Spread the love
  • 14.3K
  •  
  •  
  •  
  •  
    14.3K
    Shares

गौरको दर्दानाक कथा : यसरी मारिए २८ माओवादी कार्यकर्ता

0

काठमाडौं। २०६३ चैत ७ गते रौतहटको गौर बजारमा भएको नृशंस नरसंहारको सन्दर्भमा विभिन्न किसिमका परस्परविरोधी कुरा बाहिर आइरहेका छन्। सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले हत्याकाण्डको छानविन हुने बताएपछि गौर हत्याकाण्ड फेरि चर्चामा आएको छ।

त्यति मात्र होइन, भिआइपीहरु विभिन्न अभियोगमा गिरफ्तार भइरहेका बेला सरकारकै उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजनीतिक भविष्यसमेत अनिश्चयको भूमरिमा छ। गौर हत्याकाण्डका मूख्य योजनाकार मानिएका यादव अहिले संविधान संशोधनको एजेण्डा तेर्साएर सरकारसँग बार्गेनिङ गरिरहेका छन्। उनीमाथि कार्वाही हुनसक्ने अनुमान गरिएको छ।

नरसंहारको वास्तविक तथ्य के हो त – पत्रकारिताको दृष्टिकोणले समेत सत्यरतथ्य बुझ्न र घटनाको अध्ययन गरी यथार्थ विवरण प्रकाशमा ल्याउन विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको एक स्थलगत अध्ययन टोलीले चैत्र १२ र १३ गते घटनाका प्रत्यक्षदर्शी एवं सहभागीहरु तथा जिल्ला प्रहरी प्रमुख (एसपी) रामकुमार खनालसँग समेत व्यापक सोधपुछपछि प्राप्त तथ्यहरुका आधारमा तयार गरिएको संक्षिप्त घटना विवरण यसप्रकार रहेको छ।

घटनाको विवरण

रौतहट जिल्लाको गौरबजारमा भएको सो विभत्स नरसंहार २०६३ चैत्र ७ गते बिहीबार २ बजेर ५ मिनेट जाँदा शुरु भएको हो। हत्याकाण्डको शुरुवात उपेन्द्र यादवको नेतृत्वमा रहेको मधेशी जनअधिकार फोरम र नेकपा माओवादी निकट मधेशी राष्ट्रिय मुक्ति मोर्चार्का बीच एकै स्थानमा कार्यक्रम गर्ने सिलसिलामा भएको देखिन्छ। फोरमको कार्यक्रम प्रचार हुनुभन्दा पहिल्यै सो स्थानमा गर्ने भनी टुंगो लागिसकेको माओवादी निकट निषाद माझी मुक्ति मोर्चाको कार्यक्रमको सट्टामा मोर्चाले त्यस दिन कार्यक्रमको आयोजना गरेको र आन्तरिक रुपमा प्रचार समेत गरेको थाहा लाग्यो। तर सोही कार्यक्रमसँग जुधाउँदै फोरमले पनि त्यही दिन कार्यक्रम गरेको स्थलगत अध्ययनबाट बुझियो।

कार्यक्रम जुधेपछि सम्भावित भीडन्त टार्न मोर्चा पक्षले फोरमका जिल्ला अध्यक्ष अमर यादवलाई कार्यक्रम सार्न अनुरोध गरेको तर नमानेपछि समय अघिपछि पारेर शान्तिपूर्ण रुपमा कार्यक्रम गर्ने सहमति भने भएको जानकारी माओवादी पक्षबाट पाइयो। त्यहीअनुसार फोरम र मोर्चाको मञ्च करिब ६० मिटर दूरीको फरकमा बनेको पनि थियो। सहमतिअनुसार फोरमको कार्यक्रम सकिएपछि मोर्चाको कार्यक्रम गर्ने समझदारीअन्तर्गत मोर्चाको जुलुस बजार परिक्रमा गरिरहँदा बन्दूक, फट्टा, लाठी, चुपीसहितको फोरमको उत्तेजित जत्थाले अचानक मधेशी राष्ट्रिय मुक्ति मोर्चाको मञ्च तोडफोड गरेपछि स्थिति बिग्रिएको थियो।

