साउनमै एकताका बाँकी काम सकेर देशव्यापी अभियानमा जान्छाैं : प्रचण्ड

0

काठमाडौं, ७ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको प्रकृया करीब–करीब निष्कर्षमा पुगिसकेको बताएका छन् ।उनले एक–दुई वटा कामलाई औपचारिकता दिन मात्रै बाँकी रहेको भन्दै चाँडै त्यो काम पनि पूरा हुने बताए ।

पार्टी संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औँ स्मृति दिवसका अवसरमा पुष्पलाल प्रतिष्ठानले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले साउन महिनाभित्र पार्टी एकताका बाँकी सबै काम टुङ्ग्याउने र स्थायी समिति र केन्द्रीय समितिको बैठक समेत बसेर देशव्यापी अभियानमा जाने कार्यक्रम बनाउने बताए ।

उनले भने, ‘एक वर्षमा पार्टी एकता ढिलो भयो, लाखौँ नेता कार्यकर्ताको काम गर्ने सकारात्मक वातावरण बनेन भन्ने जुन चिन्ता थियो, त्यो चिन्तालाई दूर गर्ने, कार्यकर्तालाई आमूल रुपमा उत्साहित गर्ने र सरकारका कामलाई सुशासन र विकासको मोडल प्रस्तुत गर्ने उद्देश्यका साथ जानुछ।’ विभाजित पार्टीलाई एकीकृत गर्नुपर्छ भन्ने पुष्पलालको भनाई स्मरण गर्दै अध्यक्ष प्रचण्डले पुष्पलालले लिएको समाजवादतर्फको यात्रा आफूहरुले पूरा गर्ने जिम्मेवारी थपिएको बताए ।

उनले भने, ‘हामी पुष्पलालकै उत्तराधिकारी हौँ, सन्तति हौं ।’ कम्युनिष्टहरुका बारेमा पहिलेदेखि नै भ्रम छरिएको भन्दै प्रतिकृयावादीले छरेको त्यो भ्रम चिर्दै पार्टी एकता सम्भव भएकाले अब एकता हुनै सक्दैन भन्नेहरुलाई जवाफ दिनुपर्ने बताए ।

कीर्तिपुरको चम्पादेवीमा रहेको पुष्पलालको शालिकमा नेकपा अध्यक्ष प्रचण्डसहित, नेताहरु माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतका नेताहरुले श्रद्धाञ्जली व्यक्त गर्दै माल्यार्पण गरेका थिए ।

वि. सं १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछापमा जन्मिएका पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा भएको थियो ।

Comments
Loading...
You might also like