Spread the love
  • 821
  •  
  •  
  •  
  •  
    821
    Shares

‘विवाहपछि व्यवसायमा झन् स्वतन्त्र भएँ’ (अन्तर्वार्ता)

0

काठमाडौं, १३ कात्तिक। सुष्मा महरा एक व्यवसायी र ब्यूटिसियन महिला हुन्। उनी लामो समयदेखि पार्लर व्यवसायमा सक्रिय छन्। काठमाडौं भित्र र बाहिर गरी ५ स्थानमा उनले पार्लर खोलेकी छन्। ५६ जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिदैंआएकी सुष्मा आफैपनि अहोरात्र खट्ने मेहनती सौन्दर्यविज्ञ हुन्।

केही समय पहिले काठमाडौं मलको विवाद चर्केको थियो। सो विवादमा उनले व्यावसायीहरुको पक्षमा नेतृत्व समेत गरेकी थिइन्। व्यवसायी एंव ब्यूटिसियन सुष्मा महारासँग अहिलेको समयमा पार्लर व्यवसाय, यसको भविष्य र काठमाडौं मलको विवादबारे लोकपाटीका नवीन पोख्रेल र पासाङ ठकुल्लाले गरेको कुराकानीको सम्पादित अंशः

व्यवसाय कस्तो चल्दै छ ?

भगवानले दिएको बेला दिएको छ भन्नुपर्छ। मलाई भगवानले राम्रो दिएको छ। नपुग्दो केही पनि छैन। काममा पनि खटेको छु। म मेरो पेशालाई एकदमै माया गर्छु। त्यही भएर पनि होला पेशाले मलाई पनि माया गरेको छ।

व्यावसायिक क्षेत्रमा प्रवेश गरेको कति भयो ?

ब्यूटिसियनको हिसाबमा हिँडेको २०५५ देखि नै हो। मैले आफ्नै व्यवसाय सुरु गरेको चाहिँ १२ वर्ष भयो।

व्यावसायिक यात्रा कसरी प्रारम्भ भयो ?

एकदमै फन्नी टाइपको छ। एसएलसी दिएपछि साथीभाइहरु कोही ल्याङ्ग्वेज पढ्न गए, कोही कम्प्युटर सिक्न गए। तर मसँग मिल्ने साथीहरु ब्यूटिपार्लर सिक्न जाने भए। उनीहरुको लहैलहैमा लागेर ब्यूटिपार्लर सिक्न गएँ। मैले सोचेकी पनि थिइनँ कि म यसरी ब्यूटिसियन बन्छु भनेर।

अविवाहित हुँदा ब्यूटिपालर सिके र विवाहपछि यो क्षेत्रमा पूर्ण रुपमा होमिएँ। कति जनाको विवाहपछि स्वतन्त्रता हट्छ। तर, म त्यो भाग्यमानीमा परे कि विवाहपछि झन् स्वतन्त्र भएँ। मेरो श्रीमानतिरको परिवारले धेरै सहयोग गर्नुभयो। तिमीलाई जे इच्छा लाग्छ गर भन्नु भयो। उहाँहरुको सहयोगले म यो क्षेत्रमा लागेको हुँ।

कत्तिको सहज छ, व्यावसायिक यात्रा ?

परिवारले सहयोग गर्‍यो भने धेरै सहज छ। परिवारको सहयोग बिना काम गर्न सहज छैन। त्यसमा पनि मेरो पेशा यस्तो छ कि, जुन पेशामा चाडवाडको समयमा बढी व्यस्त भइन्छ। यस्तो समयमा बुहारी, छोरी घरमा होस् भन्ने चाहना सबैको हुन्छ। त्यही बेलामा म व्यवसायमा व्यस्त हुन्छु। त्यसकारण फेरि पनि भन्छु, हामीले परिवारको सहयोग बिना केही गर्न सक्दैनौं।

महिला भएको कारण परिवारलाई समय दिनु पर्छ। बच्चाहरु भएकाले झन् समय दिनु पर्छ। म त त्यो भाग्यमानीमा पर्छु। जसलाई परिवारको पूर्ण रुपमा सहयोग मिलेको छ।

सफल महिला व्यवसायीको परिचय यहाँले बनाउनु भएको छ। व्यवसाय क्षेत्रमा स्थापित हुन कस्तो संघर्ष गर्नुपर्यो ?

