतामाथि दुव्र्यवहार आक्रमण गर्दै हुनुहुन्छ। जाति, जनजातिमाथि तथानाम गाली गर्दै हुनुहुन्छ, यसबाट साम्प्रदायिक हिंसा भड्किए त्यसको जिम्मा लिन तयार हुनुहुन्छ ?

(५) विदेशी शक्तिको दबाब र प्रभावबाट बचाएर सबै वर्ग समुदायलाई सम्हालेर देश हाँक्न सक्नु हुन्छ ? नेताको आलोचना गर्न जति सजिलो छ, आफैं जिम्मेवारीमा बसेर सन्तुलित नेतृत्व दिन कठिन छ भन्ने कुरा कहिले बुझ्नु हुन्छ ?

(६) गणतन्त्रको बिकल्प राजतन्त्र भन्ने तपाईहरुको मान्यता छ। तर, समावेशी लोकतन्त्रले नदिएको समाधान जहानियाँ शासनले दिन सक्छ ? राजाले बिलासिताका लागि राज्यको दोहन गरेको इतिहास यति छिटै बिर्सन सकिन्छ ?

(७) के पञ्चायत कालमा भ्रष्टाचार, शोषण भएको थिएन ? मुखिया जिम्मुवाल ठूलाबढाले गरेको शोषण ज्यादतिको इतिहास दर्दानाक थिएन ?

(८) के लोकतन्त्र र गणतन्त्रभन्दा पहिले समाज र राजनीतिमा भएका घटनाहरु मिडियामा सजिलै ल्याउन सकिन्थ्यो ? आज तपाईहरुले जुन वाक् स्वतन्त्रता पाउनुभएको छ, यो गणतन्त्रकै फल होइन र ?

(९) २४० वर्षे जहानियाँ राजतन्त्रमा शिक्षा, स्वास्थ्य, बाटोघाटो, पूर्वाधार विकास र मानवीय सूचाकांकको अवस्था कहाँ थियो ? के तपाईहरुले १२ वर्षको अन्तरालमा भएका उपलब्धिहरुको तुलनात्मक अध्ययन गर्नुपर्दैन ?

(१०) राजतन्त्र फर्काउँदा दुई गणतन्त्रिक छिमेकी मुलुकबीचको नेपालको सम्बन्ध, विश्व राजनीतिमा आएको परिवर्तन र विकासको हेक्का राख्नु पर्दैन ? आजको नवीन चेतनाले पञ्चायतकालीन व्यवस्था स्वीकार्न सम्भव होला ? जनताले पूरातन चेतना र व्यवस्थालाई चुपचाप स्वीकार गर्लान् ? यसमाथि तपाईहरुले हेक्का राख्नु पर्दैन ?

(११) तपाईहरुका कारण देश दुर्घटना फसेमा त्यसको जिम्मा कसले लिन्छ ? समाजलाई पछाडि फर्काउने तपाईहरुको प्रयास इतिहासमा क्षम्य हुन सक्ला ? तपाईहरुलाई देशद्रोही भन्न मिल्छ कि मिल्दैन ?

१२. तपाईहरु आफू भ्रष्टाचारको विरोध गर्नुहुन्छ। तर, तपाईहरुले विभिन्न गतिविधिमा पैसाको खोलो बगाइरहनुभएको छ। त्यत्रो पैसा कुन स्रोतबाट आउँछ ?

Comments
Loading...
You might also like