बालबालिका आफैँ बनाउँदैछन् यस्तो भिडियो

  • 145
    Shares
0

काठमाडौं। विदेशी मुलुकमा बालबालिकाको अश्लील भिडियो तथा तस्बिरहरु बन्ने दर तीव्र गतिमा बढेपछि सरोकारवालाहरु यसमा घोत्लिन थालेका छन्। समस्या के भइरहेको छ भने बालबालिकाको अश्लील भिडियो तथा तस्बिरहरु अरु कसैले बनाइरहेको भने छैन।

उनीहरु आफैँ बनाउन उत्सुक भइरहेका छन्। एउटा अध्ययनअनुसार तीन जनामध्ये एकले त्यस्ता भिडियो वा तस्बिरहरु आफैँ बनाउने गरेका छन्। यसलाई सरकारी अधिकारीहरुले गम्भीर अवस्था मानेका छन्।

लाइभ स्ट्रिमिङबाट प्रसारण गरिने यस्ता भिडियोहरु घरकै सुत्ने कोठाबाट बनाइने गरेको इन्टरनेट खोजकर्ताले जनाएका छन्। इन्टरनेट वाच फाउन्डेसन (आइडब्ल्युएफ)ले केही महिनाअघि बालबालिकाले आफैँले उत्पादन गर्ने अश्लील भिडियो तथा तस्बिरको संख्या चिन्ताजनक तरिकाले बढेको भन्दै आश्चर्य व्यक्त गरेको थियो।

यस्तो अवस्थामा आफ्ना बालबालिकाका गतिविधिलाई सचेत भई अवलोकन गर्न आग्रह गरिएको छ। खासगरी ११ देखि १३ वर्षका बाललिकाहरु वेबक्यामको लाइभ स्ट्रिमिङमा आउने बताइएको छ।

आइडब्लुएफको वार्षिक रिपोर्टका अनुसार, यस्ता घटनामा बालबालिकाहरुलाई अनलाइनमा प्रोत्साहित गर्ने, धोकापूर्ण तरिकाले खिचिने र सेयर गरिनेसमेत अवस्था छ।’ हालै बेलायतमा यस्तो समस्या देखिएका ७२ हजारभन्दा बढी वेबपेजहरु हटाइएको छ। त्यसयता यस्ता वेबपेजको संख्या ह्वात्तै बढेको अधिकारीहरुको भनाइ छ।

बालबालिकाको यस्तो भिडियोमा १३ वर्षभन्दा कम उमेरको संलग्नता ९४ प्रतिशत छ। त्यस्तै ११ देखि १२ वर्ष उमेर समूहकारुको संलग्नता ७८ प्रतिशत छ भने १० वर्षभन्दा कम उमेरकाहरुको प्रतिशत १६ प्रतिशत रहेको छ। आइडब्लुएफकी प्रमुख कार्यकारी सुसी हर्गरिभ्स भन्छिन्, ‘घरैमा जब बालबालिकाहरु आफ्नो अश्लील भिडियो बनाउन थाल्छन्, योजस्तो खतरनाक कुरा के हुन सक्छ ?’

छोराछोरीहरु मज्जैले घरमा बसिरहेका छन्, सुरक्षित छन् भन्ने बाउआमालाई लाग्छ तर छोराछोरीहरु भने आफ्नै बेडरुममा बसेर अश्लील भिडियो बनाइरहेका छन्। बाउआमालाई त्यहाँ के भइरहेको छ भन्ने अत्तोपत्तो हुँदैन। यो थाहा पाउँदा तिनलाई कस्तो महसुस हुँदो हो ! त्यसमाथि बालबालिका स्वयंलाई पनि आफूहरुमाथि शोषण भइरहेको छ भन्ने पत्तो पाउँदैनन्।

आइडब्लुएफ विश्लेषकका अनुसार हरेक पाँच मिनेटमा एक जना बालबालिका शोषित हुने गरेको र सोको भिडियो पोस्ट हुने गरेको छ। यस्ता भिडियोहरु युरोपमा अधिकांश बस्ने र पोस्ट गरिने देखिएको छ। यस्ता घटनामा सबैभन्दा ठूलो समस्या के छ भने एक पटक अनलाइन देखिइसकेका भिडियो तथा तस्बिरहरु वर्षौंपछि पनि देखिने र त्यसलाई निमिट्यान्न पार्न नसकिने हुन्छ।

तसर्थ, जब समस्याको गम्भीरता बालबालिकाले बुझ्न थाल्छन्, त्यसबाट उम्कने कुनै उपाय फेला पार्न सक्ने छैनन्। अहिले बेलायतमा एक लाखभन्दा बढी अभिभावकले आफ्ना सन्तानका अनलाइन भिडियोहरु हटाइदिन प्रहरीलाई अनुरोध गरेको निवेदनको चाङमा काम गरिरहेको छ। -नागरिकबाट

Comments
Loading...
You might also like