मधेशी मुक्ति मोर्चाको जुलुस पुगेपछि फोरमको कभरमा भारतबाट झिकाइएका हतियारधारी गुण्डाहरुको जत्थाले मञ्चको दक्षिण–पश्चिमस्थित पहेंलो रंगको घरबाट अचानक पिस्टनबाट फायर गरेपछि र आफ्नो मञ्च भत्काइएको देखेपछि आक्रोशित बनेका मोर्चाका कार्यकर्ताहरुले फोरमको मञ्च तोडफोड गर्न थाले। त्यहीबीचमा वरिपरिका अन्य घरहरु र सभास्थल नजिकका पानी ट्यांकीमा समेत लुकेका फोरमका कार्यकर्ता तथा भारतीय गुण्डाहरुले स्वचालित हतियार तथा एके ४७ बाट फायरिङ्ग गरेको कुरा माओवादी निकट वाई.सी.एल.का गौर उपाध्यक्ष लक्ष्मणप्रसाद यादव (हिमाल) ले बताएका छन्।

उनका अनुसार फोरमका विन्दवासिनी साहनीले पहिलो फायर गरेका हुन्। त्यसपछि पानी टंयाकी, जिविस सभापतिको निवास र फोरमकै मञ्च अगाडिको घरबाट थ्रीनट–थ्री, एसएम्।जी पिष्टन, माउजर र ग्रिनेटहरु अन्धाधुन्दा प्रहार गरिएको रौतहटका भू्पू् जनसरकार प्रमुख विन्देश्वर यादवले बताएका छन्। मधेशी राष्ट्रिय मुक्ति मोर्चाको मञ्चलाई केन्द्रित गरी सी आकारमा घेराउ गरी आक्रमण गर्न थालिएपछि चारैतिर भागदौड र कोकोहोलो मच्चिएको थियो। त्यही दौरानमा पाँच जना मधेशी राष्ट्रिय मुक्ति मोर्चार्का कार्यकर्ताहरु घटनास्थलमै मारिए।

कहाँ–कहाँ कति मारिए ?

पुरानो राइसमिल चौरस्थित मधेशी राष्ट्रिय मुक्ति मोर्चाको मञ्च वरीपरी नै ५ जना कार्यकर्ताहरुको हत्या भयो। गोली लागी घाइते भएकाहरुलाई लाठी, फट्टा र खुकुरीद्वारा निर्मम ढंगले प्रहार गरी हत्या गरिएको वाइसीएल उपाध्यक्ष लक्ष्मण यादवको दाबी छ। उक्त घटनामा मारिएकी प्रतिमा खातुनलाई दर्जनौं फोरमका कार्यकर्ताहरुले बलात्कार गरी छट्पटाइरहेकी अवस्थामा आगो लगाई हत्या गरे। त्यसैगरी अर्को निर्मम हत्या हजमनिया बोधिमाई मन्दिरमा भएको छ। गौरबाट करिब पाँच किलोमिटरको दूरीमा रहेको बोधिमाई मन्दिरमा पूर्व सर्लाहीतर्फ भाग्दै गरेका मधेशी राष्ट्रिय मुक्ति मोर्चार्का कार्यकर्ताहरुलाई फोरमका कार्यकर्ताहरु तथा भारतीय पेशेवर हत्याराहरुले बाग्मती नदीबाट कब्जा गरेर ल्याई ‘माओवादीलाई बलि दिनुपर्छ’ भन्दै सामूहिक रुपमा एघार जनाको नृशंस हत्या गरेका छन्।

