भाउजू विद्याले होइन, कमरेड विद्याले जित्न जरुरी छ

  • 18.8K
    Shares
0

सुवास मल्ल/पोखरा। गत फागुन १५ गते नेपाली राजनीतिका आशालाग्दा नक्षेत्र रवीन्द्र अधिकारीको अकल्पनीय दुर्घटनामा परेर निधन भयो। कास्की २ बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित अधिकारीले संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका रुपमा समेत जिम्मेवारी सफलतापूर्वक सम्हालिरहेका थिए।

उनले यो मन्त्रालय सम्हालेको १ वर्षको छोटो अवधिमा जे जति गरेका थिए, त्यसले समाजवादी समृद्ध नेपालको बाटो कोर्न पक्कै पनि विशिष्ट भूमिका खेल्नेछ। उनको दुःखद निधनले कास्की जिल्ला र गण्डकी प्रदेशले मात्र नभएर सिंगो राष्ट्रले अपुरणीय क्षति व्यहोरेको कुरा यहाँ वर्णन गरिरहनु परेन। यसका बारेमा धेरैले बोलिसकेका र लेखिसकेका छन्। यसको गम्भीर समीक्षा त झन् इतिहासले गर्ने नै छ।

उनको निर्वाचन क्षेत्रको रिक्तता पूरा गर्नका लागि भने मंसिर १४ गते कास्की क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदै छ। हँसिलो, मिजासिलो र शितल स्वाभावका रवीन्द्रको स्थान लिने पात्रमा पनि उनको छवि खोजिनु कुनै अन्यथा विषय भएन। राष्ट्रिय राजनीतिमा राम्रो पहुँच स्थापित गर्न सक्ने उनको खूबीले पोखराको मात्र नभई समग्र प्रदेशको नै भाग्य र भविष्यको दिशा समृद्धितर्फ बढ्न थालेको भान भइरहेका बेला उनको उत्तराधिकारीमा समेत त्यसको अंश पक्कै पनि खोजी हुने नै छ।

त्यसै गरी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको समृद्धिको बारेमा प्रष्ट मार्गचित्र उल्लेख गर्न सक्ने, आलेखहरु, अन्तर्वार्ताहरु र पुस्तकहरुबाट समेत समृद्धि यात्राको बारेमा सबैलाई सुचित गर्ने उनको छाप उनको उत्तराधिकारीमा पनि जनताले अपेक्षा गर्ने नै भए। यो उपनिर्वाचनका विभिन्न चुनावी कार्यक्रमलाई नजिकबाट नियालेर हेर्दा भने रवीन्द्र अधिकारीकै पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अगाडि सारेको उम्मेदवार विद्या भट्टराई उनकी श्रीमती कम उत्तराधिकारी बढी भएको महसुस हुन्छ।

सिन्धुपाल्चोकमा जन्मेर काठमाडौंलाई कर्मभूमि बनाउँदै विद्यार्थी राजनीतिमा उदाएकी विद्या २ दशकअघिको १ दशककी सशक्त विद्यार्थी नेतृ हुन्। तत्कालीन नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय कमिटीमा सचिवसम्मको कार्यभार सम्हाल्ने मौका पाउनुले उनको नेतृत्व क्षमताको पुष्टि गर्छ। २०५५ मा विवाह भएपछि घरका दुवै जना राजनीतिमा होमिँदा घर, परिवारको जीम्मेवारी बहन गर्न मुस्किल हुने भएकाले उनले जागिरे जिन्दगी सुरु गरेको देखिन्छ।

अहिले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल अनेरास्ववियु अध्यक्ष हुँदा केन्द्रीय कमिटीमा जिम्मेवारी सम्हाल्दै विद्याले पछि हालका पर्यटन मन्त्री योगेश भट्टराई अध्यक्ष र रवीन्द्र अधिकारी कोषाध्यक्ष हुँदा महिला विभाग प्रमुखका रुपमा कार्य गरेकी थिइन्। त्यसपछिको १ कार्यकालसमेत पुनः महिला विभाग प्रमुख र केही महिना कार्यबाहक सचिवको जिम्मेवारीसमेत सफलतापूर्वक सञ्चालन गरेकी थिइन्। २०४९ मा पद्य कन्या क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उनले सभापतिको उम्मेदवार बनेर अनेरास्ववियुको प्यानलको नेतृत्व गरेकी थिइन्।