संघर्ष बिना सफलता सम्भव छैन। हरेक चिजमा संघर्ष गर्नैपर्छ। म आफ्नो कामलाई माया गर्छु। लगनशीलताको साथ बिहानदेखि बेलुकासम्म काममा खट्छु। त्यसकारण म आज यो ठाउँमा छु। दिनप्रतिदिन मेरो पेशाले मलाई झन् धेरै चिनाइरहेको पाएको छु।

अलिकति मन खिन्न कहाँनिर हुन्छ भने, हाम्रो देशमा खुट्टा तान्ने प्रवृत्ति छ। त्यसले बीचबीचमा सपना डग्मगाउने पनि हुन्छ। बाधा अड्चन पनि आउँछन्। ती बाधा अड्चनसँग जुध्दै जाँदा झन् धेरै भिन्न खालको मज्जा आउने रहेछ।

नेपालमा व्यवसायको क्षेत्रमा महिलाहरुको उपस्थिति एकदम न्यून छ। त्यसमा पनि पार्लर भनेपछि झन् राम्रो ठान्दैनन्। तपाईंले चाहिँ पार्लर व्यवसाय किन रोज्नुभयो ?

यो चुनौतिपूर्ण काम हो। ब्यूटिसियनभन्दा मानिसहरु अहिले पनि नाक खुम्च्याउँछन्। म त झन् यो समयभन्दा पनि अघिको समयमा यो क्षेत्रमा प्रवेश गरेँ। मान्छे सकारात्मक रुपमा सोच्दैथे। पार्लर व्यवसाय गरेको ब्याकग्राउण्डको कोही पनि छैनन्, कस्तो खाले रहेछ, यस्तो व्यवासयमा किन लाग्यो जस्ता कुराहरु आउँछन्।

विदेशमा यो पेशालाई सम्मान गर्छन्। उनीहरुले यो पेशाबाट मजाले डलर कमाउँछन्। त्यसकारण नेपालमा पनि म मेरो क्षेत्रलाई हेर्ने नजर परिर्वतन गर्न चाहन्छु कि आउने पुस्ताले सम्मानका साथ म फलानो ब्यूटिसियन भन्न सकोस्। अहिले पनि मैले देखेको छु, पहिलेको भन्दा धेरै परिर्वतन भइसकेको छ।

पहिला छोरी पढ्न सकेन भने सिलाइ कटाई सिकाउ, नर्स बनाउ। तर ब्यूटिसियन नसिकाउ भन्थे। तर, अहिले शिक्षित मानिस पनि ब्यूटिसियन सिक्न थालेका छन्। आफ्नो क्षेत्र राम्रो बन्दै गएको देख्दा खुशी पनि लाग्छ।

अर्को कुरा के छ भने, भित्रि रोगका लागि डाक्टरले उपचार गर्छ नि तर बाहिरी सुन्दरताका लागि हामी नभइ हुँदैन। भित्री सुन्दरता भएर मात्र मानिस पूर्ण हुँदैन। धेरै पढे लेखेको छ तर देख्दामा नराम्रो भयो भने मानिसले राम्रो मान्दैन। त्यसकारण भित्री सुन्दरतासँग बाहिरी सुन्दरता जोड्न सके मात्र मान्छे पूर्ण हुन्छ।

बाहिरी सुन्दरता पूर्ण बनाउन हामी दिन रात खटेका हुन्छौं। चुनौति पनि छन्। चुनौतिसँगसँगै काम गर्दा छुट्टै मजा पनि छ। कहिलेकाहीँ गाली पनि खाइन्छ, त्यो स्वभाविक पनि हो।

पछिल्लो समय पार्लर सिक्नेहरुको लहर गाउँदेखि शहरसम्म छ। जुन रुपमा यस क्षेत्रप्रतिको आकर्षण बढ्दो छ, त्यसअनुरुप यस क्षेत्रको भविष्य कस्तो देख्नुहुन्छ ?