बलात्कृत भएपछि उनीहरुले भनेका थिए, ‘बरु बिहे गर, हामीलाई नमार।’ तर, उपेन्द्र यादवका कार्यकर्ताले महिलाको स्तन काटेर, बलात्कार गरेर, योनीमा लठ्ठी धुसाएर, ढुंगाले टाउकोमा हानेर, काटेर मन्दिरमा बलि चढाएर २८ जनाको बर्बर हत्या गरेका थिए।

उक्त घटनामा हत्या गरिएका रेखा परियार, उषा थापा र सरस्वती उप्रेतीलाई फोरमका कार्यकर्ताहरुले दर्जनौं पटक बलात्कार गरी गुप्ताङ्गमा बाँसका लाठी घोंचेर स्तन काटेर तड्पाई–तड्पाई जिउँदै आगो लगाएका थिए। सेतै फुलेका करीब ७० वर्षीय प्रत्यक्षदर्शी एक वृद्धाले त्यस्तो घटना आफुले जिन्दगीमा नदेखेको बताएका छन्। आक्रोश र आतंकित भावमा ती वृद्धाले बलात्कृत महिलाहरुले ‘आफूहरुलाई बिहे गर, तर नमार’ भनेर अनुनय–विनय गर्दा पनि फोरमका ती बलात्कारीहरुले उनीहरुलाई छोड्नुको सट्टा जिउँदै आगोमा लगाइएर मारेको बताए। अरुहरुलाई फट्टा, इँटा, ढुंगाले निर्मम प्रहार गरी हत्या गरिएको थियो। घटनास्थलमा रहेको गाउँलेहरुलाई खेदेर र घटनाबारे बताए मार्ने धम्कीसमेत दिइएको थियो।

त्यसैगरी अर्को घटना गौर बजारभित्रै रौतहट गेष्ट हाउस नजिक रहेको एउटा फुसको घरमा लुकी बसेका मोर्चाका कार्यकर्ताहरुलाई बाहिर थुती गोली हानेर भाला, खुकुरी, ढुङ्गा, इट्टाले कुटीकुटी मारेको कुरा घटनाबाट भाग्न सफल विन्देश्वर यादवले बताए। उनका अनुसार घरका छतछतमा बसेका फोरमका कार्यकर्ता तथा र्समर्थकहरुले भागेर लुकेका मोर्चाका कार्यकर्ताहरु बसेको ठाउँ देखाएका थिए र एक–एक गरी निर्मम ढंगले हत्या गरिएका छन्। हत्याराहरु हात–हतियारसहित आफूहरुमाथि जाइलागिरहँदा प्रहरीले मुकदर्शक भएर हेरेको उनको दाबी छ।

अर्को घटना गौरबाट करिब एक किलोमिटरको दूरीमा रहेको लक्ष्मीपुर गाउँमा भएको छ। त्यहाँ एक घरमा शरण लिएर बसेको रमाकान्त चौधरीलाई करिब १०–१५ जना फोरमका कार्यकर्ताले घरबाट निकालेर भाग्दै गर्दा लखेटी–लखेटी हत्यागरी बाँसको झाँङमा लगेर फालिदिएका थिए। नाम नबताउने शर्तमा स्थानीय एक किसानले ती अपराधीहरुले मारिसकेपछि रमाकान्तसँग भएका मोबाइल, काजगपत्र र नगद रुपैयाँसमेत लुटेर लगेको र साँझपख प्रहरीहरु आई उक्त लाश लगेको बताएका छन्।

यसैगरी नेपाली सेनाको भद्रकाली गण रहेको स्थान नजिकको शिर्शिया र मडलवाको चौरछेउ अन्य तीन जनालाई फट्टा, ढुंगा र इटा प्रहार गरी अशक्त घाइते बनाएर गहुँ बारीमा घिसारी–घिसारी मारेको निसान अहिले पनि देख्न सकिन्छ। टोली घटनास्थल पुग्दा हत्याको क्रममा मिचिएको गहुँमा रगतैरगतको टाटा र रक्तरंजित कपडा त्यहीँ थियो। अर्को एक जना मोर्चा कार्यकर्तालाई राष्ट्रिय वाणिज्य बैंकको नजिकै हत्या गरी नालामा फालिएको नाम बताउन डराउने स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।