अनेरास्ववियुका अलावा उनले अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालय सचिवको भूमिकामा समेत रहेर महिला आन्दोलनको नेतृत्वमा गरेकी थिइन्। विवाहपछि जीवनयापनका लागि एक जनाले अर्थाेपार्जनमा लाग्नुपर्ने बाध्यात्मक परिस्थितिमा प्राध्यापन जस्तो प्राज्ञिक क्षेत्रलाई जीवन निर्वाहको पेशा बनाउने उनको रोजाईले नै उनीभित्रको बौद्धिकतालाई संकेत गर्दछ। पेशालाई अत्यन्त सम्मान गर्ने भट्टराईले खोज अनुसन्धानमा समेत खास रुचि राख्ने कुरा उनको खोज, आलेखहरु विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएबाट पनि थाहा पाउन सकिन्छ। समाजशास्त्रमा एमफिल उनी उमेद्वार बन्नुअघिसम्म त्रिभुवन विश्वविद्यालयको रत्नराज्य क्याम्पसमा समाजशास्त्रको उपप्राध्यापक थिइन्।

प्राध्यापन जीवनमा हुँदा समेत उनले दोस्रो जनआन्दोलनमा सक्रिय सहभागिता जनाएकी थिइन्। उनले उच्च शिक्षा पाठ्यक्रम निर्माण समिति सदस्य तथा नेकपा एमालेको प्राध्यापक इलाका कमिटीको उपाध्यक्षजस्ता विभिन्न भूमिकामा रहँदै आफ्नो नेतृत्व क्षमताको प्रमाणित गरेकै थिइन्। तथापि यस्ता भूमिकामा रहँदा कहिल्यै पनि रवीन्द्र अधिकारीकी श्रीमती वा राजन भट्टराईकी बहिनीको रुपमा स्थापित नभइ आफ्नै बलबुतामा अग्रसर रहेको पाउन सक्छौं। उनकै कति सहकर्मीले त उनी रवीन्द्रकी श्रीमती रहिछन् भन्ने अधिकारीको निधनपछि उनलाई टेलिभिजनले देखाउन थालेपछि मात्र थाहा पाएका थिए।

यी सबै विषयले के प्रमाणित गर्छ भने विद्यालाई चिनाउन कसैको टेको लगाइरहनु पर्दैन। उनी आफैंमा एक सक्षम, बौद्धिक र साहासी कमरेड हुन्। अर्थात उहाँलाई भोट माग्न भाउजूको उपमा लगाउनु पर्दैन। सूर्यलाई देखाउन लालटिन बालिरहनु उति प्रासंगिक ठहर्दैन। उनको पार्टीले उनलाई सर्वसम्मत निर्वाचन लड्न पठाएको हो। विषय र प्रसंग पनि स्पष्ट छ कि पार्टीले निकै सहज जीत हाँसिल गरेको यो क्षेत्रमा उनलाई जित्न मुस्किल छैन। तर पनि उनमा जीतको कुनै उन्माद छ, न त जनताको प्रिय नेता रवीन्द्र अधिकारीको सहानूभूतिले भोट बढाउने लालसा !