यस क्षेत्रमा राम्रो ज्ञान लिएर नयाँ टेक्नोलोजीहरुको उच्चतम प्रयोग गर्न सक्ने हो भने भविष्य राम्रो छ। तर, हामीकहाँ दुई–तीन महिनाको कोर्श सिकेर पार्लर व्यवसायमा लाग्ने चलन छ। उहाँहरुसँग राम्रो ज्ञान भएको हुँदैन, अभ्यास गरेको हुँदैन। तर व्यवसाय थाल्नु हुन्छ भने भविष्य राम्रो छैन।

अर्को कुरा, हामीकहाँ पार्लर व्यवसायीहरुको वर्गीकरण पनि गरिएको छैन। दुई–चार महिना पार्लरको कोर्श गरेको मानिस पनि ब्यूटिसियन, ६–७ वर्ष पूरानो मानिस पनि ब्यूटिसियन हुन्छ। यसले पार्लर व्यवसाय व्यवसायिक हुन सक्दैन। नीति नियमद्वारा यसलाई छुट्याइनु पर्छ। त्यसो भयो भने भविष्य राम्रो छ।

मूल कुरा के हो भने, कोर्श गरिसकेपछि अभ्यास गर्नु सबैभन्दा महत्वपूर्ण कुरा हो। अभ्यासद्वारा आफूलाई निखार्न सक्यो भने भविष्य राम्रो छ। ब्यूटि महत्वपूर्ण क्षेत्र हो। सुन्दरता सबैलाई आवश्यक हुन्छ। घरमा बस्दा होस् या पार्टीमा सरिक हुन जाँदा होस्। मानिसले आफूलाई सुन्दर देखाउन चाहन्छ। सुन्दरता निरन्तर प्रक्रिया पनि हो। ब्यूटिसियनहरुले पनि निरन्तरता दिन सक्नुपर्छ।

व्यवसायिक क्षेत्रमा महिलाहरुको उपस्थित न्यून छ। व्यावसायिक क्षेत्रमा महिलाको उपस्थिति बढाउन के गर्न सकिन्छ होला ?

कुनै पनि काम गर्नु पूर्व महिला आफू तयार हुन पर्छ। केही गर्ने चाहना उहाँहरुमा हुन पर्छ। त्यसपछि पारिवारिक सहयोग आवश्यक पर्छ। परिवारको सहयोग भयो भने काम गर्न सहज त हुन्छ नै। महिला आफूले पनि काममा खटिन सक्नु पर्छ। काम उही हुन्छ। तर, फरक ढंगबाट कसले प्रस्तुत गर्न सक्छ भन्ने कुराले महत्व राख्छ। त्यसको लागि बढी मेहेनतको आवश्यकता हुन्छ।

त्यसकारण, आफ्नो सिप र क्षमतालाई बजारमा प्रस्तुत गर्नु पर्‍यो। जटिलता आउन सक्छन्, फेस गर्न पनि सिक्न प¥यो। हिजोको समयमा खेतीपाती गर्दा पनि पुग्थ्यो, अहिले त त्यो अवस्था छैन नि।

व्यवसायी मैत्री नीति नियम भएनन् भन्ने गुनासो आइरहेको हुन्छ। यहाँको बुझाइ के छ ?