हत्याको बर्बर शैली

मारिएकाहरु अधिकांशलाई स्वचालित हतियारले गोली हान्नुका साथै बाँसको फट्टा, ढुङ्गा–इट्टाले टाउको र मुखमा थिचेर, धारिलो हतियार प्रहार गरेर, टाउको लगायत संवेदनशील स्थानहरुमा जथाभावी घोचेर, महिलाहरुलाई बलात्कार गरी स्तन काटेर छट्पटीरहेको अवस्थामा जिउँदै आगो लगाएर हत्या गरिएको थियो।

शान्ति प्रक्रियापछि भएको यति बर्बर हत्याकाण्डको आजसम्म अनुसन्धान हुन सकेको छैन। बलत्कार प्रयासको अभियोगमा बहालवाला सभामूख गिरफ्तार पर्नु, सामूहिक हत्याको अभियोगमा पूर्वमन्त्री आलम गिरफ्तार पर्नु तर २८ जनाको सामूहिक हत्या गर्ने उपेन्द्र यादव झण्डा हल्लाउँदै सरकारमै बसिरहनुले निर्धाका लागि न्याय कसले दिन्छ ? भन्ने प्रश्न उठेको छ।

घटनाको प्रकृति हेर्दा, मारिनेहरुको पक्ष एकतर्फी हुनु र स्थानीय प्रत्यक्षदर्शीहरुको भनाइमा समेत उक्त घटना दोहोरो मुठभेड थिएन। नाम बताउन नचाहने थुप्रैजनाले टोलीलाई बताएअनुसार मधेसी राष्ट्रिय मुक्ति मोर्चार्का कार्यकर्ताहरु निःशस्त्र थिए। उनीहरुले प्रतिरोध गर्नै पाएनन्। त्यही कारण नै फोरमका सशस्त्र कार्यकर्ताहरुले ज्यान बचाउन भाग्दै गरेका निशस्त्र र आतंकित मोर्चा कार्यकर्ता तथा र्सवसाधरणहरुलाई गौरभन्दा सात आठ किलोमिटर टाढासम्म गौंडा कुरेर तथा लखेटी लखेटी हत्या गरेको पाइएको छ। त्यही क्रममा कतिपय मोर्चा कार्यकर्ताहरुले चाहिँ आफू फोरम कार्यकर्ता रहेको बताउँदै ज्यान जोगाउन सकेका थिए।

जनताको प्रतिक्रिया के छ ?

जनता अझै पनि निकै त्रसित छन्। उनीहरुले ढुक्कसँग बस्न पाएका छैनन्। माओवादीले बदला लिने हल्लाका कारण घटनाको चार–पाँच दिनसम्म पनि बजार खुल्न सकेको थिएन। तर, माओवादीले नरसंहारमा जनताको कुनै दोष नरहेको र अपराधीबाहेक अरुहरुलाई केही नहुने कुरा बताएपछि विस्तारै जनजीवन सहज हुँदै गएको पाइएको छ। टोली घटनास्थल पुग्दा बजार भरखरै खुल्न थालेको पाइयो। बजारबाट अलि टाढाका घटनास्थल वरिपरिका ५० घर परिवारका जनता अझैसम्म पनि विस्थापित छन्। उनीहरु अझै पनि हत्यारा गुण्डाहरुले रातरातमा मोटरसाइकलमा आएर गोली पड्काउने तथा धम्की दिएको बताउँछन्।