नेपाली समाजको चिरफार गर्ने धेरै खोज अनुसन्धान गरेकी यिनीलाई निकै प्रष्टसँग थाहा थियो कि चुनावी सभामा सेतो सारीमा उभिएर दुई थोपा आँसु बगाउँदा सहानुभूतिको भोट पनि दुई गुणाले बढेर जानेछ र जीतको बाटो अझ सहज हुनेछ। तर अहँ, यी त हरेक जनसभामा सहानुभूति देखाएर होइन विकास निर्माणको एजेन्डा प्रस्तुत गरेर भोट मागिरहेको देख्न सकिन्छ। भोटको लालसामा उनले न विपक्षीका विरुद्ध आरोप प्रत्यारोपमा उत्रेकी छिन्, न त विपक्षी मतदातालाई तथानाम गाली बर्साएकी छिन्। उनलाई थाहा छ, समृद्धिको यात्रामा सबैको साथ चाहिन्छ।

आज चुनावमा गरेको भाषण चुनावको रंग सकिएको हप्ता दिनपछि आफैंले भिडियो प्ले गरेर सुन्दा आफैंलाई लाज लाग्ने खालको हुनु हुँदैन भन्ने बौद्धिकता भएकी एकमात्र उमेद्वारका रुपमा उनी कास्कीमा देखिएकी छिन्। सबैलाई थाहा भएकै कुरा हो, यो १ सिटले मुलुकको राजनीतिमा खास भिन्नता ल्याउँदैन तर कास्की क्षेत्र नं. २ मा भने पक्कै फरक पार्छ। अरु उमेद्वार र तिनका नेताहरुले ‘अरु सबै खराब हुन्, त्यसैले हामीलाई मत दिनुहोस्’ भनिरहँदा उनले भने कसैलाई दुई शब्द गालीमा नखर्ची ‘मैले जितेँ भने यी यसरी निर्वाचन क्षेत्रको मुहार फेर्छु’ भन्ने हिम्मत राखेकी छिन्। अरुको खुट्टा काटेर आफू अग्लो देखिन सकिन्छ भन्ने भ्रम उनमा कत्ति पनि देखिएन।

कुरा रह्यो रवीन्द्रको सपना पूरा गर्ने विषय। रवीन्द्रले देखेको सपना उनको निजी सपना थिएन, न त कास्की क्षेत्र नं. २ को मात्र सपना। उनले राजनीति सुरु गर्दा पोखरामा अधिग्रहण गरिएको जग्गामा साँच्चिकै अन्तर्राष्टिय विमानस्थल बनाउने सपना देखे र यो पूरा हुने क्रममा छ। एउटा सच्चा नेताले जनताको सपना देख्ने हो र त्यही सपना पूरा गर्नका लागि जनताले उसलाई निर्वाचित गर्ने हो। अर्थात् रविन्द्रको सपनामा जनताले सहमति जनाएर नै उनलाई जिताएका थिए। यो उपनिर्वाचनमा जोसुकैले जिते पनि पूरा गर्ने रवीन्द्रकै सपना हो। यसमा विद्याले ‘रवीन्द्रको सपना पूरा गर्छु’ भन्दा जिब्रो टोक्नुपर्ने कोही छैन।

बागलुङमा गण्डकी प्रदेश सभा सदस्य टेकबहादुर घर्तीको मृत्युपछि उप निर्वाचन हुँदै छ। जहाँ उनको पार्टीले घर्तिको श्रीमतीलाई होइन, खिमबहादुर शाहीलाई निर्वाचनमा अगाडि सारेको छ। उनले पनि पूरा गर्ने भनेको टेकबहादुरकै सपना हो। जनताको ५ वर्षे म्यानडेटलाई कुल्चने गरी अगाडि बढ्न त्यति सहज पक्कै छैन।

विद्यालाई धर्म, संस्कृतिको विरोधीका रुपमा पनि यो निर्वाचनमा चित्रित गर्ने अर्काे थरी केही अतिवादी यो निर्वाचनमा भेटिएका छन्। उनीहरुले या त विद्यालाई चिनेकै छैनन्, होइन भने संस्कृतिको अर्थ बुझेकै छैनन्। नेपाली समाजको नाडी राम्रोसँग छामेकी विद्याले चुनाव जित्नुमात्र थियो भने सबै कुरा छाडेर विधवा भाउजूको रुपमा सेतो साडीमा चुनावमा आउँथिन् होला। तर उनी संस्कृति भनेको मानिसले समाजलाई सहज बनाउनका लागि बनाएको नियम हो भन्नेमा प्रष्ट छिन्। यो समयानुकूल परिवर्तन गर्नुपर्दछ भन्ने बुझेरै यो अभियानमा छिन्।