व्यवसायको मात्र के भन्नु, अहिले देशको नीति नै डामाडोल भइरहेको छ। जस्तो हामीहरु पनि बोलिरहेका छांै, करको विषयमा। कर तिर्ने विषयलाई हरेक व्यवसायीहरुले स्वीकार गरेका छन्, तिर्छन् पनि। तर, हामीले तिरेको पैसाले भोलि हामीलाई के हुन्छ ? हामीले तिरेको करको सुविधा के हो ? यी प्रश्न हामी सोध्छौं।

व्यापारीहरुले स्वास्थ्य र शिक्षासम्बन्धी माग राखेका छौं। स्वास्थ्य र शिक्षा त दिन सक्दैन भने अरु के दिन्छ त ? हात खुट्टा हुँदा लामो समयदेखि सरकारलाई कर तिरिरहेका छौँ। भोलि हात खुट्टा नचल्ने अवस्था आउँदा तिरेको करबाट फाइदा केही पनि नहुने हो भने मज्जा आउँदैन नि ।

त्यसो हो भने व्यवसायी मैत्री नीति कस्तो हुनुपर्छ ? त्यसको लागि कसले कस्तो भूमिका खेल्नु पर्छ जस्तो लाग्छ ?

हामी चाहन्छौं, प्रशासनले सही ढंगले नीति नियम ल्याओस्। टाउकोमा हम्बर बजाउने किसिमले नीति नियम ल्याइदियो भने त राम्रो भएन नि। तिमीहरु हामीलाई यो देउ हामीले तिमीहरुलाई यो दिन्छौँ भन्न त सक्नुपर्‍यो। कुनै एक नीति नियम बनाइदियो, अनि कुनै एक समूहले विरोध गर्छ, फेरि रद्द हुन्छ। त्यसको अर्थ के ? अब एक मजबुत प्रणालीअनुरुप कानून निर्माण गर्नुपर्छ भन्ने कुरा हो हाम्रो।

आफ्नो ज्वाइँ छोरा छोरीलाई नीति नियम लागू नहुने तर अरु कसैले राम्रोसँग काम गरिरहेको छ भने, त्यसको खुट्टा तान्ने हिसाबले उसलाई नीति नियम लगाउने भन्ने कुरा राम्रो हुन सक्दैन। सबैलाई लागू हुने गरी आवश्यकता अनुसार नीति नियमहरु बनेर आए राम्रो हुन्छ। अहिले सबै क्षेत्रमा हेर्ने हो भने राज्यका नीति नियमहरु डामाडोल अवस्थामा रहेको देखिन्छ।

अब प्रसंग बदलौँ, केही समय पहिला काठमाडौं मलको विवादले चर्चा पायो। खास के भएको थियो ?

काठमाडौं मल शुरु भएको १२ वर्ष पूरा भयो। मैले यहाँ व्यवसाय गरेको ११ वर्ष पूरा भयो। काठमाडौं मलका व्यवसायीहरुको संघ छ। त्यो संघमा पुरुषहरुको मात्र हावी थियो। बीचमा महिला पनि चाहियो भनेर कुरा उठेपछि त्यसबेला मैले नेतृत्व लिएको थिएँ।

तर पछि आएर के भइदियो भने, सुरुमा १५ वर्षको लागि टेण्डर पारिएको थियो। त्यसअनुरुप हामीले १५ वर्षसम्म त काम गर्न पायौं। विभिन्न बाहनामा सञ्चय कोषले उसलाई १० वर्षमा हटाइ दियो तर हामी व्यापारी त यहीँ थियौं। त्यसपछि अब सञ्चय कोषले चलाउने भनेको छ है भन्ने हल्लाहरु सुनियो। त्यही बेला फेरि संघ चुनाव हुने कुरा पनि सुनियो। चुनाव हुने कुरा भएपछि मैले मेरो जुन कार्यकाल थियो खाएँ, अब म खाँदिन भने। किन नखाने भन्ने प्रश्न पनि उठ्यो।

हामीले व्यापारीका लागि आवाज उठाउँदा ठेकेदार हुन्थ्यो। अब त ठेकेदार छैन। यो सञ्चय कोषको आफ्नै भवन हो। उसँग के नकनक गर्ने भनेर म ब्याक बसँे। त्यसपछि महिला नेतृत्व कोही भएन। पुरुषहरुले चलाइरहेका थिए। त्यही कार्यकालमा उनीहरुले सञ्चय कोषसँग मिलेमतो गरे संघ आफंैले पैसा उठायो।

यही कारणले हो विवाद चर्केको ?

