मार्क्सवादी स्कूल : द्वन्दवाद र अन्तर्विराेधकाे नियम

  • 760
    Shares
0

मार्क्सवादी द्वन्दवाद विकास तथा सार्वभौम सम्बन्धको सिद्धान्त हो। विकासको स्रोत र गतिदायी शक्तिहरूको प्रश्न नै यसको मुख्य प्रश्न हो। प्रतिपक्षहरूको एकता र सङ्घर्षको नियमले नै यस प्रश्नको समाधान गर्दछ। भी.आई. लेनिनले प्रतिपक्षहरूको एकता र सङ्घर्षको नियमलाई द्वन्दवादको ‘सार र गुदी’ हो भनेका छन्। यस नियमले भौतिक जगतको विकास एवं शाश्वत गतिका वास्तविक कारण र स्रोतहरूको उद्घाटन गर्दछ। व्यवहारिक क्रान्तिकारी गतिविधि, विज्ञान, समाज, चिन्तन तथा प्रकृतिको विकाससम्बन्धी द्वन्दवादका प्रश्नहरू बुझ्नका लागि यस नियमको जानकारी राख्नु अति आवश्यक हुन्छ।

मार्क्सवादी दर्शनअनुसार सबै वस्तु र प्रक्रियाहरूमा आन्तरिक अन्तर्विरोध हुन्छ। त्यही अन्तर्विरोध तिनीहरूले विकासको लागि प्रेरक शक्ति हो। लेनिनले अन्तर्विरोधहरूको अध्ययनलाई ‘द्वन्दवादको केन्द्रविन्दु’ भनेका छन्। तर, मौलिक प्रश्न के उठ्दछ भने अन्तर्विरोध आफूमा स्वयं के हो ? प्राचीन यूनानी द्वन्दवादी हेराक्लेटिसको विचारमा हरेक वस्तु, परिघटना र परिवर्तनको स्थितिमा हुने भएकाले वस्तुहरूको प्रकृति निर्धारण ती वस्तुहरूको अन्तरविरोधितामा गरिनुपर्दछ। कुनै वस्तु छ छैन त्यसमा हुने अविरल परिवर्तनको कारणले गर्दा यो तथ्य निर्धारण हुन्छ।

संसारमा दुई ठ्याक्कै एकै रूपका वस्तुहरू वा परिघटनाहरू हुनै सक्तैनन्। दुई भन्ने बित्तिकै असमानता विद्यमान हुन जान्छ। तसर्थ समान वस्तुहरूमा पनि असमानता र भिन्नता रहन्छ । यसरी एकरूपता र भिन्नताको एकता हुन्छ। एकरूपता र भिन्नता सबै वस्तु र प्रक्रियाहरूमा सँगसँगै विद्यमान हुन्छन्। एउटा वस्तु अर्को वस्तुसित मात्र भिन्न नभई आफ्नो सम्बन्धमा पनि आफूसित भिन्न रहन्छ। उदाहरणका निम्ति एउटा जीवित वस्तु अरू वस्तुको सम्बन्धमा एकरूपता र भिन्नताको एकता मात्र नभई त्यसले आफूलाई स्वयं नकार गर्दछ अर्थात् मृत्युतिर बढिरहेको हुन्छ।

द्वन्दवादमा कुनै वस्तु छ वा छैन भन्नुको अर्थ त्यो वस्तुमा स्थायित्व र परिवर्तनको एकता छ भन्नु हो, सकारात्मकता र नकारात्मकता छ, जीवन र मृत्यु छ भन्नु हो। तसर्थ एउटा निश्चित समय र स्तरमा रहेको एउटा इकाई र परिघटना प्रतिपक्षहरूको एकता हो, विरोधी गुण, चरित्र, गति र दिशा भएका पक्षहरूको एकता हो। प्रतिपक्षी शब्दले दुई परस्परविरोधी गुण भएका दुई पक्षहरू एक ठाउँमा अस्तित्वमा छन् भन्ने जानकारी दिन्छ। दुई पक्षहरूले एक अन्तर्विरोध खडा गर्दछन्, अर्थात् प्रत्येक वस्तु प्रत्येक परिघटना दुईमात्र प्रतिपक्षीहरूको एकता हो। यद्यपि ती दुई प्रतिपक्षहरूमा अरू असंख्य अन्तर्विरोधहरू हुन्छन्, जो गौण अन्तर्विरोधको रूपमा अस्तित्वमा रहेका हुन्छन्।

