किन धेरै हुन्छ हाकिमको तलब ?

  • 31
    Shares
0

काठमाडौं। औसत कर्मचारीको तुलनामा कम्पनीका हाकिमको तलब धेरै हुन्छ। कुनैमा १० गुणा धेरै होला, कुनैमा सय, दुई सय वा तीन सय गुणा। बेलायती निजी अनलाइन ग्याम्बलिङ कम्पनी बेट ३६५ डिनाइज कोटेजकी हाकिमले चालु आवमा तलब सुविधा बापत ३२ करोड पाउन्ड लिइन्। उनी बेलायतको सबैभन्दा धेरै कमाउने कार्यकारी हुन्। उनको तलब २७ करोड ७० लाख पाउन्ड छ। यसबाहेक पनि उनले लाभांश पाउँछिन्। उनको तलबसँगै बेलायतमा हाकिमको तलब कति हुनुपर्छ भन्ने बहस चर्किएको छ।

अमेरिकामा ठूला कम्पनीका औसत उच्च स्तरीय कार्यकारीले आम कामदारको तुलनामा करीब सय गुणा धेरै कमाउने गरेको, जसले कार्यकारीहरूको तलबमा कर छूट दिइनु गलत भएको भन्ने सन् १९९१ मा राष्ट्रपतीय निर्वाचनको अभियानमा तत्कालीन उम्मेदवार बिल क्लिन्टनको भनाइ थियो। त्यतिबेला उनले चुनाव जिते। त्यसपछि उनले कसैले अत्यधिक तलब पाइरहेको भए त्यसमा कटौती गर्ने प्रतिज्ञा गरे। अमेरिकामा त्यसबेला कार्यकारीलाई दिइने तलबलाई खर्चका रुपमा लिइन्थ्यो। यसले गर्दा कम्पनीले कर तिर्नुपर्ने मुनाफा पनि कम हुन्थ्यो। क्लिन्टनले सो कानून परिवर्तन गरे। यद्यपि कम्पनीले हाकिमलाई आफूले चाहेको जति दिन सक्ने भए। कसैलाई १० लाख डलरभन्दा बढी तलब दिइएको रहेछ भने त्यस्तो तलब भुक्तानीलाई कर प्रयोजनको खर्च देखाउन नपाइने भयो।

यसले ठूलो प्रभाव पार्‍यो। सन् २००० मा क्लिन्टनले दोस्रो कार्यकाल पूरा गर्दा कार्यकारीको तलब औसत कर्मचारीको तुलनामा बढेर ती सय गुणाभन्दा धेरै भयो। के भएर यस्तो भयो ? यो प्रश्नको उत्तर प्राचीन ग्रीसको एउटा कथामा लुकेको छ।

मिलेटस्का दार्शनिक थेलिज ग्रीसका ७ ज्ञानी मध्ये एक हुन्। तर, उनी निकै गरीब थिए। ‘दर्शनशास्त्र त्यति धेरै महत्त्वपूर्ण हो भने थेलिज किन गरीब छन् ?’ भन्ने चुनौतीपूर्ण प्रश्न आयो। उनीसँग धनी बन्न चाहिने बुद्धि त थियो। तर, धनी नबन्नुमै उनले बुद्धिमानी ठाने। आफूलाई प्रमाणित नगरी नहुने देखेपछि भने थेलिजले कालान्तरमा धनी बनेर देखाउनु नै पर्यो भन्ने निर्णय गरे। उनी भविष्यद्रष्टा अर्थात् पनि थिए।

त्यो ज्ञानको आधारमा उनले भविष्यमा ओलिभ अर्थात् जैतुनको बाली राम्रो हुने देखेपछि उनी एक शहरमा भएका जैतुन पेलेर तेल निकाल्ने व्यापारीकहाँ गए। यस क्रममा उनले ती व्यापारीलाई केही रकम बैना दिएर जैतुन भित्र्याउने समयमा जैतुन पेल्ने कोल प्रयोग गर्ने अधिका प्राप्त गरे। र थेलिजले कोल प्रयोग नगरे चाँहि कोल मालिकले सो रकम आफैं राख्न पाउने भए। अहिले हामी जेलाई अप्शन भन्छौं त्यो अप्शनको पहिलो अभिलिखित उदाहरण हो यो। ओलिभ थोरै फल्यो भने थेलिजको अप्शन बेकार हुन्थ्यो। तर, भाग्य हो वा जोतिषशास्त्रीय ज्ञान, उनी सही साबित भए। यसबाट थेलिजले राम्रै पैसा कमाए।

हिजोआज वित्तीय बजारमा यसैगरी धेरै अप्शन किनबेच हुन्छ। अप्शन अलि धेरै जोखिमयुक्त हुन्छ। केही गरी शेयरको मूल्य किनेको अप्शनभन्दा कम भयो भने धेरै घाटा हुन्छ। तर, धेरै भयो भने चाँहि यो बेचेर राम्रै मुनाफा कमाउन सकिन्छ। स्टक अप्शनको अर्को प्रयोग पनि छ। ‘प्रिन्सिपल र एजेन्ट’को समस्या समाधान। ‘प्रिन्सिपल’सँग केही कुरा छ। यसको व्यवस्थापनका लागि उसले ‘एजेन्ट’ नियुक्त गर्छ। एक पटकलाई मानौं, कसैलाई अमेरिकी प्रविधि कम्पनी एप्पलको हाकिम बनाइयो। उसँग अब एप्पलको शेयर पनि हुन्छ।