होइन, अलि पछि हो। संघले पैसा उठाएपछि त्यो के गरे, कस्तो गरे केही थाहा थिएन। मैले पनि त्यो थाहा पाइन। म एक साधारण व्यापारी थिएँ। निरन्तर आफ्नो भाडा हाल्दिन्थेँ। के गरे भनेर संघको ढड्डा हेर्ने कुरा पनि भएन।

पछि फेरि टेण्डर भयो। त्यसबाट १५ वर्षका लागि शिवलक्ष्मी फुजु आउनु भयो। तर, उहाँको नाम मात्र हो। उहाँको नाममा राजु गोर्खाली आउनुभएको थियो। उहाँलाई पनि हामीले स्वागत गर्‍यौं। पछि गएर उहाँले अस्वभाविक रुपमा भाडा बढाइ दिनु भयो। त्यतिखेर भाडा तिर्न नसकेर व्यापारीहरु रोडमा पुगे। त्यसपछि हामीले अधिकारका लागि आवाज उठाउनु पर्‍यो भन्दा धेरै कुरा सुन्नमा आए। उहाँ छोड्दै हुनुहुन्छ। पैसा उठाउन सकेन भन्ने लगाएका कुराहरु आए।

पहिला सुनेअनुसार टेण्डर ६५ लाखको थियो, पछि ७५ लाखको थियो भनेर पनि सुन्नमा आयो। तर, उहाँले दुई करोड ७१ लाखको टेण्डर हालिदिनु भयो। जबकि उठ्न नसक्ने थियो। उहाँले मुढेबल लगाउँदा पनि उठाउन सक्नु भएन। उहाँ आफैँ डुब्नु भयो।

उहाँले छोडेर गएपछि बीचमा के भयो भने, एउटा नयाँ संघ आयो। त्यसमा पुराना संघका मानिसहरु पनि प्लस हुने रे। उनीहरुको आवाज के भने फेरि बिचौलिया जन्माउने र फेरि चलिरहेको भाडा उठाउने। त्यसपछि मैले आवाज उठाएँ। मैले भनेकी थिएँ बिचौलिया प्रथा अन्त्य गर, समान्तर भाडा कायम गर।

पछि के भयो ?

यही आवाज उठाएर सञ्चय कोष गयौँ। सञ्चय कोषले तपाईंहरुलाई हामीले खाली गर्न लागेका छौँ भन्यो। हामीले त्यत्रो दराज लगाएका सामान जोडेका छौं। हामीले भाडामा लिँदा त खाली कोठा मात्र थिए। हामीलाईं के दिनुहुन्छ भन्दा केही दिँदैनौ भने।

हिजो फुटपाथले आवाज उठाउँदा त हङ्कङ बजार बन्यो। हामी त सरकारलाई कर तिरेर बसेको व्यापारी हो। हामीलाई त हटाउन मिल्दैन भनेर आवाज उठाउन सुरु गर्‍यौं। व्यक्ति व्यक्तिको आवाज नसुनिने भयो। संघ थियो, रिन्यू पनि गरेको रहेनछन्। संघ जगाउनलाई सबै व्यापारी मिलेर चुनाव गर्‍यौं।