हिजो पिता पुर्खाका पालामा कटुवाल प्रथा थियो। के आजमा यी उमेद्वार कटुवाल प्रथाबाट नै सूचना आदनप्रदान गरिरहेका होलान् ? यी मित्रहरु आजको दिनमा आफ्नो घरमा कटुवाललाई भाग लगाउनका लागि सिदा छुट्याउँदा हुन् कि रिचार्ज कार्ड वा इसेवा खल्ती जस्ता अनलाइन पेबाट ब्यालेन्स वा डाटा लिएर सूचना लिने नयाँ संस्कृति सुरु गर्दा होलान् ?

यो निर्वाचनमा कुनै पनि उमेद्वारका विरुद्ध सबैभन्दा प्रहार भएको छ भने त्यो विद्याविरुद्ध नै भएको छ। सायद त्यसैले होला उनले ट्विट नै गरेकी छिन्, ‘आरोप लाग्दैमा गलत भन्ने हुँदैन। राजनीतिक पूर्वाग्रहले पनि आरोप लगाइन्छ। यसमा छानबिनको नेतृत्व म गर्छु। मेरो सम्पत्ति छानबिन होस्। दोषी भेटिए दण्ड भोग्न तयार छु।’ आरोप खण्डन गर्ने क्रममा उनी पनि विपक्षीका विरुद्ध विषवमन गर्दै आरोप प्रत्यारोपमा उत्रन सक्थिन्। तर आफ्नो योग्यताको प्रदर्शन गर्दै उनी पनि रविन्द्र जस्तै बौद्धिक, मिजासिलो र शितलो नेतृ बन्ने पथमा अग्रसर छिन्।

त्यसो त रवीन्द्र आफैंले पनि यी आरोपको खण्डन त्यति बेलै यस्तै शालिन ढंगले गरेकै थिए। यो सरकारको सबैभन्दा सफल मन्त्रीको रुपमा अगाडि बढिरहँदा उनको राजनैतिक भविष्य अझ उज्ज्वल देखिँदै गएको बखत उनले आरोप प्रमाणीत भए ‘राजनीतिबाट सन्यास लिने’ घोषणा गरेका थिए। आजसम्म कानेखुसी, फेसबुके गफ वा चुनावी प्रोपागान्डामा सिमित यी आरोप प्रमाणीत गरेर देखाइदिए झनै राम्रो हुन्थ्यो, खूबी हुनेहरुले। नभए फगत यस्ता निराधार आरोप लगाउनु कानुनी राजको उपहास हो।

माथि उल्लिखित यी अनेक तथ्यले प्रष्ट भाषामा के कुरा पुष्टि गरेको छ भने रवीन्द्रकी श्रीमतीका रुपमा मात्रै विद्या भट्टराईलाई भोट दिनु जरुरी छैन। यो निर्वाचनको मैदानमा उत्रिएकामध्येमा उनी नै रवीन्द्र अधिकारीको सच्चा र सक्षम उत्तराधिकारी बन्न लायककी पात्र हुन्। यस्तो ‘बोल्ड एन्ड ड्यासिङ्ग’ पात्र नै वास्तवमा कास्कीका जनताले खोजेको पात्र हो। उनी नै नेपाली नारीको मुक्तिको बाटो खन्न सक्ने र परिवर्तनलाई जस्तोसुकै कठिन मोडमा पनि काँधमा बोकेर हिड्न सक्ने विश्वासिलो साथी अर्थात ‘कमरेड’ को रुपमा स्थापित हुने देखिन्छ।

त्यसैले यो निर्वाचनमार्फत राष्ट्रिय राजनीतिमा एउटा सशक्त हस्तक्षेप यदि कास्की, गण्डकी प्रदेश र सिङ्गो देशले चाहेको हो भने भाउजू विद्याले होइन, कमरेड विद्याले जित्नु जरुरी छ।

Comments
Loading...
You might also like