पुरुष सक्षम, महिला असक्षमको मापदण्ड के ?

महिला हिंसाविरुद्धको १६ दिने अभियान

  • 385
    Shares
0
  • बाबा बस्नेत

कुनै पनि छोरी, बुहारी, श्रीमती, नातिनी, भतिजी सक्षम छन् भने उनीहरूको नामसित बाउ, ससुरा, श्रीमान, हजुरबुवा, काका आदिको नाम जोडिरहनु के अनिवार्यता हो त ? कुनै पनि नारी सक्षम हुनुमा उनीहरूको पारिवारिक पृष्ठभूमिको केही हदसम्म प्रभाव रहेको हुन्छ, यो तथ्य स्वीकार्न मिल्छ। तर पुरुषको नाम र माध्यमबाट मात्रै नारी योग्य हुन्छन् भन्ने चाहिँ होइन। व्यक्तिगत रुपले पनि ऊ कत्तिको क्षमतावान छ भन्ने कुरो महत्त्वपूर्ण हो।

परापूर्वकालदेखि हामीलाई एउटा के भ्रम परेको छ भने सफल नारीका पछाडि पुरुषकै हात हुन्छ। त्यसो हो भने असफल, अयोग्य पुरुष परिवारबाट पनि त योग्य नारीहरूको उत्पादन भएका प्रशस्तै उदाहरण पाइन्छन्। आफ्नै समागमबाट नारीले सन्तान जन्माएकी हो भन्ने हेक्कासम्म पुरुषलाई नहुने त्यो आदिम युगको प्रारम्भ अवस्थामा तिम्रै कारणले हो मैले बच्चा जन्माएको भनेर पुरुषमा चेतना भर्दै मानव समाजको विकास वृद्धि गर्दै लैजाने नारीमा पक्कै पनि आफ्नै सुझबुझ हुन्छ नै।

त्यो सुझबुझ समय, परिस्थिति, वातावरण, सङ्गत आदिद्वारा हुर्कदै जान्छ र चेतन तत्वअनुरूप परिमार्जन हुन्छ। शारीरिक प्रबलता र अझै प्रजनन लगायत मासिक रजश्वला प्रक्रिया आदि प्रकृति पुरुषले खेप्नु नपर्ने जस्ता कारणले पनि नारीले नै बाहिरी कामकाज र सुरक्षा आदि सम्बन्धि जिम्मेवारी पुरुषमा सुम्पदै गएका हुन् भनिन्छ।

यिनै बाध्यताहरू नै अन्ततः पुरुषहरूको नाममा ‘प्रधान’ भएर जोडिँदै गए अनि प्रथमतः उसले पुरुष भएकै कारण पूर्ण, सक्षम र परिपक्व हुनैपर्ने भयो। पारिवारिक जीवनसित जोडिएको मूख्य पूर्वाधार पक्ष भनेको आर्थिक पक्ष पनि हो। सुरक्षा र अन्य व्यवहारिक चाँजोपाँजो प्रवन्ध प्रक्रियासितै अनन्य सम्बन्ध रहँदै गयो अर्थको। आर्थिक उत्पादनका माध्यमहरूको प्रारम्भिक श्रोतसोच नारी नै हुन् भन्ने प्रमाणहरू दुर्लभ छैनन्। तर, कलह असन्तुष्टि र बिभाजन, अर्थले नै निम्त्याएको पाइन्छ। वर्ग बिभाजनका कारण विविध रहे पनि मुख्य कारक तत्व अर्थ नै रहेको कुरा नकार्न मिल्दैन। अर्थोपार्जनमा आधिकारिक रुपमै पुरुष स्थापित हुनु पनि नारी पुरुषबीचको विभेदको डरलाग्दो खाल्डो बन्न पुग्यो। त्यो खाल्डो अब पुरिएको छ।

राजनीतिका अनेकौं धारहरू पार गरेर अनेकौं कालखण्ड हुँदै आज हामी गणतन्त्रको खुला मैदानमा आइपुगेका छौँ। हाम्रो संविधान विश्वकै एउटा उदाहरणीय संविधान हो। हामी नारीका लागि प्रवल प्रावधानहरू तोकिएकै छन् यसमा। यसलाई ठम्याएर हामी यसमा सुनिश्चित हुनु हाम्रो आफ्नै चेतनक्षमताको उपजको कुरा पनि हो। वर्तमान अवस्थामा एकातिर महिला मन्त्रालयमा पनि पुरुष भन्ने आवाज निकै चर्किरहेको छ भने अर्कातर्फ मन्त्रीमन्डलमा शेष रहेका दुई जना महिला मन्त्रीमा पनि एक जना किन हटाइएन भन्ने आवाज पनि उत्तिकै चर्कंदो छ। यो विरोधाभाष, बिडम्वना हो।

हामी नारीभित्रै विभेदको तुष बाँकी छ अझै। संविधानले तोकेको संख्याभन्दा निकै प्रतिशत कम संख्यामा नेतृत्व तहमा महिला रहँदा महिला मन्त्री संख्या वृद्धि गराउनेतर्फ आवाज बुलन्द हुनुको साटो बाँकी रहेका दुई महिला मन्त्रीमा पनि एक जनालाई खेदिरहनुको तात्पर्य कतै परिवर्तनको खाका बुझ्न नसक्नुको परिणाम हो कि भन्ने कुरामा द्विविधा नहोला। कुनै पनि ब्यक्ति सफल असफल भनेर निक्र्योल गर्नुको मापदण्ड के हो त आखिर ? निरन्तर उसले समाज र राष्ट्र हितको पक्षमा कर्मद्वारा निभाएको योगदानहरूको नापतौलबाट निस्केको नतिजा पनि बलियो मापदण्ड हुनुपर्छ भन्ने कुरामा सचेत हुनु सबै चेतनशील नागरिकको निजी दायित्व होइन र ?

पुरुषको योगदान सधैं सफल योगदान हुने अनि नारीको योगदान, नारीको काम चाहिँ असफल भन्ने पनि हुन्छ र ? बिरामी जचाउन जाँदा महिला डाक्टर देखेर हजुरबा हजुरआमाहरूले पहिला पहिला ‘ए, डाक्टर नै रहेनछन्, डाक्टर्नी पो रैछन्’ भनेर नजचाई फर्किएजस्तै कुरा हो। पुरुषसँगसँगै सोचमा सोच, हातमा हात, काँधमा काँध मिलाएर अघि बढ्ने नारीको क्षमताको मापदण्ड के त आखिर ?

Comments
Loading...
You might also like