पार्टीभित्र जिम्मेवारी र अनुशासनमा विचलन देखियाे : प्रचण्ड

0

काठमाडौं, ६ भदाै। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्ने सम्भावना रहेको बताएका छन्।

शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले  सत्तामा जानुअघि जनतासँग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई बिर्सँदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा औंल्याएका हुन्।

कम्युनिष्ट सरकारको कार्यशैली वास्तविक कम्युनिष्टको चिन्तन र विचारभन्दा भिन्न बुर्जुवाकरण हुँदै जाने हो भने सत्ता परिर्वतन हुन समय लाग्ने भन्दै उनले त्यसतर्फ गम्भिर हुनुपर्ने आवश्यकता औंल्याए। पूर्वी युरोप, सोभियत संघको उदाहरण दिँदै उनले कम्युनिष्ट नेताले सत्तामा पुगेपछि कम्युनिष्ट चिन्तन सिद्धान्तको कार्यशैली बिर्सन नहुने बताए।

उनले भने, ‘कम्युनिष्ट नेता नै राजा महाराजा जस्तो हुँदै गएपछि राजा महाराजका विरुद्ध लडेका जनताहरु कम्युनिष्ट पनि राजा महाराजा जस्ता देखिएपछि। यिनलाई पनि लखेठ्नपर्छ भन्ने यो विडम्बना हामीले देखियो इतिहासमा। हामीकहाँ पनि यसो हेर्दा लक्षण चाहिँ…। कुरा बुझ्नु भयो नि। सिस्टम चाहिँ कता–कता त्यस्तै देखिने।’ उनले दुई पार्टी मिलेर बनेको ठूलो पार्टीभित्र पछिल्लो समय अनुशासन र जिम्मेवारी बोधमा विचलन देखिएको भन्दै असन्तुष्टी समेत जनाए।

उनले विगतमा जनताका समस्या बोध गर्ने, अनुशासित र जिम्मेवारी लिने पथमा देखिएका कम्युनिष्टहरुमा अहिले अनुशासनहीन बन्दै कर्तव्यबोधबाट पन्छिने प्रवृत्ति बढेको टिप्पणी गरे।

अध्यक्ष दाहालले सत्तामा पुगेपछि जनतासँग गरेका प्रतिबद्धताहरु बिर्सँदै जाने प्रवृत्ति विश्वभरका कम्युनिष्टहरुको विशेषता नै भएको भन्दै अन्य मुलुकमा देखिएको प्रवृत्ति नेपालमा पुनरावृत हुन नदिनतर्फ सचेत हुनुपर्नेमा जोड दिए। उनले वर्तमान राज्यसत्ता प्राप्तिका लागि विगतमा आफैँले आफ्नै योगदानको अवमूल्यन गर्ने काम नेतृत्वबाट हुन नहुनेतर्फ सँधै सचेत र सजग हुनुपर्ने आवश्यकता औंल्याए।

Comments
Loading...
You might also like