राजनीतिका ४८ वर्ष : ३३ वर्षदेखि प्रचण्डको अविछिन्न नेतृत्व

  • 14.5K
    Shares
0

काठमाडौं, ४ मंसीर। बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टी सञ्चालनको जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको छ। बैठकले पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको जिम्मेवारी बाँडफाँड गर्दै एउटालाई सरकारको नेतृत्व र अर्कालाई पार्टीको नेतृत्व सुम्पिएको हो। यो निर्णयसँगै अध्यक्ष प्रचण्ड नेकपाको एकल कार्यकारी अध्यक्ष भएका छन्।

 बुधबारको निर्णयपछि संसदका कार्यकाल रहुञ्जेल सरकारको नेतृत्व अर्थात् प्रधानमन्त्रीमा केपी शर्मा ओली नै रहनेछन्। पार्टीको बैठक सञ्चालन र निर्णय गर्ने अधिकार प्रचण्डलाई दिइएको छ। यसले डेढ वर्षदेखि कछुवाको गतिमा रहेको नेकपाको एकता प्रक्रियाले गति पाउने अपेक्षा गरिएको छ। एकताको डेढ वर्षपछि नेकपाले एकल कार्यकारी अध्यक्षका रुपमा प्रचण्डको डाइनामिक नेतृत्व पाएको छ।

वि.सं. २०२८ सालमा पुष्पलाल समूहबाट कम्युनिष्ट आन्दोलनमा रहेका प्रचण्डले ३३ वर्षसम्म कम्युनिष्ट पार्टीमा नेतृत्व सम्हाल्दै आएका छन्। २०४३ सालको सेक्टर काण्डपछि तात्कालीन नेकपा (मशाल) ले प्रचण्डलाई पार्टीको शक्तिशाली महामन्त्री पदमा चयन गरेको थियो। प्रचण्डकै नेतृत्वमा माओवाद र माओविचार मान्ने धाराहरुबीच एकता भई २०४८ मा प्रचण्ड नेकपा (एकता–केन्द्र) को महामन्त्रीमा निर्वाचित भए।

२०५१ सालमा जनयुद्धमा जाने निर्णय प्रचण्डकै नेतृत्वमा भएको थियो। २०५१ सालमा सम्पन्न नेकपा (माओवादी) को प्रथम राष्ट्रिय सम्मेलनले प्रचण्डलाई महामन्त्रीमा निर्वाचित गरेको थियो। जनयुद्धका आँधीमय पाँच वर्षपछि २०५७ साल फागुनमा भएको दोस्रो राष्ट्रिय सम्मेलनले फेरि प्रचण्डलाई नै सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित गरेको थियो। वि.सं. २०६९ मा हेटौंडामा सम्पन्न एकीकृत नेकपा (माओवादी) को सातौं महाधिवेशनले प्रचण्डलाई पार्टी अध्यक्षमा निर्वाचित गरेको थियो। २०७४ साल जेठ ३ गते तात्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएपछि प्रचण्ड नेकपाको अध्यक्ष रहँदै आएका थिए।

पार्टीमा ओली र प्रचण्ड दुवै जना अध्यक्ष भए पनि अध्यक्षहरुको उचित कार्यविभाजन हुन सकेको थिए। प्रधानमन्त्री ओली सरकारका काममा केन्द्रित हुनुपर्ने भएकाले पार्टी एकताको कामले गति लिन नसकेको गुनासो पार्टीभित्र र बाहिर रहँदै आएको थियो। अन्ततः बुधबारको बैठकले नेकपाका २ अध्यक्षमध्ये प्रचण्डलाई कार्यकारी अध्यक्षको एकल जिम्मेवारी दिएको छ।

राजनीति ४८ वर्षमध्ये ३३ वर्ष प्रचण्डले अविछिन्न नेतृत्व गर्दै आएका छन्। प्रचण्ड नै त्यस्ता नेता हुन्, जसले ३३ वर्षसम्म अविछिन्न नेतृत्वमा रहँदा एकीकृत र गतिशील पार्टी निर्माण र सञ्चालन गर्दै आएका छन्। उनको अधिकार थपिएसँगै नेकपामा नयाँ रक्तसञ्चार भएको छ। यस्तो छ प्रचण्डको राजनीतिक जीवन।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको जन्म वि.सं. २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं.–२ लेवाडेमा भएको हो। पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमा नै लिए। उनले २०२६ चितवनको नारायणी विद्या मन्दिर मा.वि. शिवनगरबाट एसएलसी उत्तीर्ण भई २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आईएस्सी पूरा गरी २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी गरी एमपीएसम्मको अध्ययन गरेका छन्। कक्षा १० माअध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरेका प्रचण्डको वि.सं. २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम रहेको थियो। हाल उनी आफू पुष्पकमलभन्दा प्रचण्ड नाममा गौरव गर्छन्।

वि.सं. २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइ सराई गरेका प्रचण्डको वि.सं. २०२६ वैशाखमा सीता पौडेलसँग विवाह भएको हो। उनका तीन छोरी र एक छोरा छन्। चार सन्तानमध्ये छोरी ज्ञानु र छोरा प्रकाशको अल्पायूमै दुखद् निधन भयो। उनी नारायणी विद्या मन्दिर मावि शिवनगर–२०२९ साल, डण्डा मावि नवलपरासी र भीमोदय मावि, आरुघाट, गोरखा–२०३३–०३५ सालमा अध्यापन गरी २०३२ सालमा युएसएडमा सेवारतसमेत रहेका थिए।

वि.सं. २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनीतिक जीवन प्रारम्भ गरेका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरेका थिए। उनी २०३४ सालमा चौंथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालिन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भएका थिए। उनी वि.सं. २०३८ मा क्षेत्रीय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए।

प्रचण्ड वि.सं. २०४१ मा नेकपा (मशाल) को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र) को महामन्त्री भए। यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछिको बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री भएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे। २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष भए।

वि.सं. २०५८ माजनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहेका प्रचण्ड २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौंमा भूमिगत जीवनबाट सार्वजनिक भएका थिए। उनी २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भए। २०६९ सालमा वृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष बने। २०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित भए। २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनः अध्यक्ष पदमा निर्वाचित भए।

उनले संविधान सभाको उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिका समेत निर्वाह गरेका थिए। अध्यक्ष प्रचण्डका नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३), संस्कृति, कला र सौन्र्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरु (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनाहरु लगायतका पुस्तक प्रकाशित छन्। उनी २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौं–१० र रोल्पा–२ बाट निर्वाचित भएका थिए। प्रचण्ड २०७० मंसीरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिराहा–५ बाट निर्वाचित भएका थिए।

संविधान सभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं–५ बाट निर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७३।०४।१९ गते व्यवस्थापिका–संसदमा ३६३ सदस्यको बहुमत प्राप्त गरी नेपाल सरकारको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भए। २०७४ मंसीर २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं.–३ बाट अध्यक्ष प्रचण्डले ४८२७६ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। वि.सं. २०७५ जेठ ३ गते एमाले–माओवादीबीच पार्टी एकता भएपछि प्रचण्ड नेकपाको अध्यक्ष भए।

बुधबार (४ मंसीर, २०७६) मा बसेको नेकपाको सचिवालय बैठकले प्रचण्डलाई एकल कार्यकारी अध्यक्षको अधिकार दिएको छ। बैठकले प्रचण्डलाई पार्टी सञ्चालनको प्राधिकार दिएपछि नेकपाले नयाँ गति लिने अपेक्षा गरिएको छ। यद्यपि, मूख्य निर्णयहरुमा प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गर्नेछन्।

Comments
Loading...
You might also like