अन्तर्विरोधको सबभन्दा महत्वपूर्ण पक्ष प्रतिपक्षहरूको बीच सम्बन्ध र अन्तक्र्रिया हो। प्रतिपक्षहरूको गुण र गति एकदमै प्रतिकूल भए पनि तिनीहरू आफ्नो अस्तित्वको निम्ति आफ्नो प्रतिद्वन्दी प्रतिपक्षीमाथि निर्भर गर्दछन्। यो एकताले त्यो वस्तुमा सम्पूर्णता दिन्छ। अन्तर्सम्वन्ध, अन्तर्निभरता र अन्तरप्रवेशको अवस्थाले प्रतिपक्षहरूलाई प्रवृत्ति र गुणहरू दिन्छ। यो एकताले त्यो वस्तुलाई अस्तित्व दिन्छ। प्रत्येक विद्युत–चुम्वकीय लहर (प्रकाश, ताप, विद्युत) विपरीत दिशा भएको उर्जाको एक इकाई हो। चुम्वकको प्रत्येक अणुमा उत्तरी र दक्षिणी धु्रव हुन्छन्। परमाणु धन विद्युत र ऋण विद्युतहरूका इकाईहरूको समूहबाट बनेको हुन्छ। जैविक कोषाणुले रगतबाट भोजन लिन्छ र दूषित कुरालाई रगतमा फ्याँकिदिन्छ।

मानिसको श्वासप्रश्वास, भोजन गर्नु, विष्टा फ्याँक्नु, सामन्त र मोही, पूँजी र श्रम, उत्पादक शक्ति र उत्पादन सम्बन्धहरू विलोमहरूको (प्रतिपक्षीहरूको) एकता र सङ्घर्षका सवुत हुन्। अन्तर्विरोधमा एकताको अर्थविपरीत गुण र गति भएका पक्षहरूले अर्कोमाथि आफ्नो अनुकूल प्रभाव पार्न गरेको अर्थमा बुझ्नुपर्दछ। यसरी के स्पष्ट हुन्छ भने जुन आन्तरिक अन्तर्विरोधले कुनै वस्तुमा मूल, आधारभूत, प्राथमिक गुण, चरित्र र संरचना दिन्छ, त्यो नै विकासको प्रेरक शक्ति हुन्छ। परमाणुको केन्द्रमा प्रोटोन थपिन्छ भने इलेक्ट्रोनका संख्यामा पनि वृद्धि हुन्छ र पहिलेको भन्दा बेग्लै अर्को वस्तु र तत्व बन्न पुग्छ।

वर्गीय समाजमा आधारभूत वर्गहरूको बीच दासस्वामी र दास, सामन्ती जग्गाधनी र मोही, पूँजीपति र सर्वहाराको बीचको अन्तरविरोध नै समाजको प्रेरक शक्ति हुन्छ । त्यही अन्तर्विरोधलाई आधारभूत (प्रधान) अन्तर्विरोध भनिन्छ। अरू सबै अन्तर्विरोधहरूलाई गौण अन्तर्विरोध भनिन्छ। कुनै वस्तु र परिघटनाको अरू वस्तु, अरू परिघटना वा वातावरणसितको अन्तर्विरोधलाई बाह्य अन्तर्विरोध भनिन्छ। बाह्य अन्तर्विरोधको उपस्थितिले आन्तरिक अन्तरविरोधहरूको समाधानमा अनुकूल वा प्रतिकूल अवस्था सिर्जना गर्दछन्। साम्राज्यवादको उपस्थितिले स्थानीय सामन्तवाद वा पूँजीवादविरोधी सङ्घर्षको विकासमा प्रतिकूल स्थितिको सिर्जना गर्दछ। तर, समाजवादी व्यवस्थाको उपस्थितिले श्रमिक वर्गीय बाह्य वा आन्तरिक आन्दोलनलाई अनुकूल स्थिति पैदा गर्दछ।

कहिलेकाहीं आधारभूत आन्तरिक अन्तर्विरोधको समाधान गर्नमा, सामन्तवादविरोधी सङ्घर्षमा, अर्को कुनै आन्तरिक वा बाह्य अन्तर्विरोधले वाधा खडा गर्दछन्। त्यो निश्चित अन्तर्विरोधको समाधान नगरी आधारभूत अन्तर्विरोधको समाधान हुन सक्तैन। तसर्थ त्यो स्थितिमा त्यस्तो गौण वा बाहिरिया अन्तर्विरोध प्रमुख अन्तर्विरोध हुन पुग्दछ। आधारभूत अन्तर्विरोधको उपस्थितिमा नै प्रमुख अन्तर्विरोधको समाधान गर्नु प्रथम कार्य हुन जान्छ। तर, सामाजिक क्रान्तिको स्थिति विद्यमान छ भने आधारभूत अन्तर्विरोध नै प्रमुख अन्तर्विरोध हुन पुग्दछ।

