प्रधानमन्त्रीको लोभ छैन, स्थिरताको पक्षमा छु: प्रचण्ड

  • 2.9K
    Shares
0

काठमाडौं, ७ मंसिर । नेकपाका अध्यक्ष प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको बताएका छन्। उनले विगतमा गरिएको पार्टी र सरकारको नेतृत्वमा आलोपालो गर्ने भन्ने सहमतिलाई पनि नयाँ निर्णयले प्रतिस्थापन गरेको स्पष्ट पारे।

‘मलाई प्रधानमन्त्री हुने हतारो छैन। देशमा स्थिरता हुनुपर्‍यो, स्थायित्व हुनुपर्‍यो। विकास निर्माणले गति लिनुपर्‍यो,’ उलने आफ्नो खुमलटार निवासमा शुक्रबार कान्तिपुरलाई अन्तर्वार्ता दिँदै उनले भनेका छन्,‘ म पार्टी अध्यक्षका हैसियतले देशको स्थायित्व र जनताको भलाइका निम्ति सक्रिय भूमिका खेल्छु।’

अध्यक्ष प्रचण्डले आफू र अर्का अध्यक्ष केपी शर्मा ओलीबीच स्पष्टसँग अधिकार बाँडफाँट गरिएपछि सबै भ्रमहरुको अन्त्य भएको पनि उल्लेख गरे। ‘एउटा अध्यक्ष फुर्सदिलो जस्तो, कताकता हिँडिरहेजस्तो, अर्को अध्यक्षले बैठक पनि गरेको छ, प्रधानमन्त्री पनि छ, काम पनि ओभरलोडजस्तो भन्ने फिलिङ पार्टी पंक्तिलाई थियो,’ उनले भने, ‘अध्यक्षहरूकै बीचमा छलफल हुँदा पनि त्यो भाव झल्किन्थ्यो। अब त्यो स्थितिको अन्त्य भयो ।

दुवै अध्यक्ष कार्यकारी भूमिकासहितका भयौं।’ पार्टी सचिवालयको बुधबारको निर्णयले ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ पुरानो सहमति प्रतिस्थापन गरेको प्रचण्डको भनाइ छ। ‘यो निर्णयले गत वर्ष जेठ २ गतेको सहमतिलाई प्रतिस्थापित गर्‍यो, अब केही कन्फ्युजन आउँदैन,’ उनले स्पष्ट पारे ।

सचिवालय बैठकको निर्णयलाई स्पष्ट पार्दै उनले भने, ‘गएको करिब डेढ वर्ष कमरेड केपी ओलीले अध्यक्षको हैसियतमा पार्टी सञ्चालन गर्नुभयो, अध्यक्षता पनि गर्नुभयो, निर्णय लिने कुरामा पनि उहाँकै अग्रसरता थियो। अब उहाँले डेढ वर्षसम्म गरेको काम मैले गर्ने हो।’

Comments
Loading...
You might also like