त्यो व्यक्ति प्रिन्सिपल अर्थात् कम्पनीको मालिक मध्ये एक हुन्छ। उ एजेन्ट पनि हुन्छ। उसले अन्य शेयरधनीको लागि कम्पनीको व्यवस्थापन गर्छ। यो मान्छेले आफूहरूको हितमा काम गर्छ भनेर सबैले सो व्यक्ति (हाकिम) माथि विश्वास गर्छन्। तर, उसले हरेक दिन के के गर्छ भन्ने चाँहि कसैले पनि देख्दैन। हाकिमसँग थेलिजमा भएको गुण नहुन पनि सक्छ। उसले ज्योतिषीसँग परामर्श गर्न पनि सक्छ। कम्पनीको मुनाफा किन स्थिर छ वा घट्यो भन्नेबारे उसले सधैं अरुले पत्याउने खालको केही न केही बहाना बनाउन सक्छ।

त्यो हाकिमलाई केही वर्ष पछि एप्पलको नयाँ शेयर किन्ने मौका दिइयो भने के हुन्छ ? अब चाँहि उसले कम्पनीको शेयर मूल्य बढ्ने खालका काम गरेर लाभ लिन सक्छ। उसले आफ्नो अप्शन उपयोग गर्यो भने शेयरको मूल्य बिस्तारै घट्दै त जान्छ। तर, भाउ बढ्दै गयो भने चाँहि यसबारे कसैले पनि चासो दिँदैनन्। यस विषयमा सन् १९९० मा अर्थशास्त्रीद्वय केभिन जे मर्फी र माइकल जेन्सेनले शोधपत्र नै सार्वजनिक गरेका छन्।

‘अधिकांश पब्लिक कम्पनीमा शीर्ष कार्यकारीको तलब सुविधा कम्पनीको प्रदर्शनबाट वस्तुतः स्वतन्त्र हुन्छ,’ उनीहरूले लेखेका छन्। त्यसैले राष्ट्रपति क्लिन्टनले कार्यकारीलाई दिइने तलबमा कर छूट कटौती गर्दा प्रदर्शनमा आधारित पुरस्कारलाई भने उनले छूट दिए। क्लिन्टनका सल्लाहकार रोबर्ट रिचले यो कुराको विरोध पनि गरेका थिए। शेयर बजारमा कम्पनीको मूल्य बढेसँगै कार्यकारीको लाभांश पनि बढ्यो। यसरी औसत कामदार र कार्यकारीबीच तलबको अन्तर पनि फराकिलो हुँदै गयो।

सिद्धान्ततः सञ्चालक समितिको काम भनेको शेयरधनीका तर्फबाट कम्पनीका हाकिमसँग वार्ता गर्नु हो । तर, व्यवहारमा भने अर्को ‘प्रिन्सिपल–एजेन्ट’ समस्या छ। हाकिमले पनि सञ्चालक समितमा को को बस्ने र उनीहरुको तलब कति हुन्छ भन्ने कुरा प्रभावित पार्न सक्छ। यस्तोमा दुवैले एकअर्काका हित हेर्ने सम्भावना बढी हुन्छ। त्यसैले सञ्चालक समितिले हाकिमलाई कसरी पुरस्कृत गर्छ भन्ने कुराको निगरानी गर्न शेयरधनीलाई अर्को एजेन्ट चाहिएको छ। सो एजेन्ट कम्पनीमा प्रत्यक्ष शेयर नभएका व्यक्तिलाई बनाउन सकिन्छ।

पेन्सन कोषको माध्यमबाट अप्रत्यक्ष तवरले कम्पनीको शेयरधनी बनेकाहरुलाई नियुक्त गर्न सकिन्छ। हाकिमसँगको तलबसम्बन्धी वार्ता कठोर बनाउन यस्ता संस्थागत लगानीकर्ताले सञ्चालक समतिलाई सम्झाउन सक्छन्। यी विषयमा ठूला शेयरधनीको पनि केही नियन्त्रण हुन्छ। कार्यकारीको तलब र प्रदर्शन बीच विशुद्ध सम्बन्ध भने छ। तर, यस्तो सम्बन्ध देखिनु भने दुर्लभ हुन्छ। कार्यकारीले गरेको कामको मूल्यांकनबारे समेत फरक–फरक धारणा पाइन्छ।

सन् १९६० को दशकमा हाकिमले औसत कर्मचारीको तुलनामा २० गुणा मात्रै धेरै कमाउने भएकाले उनीहरू कामप्रति कम प्रेरित भएका हुन् त ? पक्कै पनि होइन। ठूला कम्पनीमा राम्रा निर्णयको मूल्य उच्च हुन्छ। त्यसैले पनि शीर्ष कार्यकारीहरुलाई ८ अंकको तलब सुविधा दिइएको हुन सक्छ।

जे भएपनि प्रमुख कार्यकारीहरुले थेलिजबाट केही सिक्नु पर्छ। उनीहरुसँग टन्नै पैसा कमाउने चतुर्याइँको साथमा यसो गर्नु हुन्छ कि हुन्न भन्ने बुद्धिमता पनि हुनु पर्छ। (यो समाचार आर्थिक अभियान दैनिकबाट लिएका हौं।)

Comments
Loading...
You might also like