त्यतिखेर पनि मैले भनेको थिएँ। म अध्यक्ष खाँदिन। कोही अग्रज हुनुहुन्छ भने ल्याउनुहोस् भनेको थिएँ। म व्यापारी हो बोल्न चाहिँ छोड्दिँन भनेको थिएँ। अब पनि थिचोमिचो सहन हुँदैन भन्दा होइन छ महिनाको लागि भएपनि तपाईंले नेतृत्व गर्नुपर्छ भने। ठीक छ, तर छ महिनापछि चुनाव गरेर नयाँ नेतृत्व आउन पर्छ भनेको थिएँ। यसरी म नेतृत्वमा आएँ।

संस्था रिन्यू गर्नु पर्‍यो। त्यसको लागि हरहिसाब मागेँ। पहिलेका संघका मान्छेले हासो उठ्ने गरी ४५ हजारको अडिट रिर्पोट ल्याइदिनु भयो। म नबुझेको मान्छे थिइनँ। हर हिसबको खाता संघको नाममा हुन्थ्यो। कारोबार सिधा सञ्चय कोषको नाममा हुन्छ। भनेपछि त तिमीहरुले दिएको यो अडिट रिर्पोटले भोली त म फस्छु। मिल्ने हिसाब ल्याउन भनेपछि उहाँहरुले मेरो बारेमा नकारात्मक समाचार प्रकाशन गर्न लगाउनु भयो। एक जना सम्पादकको नम्बर लिएर सोधेँ। उहाँ बोल्न पनि सक्नु भएन। सत्यता भए पो मान्छे बोल्न सक्छ।

त्यो गलत अडिट रिर्पोटमा मैले हस्ताक्षर नगरेपछि मलाई नचिनेका फोन नम्बरबाट धम्की पनि आउन थाले। यतिसम्म भयो कि हिजो मेरो कम्पनीमाथि नराम्रो नजर लगाएने थिए। उनीहरुले मेरो कम्पनीको नामको दुरुपयोग गरेर मलाई सकाउन खोजे। पछि खोज्दै जाँदा अडिट रिर्पोट ल्याउने र मेरो कम्पनीको नामको दुरुपयोग गरिरहनु भएको व्यक्ति मिल्नु भएको रहेछ।

दुबै जनाले मलाई टार्गेट गर्नु भएछ यसलाई सक्काउनु पर्छ भनेर। ममाथि आक्रमण पनि गरे। प्री पलानका साथ यस्तो घटना घटाए। अधिकारका लागि आवाज उठाउँदा भएको यर्थाथ यही हो।

अहिले विवादको समाधान भएको हो?

विवाद समाधान भएको छैन। एक दिन पुनः आवाज उठ्छ। सबैले जानिसकेका छन्, त्यतिबेला ठूलो भष्टचार भएको रहेछ भनेर। सेवाको भाव राखेर संघसंस्था खोलिन्छ। नाफामूलक काम गर्न पाइँदैन भनेर लेखिएकै छ। तर, त्यतिबेला नाफामूलक काम गरियो। म अध्यक्ष भएको बेला दुई बैंकको खाता नम्बर पत्ता लगाएर ल्याउँदा धेरै कुरा थाहा भइसक्यो। अझै अरु तीन वटा बैंकमा पनि खाता छ रे। खाता नम्बर पाएको छैन।

यति भएपनि धेरै कुरा प्रष्ट हुन्छ। उहाँहरुले कारोबार गरेको छैन, खाता नम्बर छैन भन्नु भएको थियो। जब प्रत्येक संघका व्यक्तिको नाममा लाखौंको चेक गएको छ। किन गयो, कहाँ गयो ? देखाउन पर्‍यो नि। अख्तियार र सिडिओ कार्यालयमा यी विषय गइसकेका छन्। लास्ट समयमा ७५ लाखको टेण्डर थियो। तर यहाँ साढे एक करोडभन्दा बढी पैसा उठ्थ्यो। त्यो पैसा खोई ? सरकारले पनि पाएन अनि हामी व्यापारी चाहिँ जहिले पनि पिल्सिराख्ने त ?

Spread the love
  • 821
  •  
  •  
  •  
  •  
    821
    Shares
You might also like
Comments
Loading...