मार्क्सवादलाई धर्मशास्त्र हाेइन, गतिशील मार्गदर्शन बनाऔं : प्रचण्ड

0

काठमाडौं, ६ भदाै। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले मार्क्सवादलाई अक्षरशः पालना गर्ने भन्दा पनि मार्गदर्शन सिद्धान्तका रुपमा लिनुपर्ने बताएका छन्। ललितपुरमा शुक्रबार आयोजित प्रोग्रेसिभ इन्जिनियरिङ्ग एसोसिएसन नेपालको प्रशिक्षण कार्यक्रममा उनले यस्ताे बताएका हुन्।

‘एउटा प्रवृति मार्क्सवाद, लेनिनवाद या द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई एउटा धर्मशास्त्रको रुपमा बुझ्ने र त्यसमा जे लेखेको छ अक्षरशः पालना भन्दा पनि मार्गदर्शन बनाउनु पर्छ ।’ उनले पार्टी एकतामा केही ढिला भए पनि लगभग सबै प्रक्रिया टुंगिएको बताए। कार्यक्रममा बोल्दै उनले हिजोभन्दा आज कम्युनिष्टको अनुशासनको स्तर गिर्दै त छैन भन्दै भने, ‘कम्युनिष्टहरुमा वैचारिक विचलन आएको छ । सामूहिकता भन्दा व्यक्तिगत निर्णयतर्फ केन्द्रित भएको महशुस भएको छ । यसलाई परिवर्तन गर्नुपर्छ । ’

अध्यक्षले कम्युनिष्टहरु सत्तामा नपुग्दासम्म जनताको पक्षमा लाग्ने भए पनि सत्तामा पुगेपछि त्यसलाई बिर्सदै जाने प्रवृति आएको भन्दै राष्ट्र र जनताको चाहना के हो ? कार्यशैली के हुने हो भन्ने बिर्सेर विस्तारै–विस्तारै वुर्जुवा शैलीतर्फ जान थालेकोप्रति आफूलाई चिन्ता लागेको बताए।

सोभियत संघ लगायतमा कम्युनिष्ट सत्ता ढल्नुको कारण कोट्याउँदै उनले बुर्जवाहरुले कम्युनिस्टहरुसँग लड्न नसक्ने तर सत्तामा गएपछि विकृत बनाउने र एउटा गोली पनि नचलाई उल्टाइदिने गरेको उदाहरण रहेको बताए। उनले अगाडि भने, ‘पूर्व युरोपमा विदेशी हस्तक्षेप भएर वा कसैले सशस्त्र संघर्ष गरेर सत्ता उल्टिएको होइन । कम्युनिष्ट नेताहरु नै राजा महाराजा जस्तै हुँदै गएपछि जनताले लखेटेका हुन् ।’

Comments
Loading...
You might also like