वर्गीय समाजमा आधारभूत अन्तर्विरोधलाई शत्रुतापूर्ण अन्तर्विरोध भनिन्छ। अर्थात् प्रतिपक्षहरूको प्रतिक्रान्ति पक्षको पूर्ण नाश क्रान्तिकारी पक्षले गर्दछ। पूँजीवादी समाजमा पूँजीपति र मजदुर वर्गको बीचको अन्तर्विरोधलाई शत्रुतापूर्ण अन्तर्विरोध भनिन्छ।

वर्गीय समाजमा मैत्रीपूर्ण अन्तर्विरोध पनि हुन्छ। समान आर्थिक स्वार्थ र समानखाले सामाजिक जीवन भएका वर्ग र उपवर्गहरूबीचको अन्तर्विरोध मैत्रीपूर्ण हुन्छ। सामन्ती समाजमा सामन्ती जग्गाधनी, नोकरशाही पूँजीपति र दलाल व्यापारीको बीच वा मजदुर, किसान, मध्यम वर्ग र राष्ट्रिय पूँजीपतिको बीच मैत्रीपूर्ण अन्तर्विरोध हुन्छ। यद्यपि त्यस समाजमा मजदुरको शोषण भइरहेको हुन्छ।

अन्तर्विरोधहरूको पनि विभिन्न चरणहरूमार्फत विकास हुन्छ। कुनै पनि परिघटना त्यसका अन्तर्विरोधहरू एकदमै परिपक्व र प्रष्ट नभएसम्म हराउन सक्तैनन् वा अर्को परिघटनाबाट विस्थापित हुन सक्तैनन्। किनभने परिपक्व विकासको स्थितिले नै नयाँ गुणात्मक स्थितिमा फड्को मार्ने पूर्वशर्तहरू स्थापित गरेका हुन्छन्। विकासको प्रथम चरणमा अन्तर्विरोध आफ्नो अपरिपक्व स्थितिले गर्दा भिन्नताको अवस्थामा रहन्छ। त्यसपछि विकासको क्रममा यो भिन्नता प्रष्ट अन्तर्विरोधमा विकसित हुन थाल्दछ र प्रतिपक्षहरू एउटै संरचनाभित्र रहन नसक्ने हुन्छन्।

अन्तर्विरोधको विकासको अर्थ पक्ष र प्रतिपक्षहरूमा मात्रात्मक विकास हुनु हो। अन्तर्विरोधको एक पक्षमा मात्रात्मक वृद्धिले अर्को प्रतिपक्षमा पनि मात्रात्मक वृद्धि ल्याउँछ। पूँजीवादी समाजमा पूँजीको मात्रात्मक वृद्धिले मजदुरहरूको संख्यामा पनि वृद्धि गर्दछ। वा कूल शोषणको परिमाणमा वृद्धि गर्दछ। वर्गविरोधी समाजमा शत्रुतापूर्ण वर्गहरूको बीचको सङ्घर्षमा यसको अभिव्यक्ति हुन्छ, जसले सामाजिक क्रान्तिलाई जन्म दिन्छ र पुरानाको सट्टा नयाँ सामाजिक व्यवस्था कायम हुन जान्छ।

अतः यसरी वस्तु र घटनाहरू दुई परस्पर विरोधी पक्षहरूमा विभक्त हुन्छन्, जसले प्रतिपक्षहरूको एकताको प्रतिनिधित्व गर्दछन्। प्रतिपक्षहरूको सहअस्तित्व मात्र हुने होइन यिनीहरू स्थायी अन्तर्विरोध अर्थात् पारस्परिक सङ्घर्षको स्थितिमा विद्यमान रहन्छन्। प्रतिपक्षहरूको सङ्घर्ष नै वास्तविकताको विकासको आन्तरिक सार तथा स्रोत हो। प्रतिपक्षहरूको एकता र सङ्घर्षसम्बन्धी द्वन्दवादी नियमको सारतत्व यही हो।

(मार्क्सवादी चिन्तक हस्तबहादुर केसीको ब्लगबाट।)

Comments
Loading...
You might also like