उनीहरुका अनुसार हत्यारा–गुण्डाहरुले तिमीहरु गाँउ छोडेर जाओ, माओवादीलाई यहाँबाट सिध्याउनुपर्छ, तिमीहरु गएनौं भने मर्र्छौ भन्दै थर्काउने गरेका छन्। ज्यान जाने डरले नाम नखुलाउने शर्तमा उनीहरु भन्छन्, ‘ती हत्यारा फटाहाहरु अझैं पनि यहीं वरिपरि घुमिरहेका छन्। तर, प्रहरी प्रशासनले कुनै वास्ता गर्दैन। तथापि जिल्ला प्रहरी कार्यालय गौरका एसपी रामकुमार खनाल भने त्यहाँ घटना भइसकेपछि आफू नै चार पटकसम्म गइसकेको, जनता आतंकित भएर आफूहरुसित पनि बोल्न नचाहेको दावी गर्छन्।

हाम्रो ठम्याइमा जनताको स्थिति निकै दयनीय छ। बेलैमा प्रशासनले सुरक्षाको प्रबन्ध नमिलाउने हो र माओवादी पार्टी त्यसअनुसारको वातावरण तयार नगर्ने हो भने उनीहरु गाउँ तथा माओवादी पार्टीसमेत पलायन हुने मानसिकतामा छन्। मर्नुभन्दा बहुलाउनु निको भन्ने यथार्थ लागू भएको छ उनीहरुमा त। उनीहरु मुखै फोरेर भन्न विवश भएका छन् – माओवादीको हतियार र जनसेना क्यान्टोन्मेन्टमा बस्ने, प्रहरी प्रशासनले सुरक्षा दिन नसक्ने र गुण्डाहरुसँग मिल्ने वा आफैं डराएर भाग्ने, गुण्डाहरुले दिनदहाडै सर्वसाधारणलाई मार्ने धम्की दिने, यस्तो भएपछि हामीहरु कति दिन कसरी बस्ने ?

प्रहरी प्रशासनको लाचारीपन

गौरको हत्याकाण्डमा प्रहरी निरीह र रमिते बनेको पाइएको छ। घटनामा घाइते भएका र बल्ल तल्ल बाँच्न सफल व्यक्तिहरुको भनाई अनुसार गोली चली भागाभाग हुँदा आफूहरु पुलिसको शरण माग्न जाँदा उनीहरुले सुरक्षा दिनुको सट्टा उल्टै हिजोको युद्धकै बेलाको बदला स्वरुप छोप्दै फोरमहरुलाई नै बुझाउँदै गरेको आरोप छ। उनीहरुले हतियारसहित फोरमका कार्यकर्ताहरुले मोर्चाका कार्यकर्ताहरुलाई लखेटी रहँदा कारबाही गर्नुको सट्टा उल्टै उक्साइरहेको पीडितहरुले बताएका छन्।

गौर हत्याकाण्डको जिम्मेवारी प्रहरी प्रशासनले नै लिनुर्पर्छ भन्ने प्रश्नमा एसपी रामकुमार खनाल भन्छन्, ‘हामीहरुले सुरक्षा प्रबन्ध नमिलाएको भए अझ बढी हत्या हुने थियो।’ तर, पीडितहरुका अनुसार एसपी खनाल नै फोरमहरुसँग साँठगाँठ रहेको बताउँछन्। गोली चलिरहँदा मानिसहरु मरिरहँदा अपराधीहरुलाई गिरङ्खतार गर्नुको सट्टा उल्टै नाइके उपेन्द्र यावदलाई स्कर्टिङ्ग गरी भारत पुर्याउनु र घटनास्थलमा अपराधीहरुलाई उक्साउँदै मोर्चाका कार्यकर्ताहरुलाई धकेल्दै फोरमलाई नै बुझाउने गरेको हुँदा गौरका प्रहरी निरिह र प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न रहेको स्थानीयबासी बताउँछन्। एसपी खनालले चाहिँ उपेन्द्र यादवलाई आफूले नचिनेको, नदेखेको र कहिल्यै नभेटेको दावी गरेका छन्।

पहिले फोरमले आगलागी गरेको भन्सार कार्यालयको सुरक्षार्थ खटिएका इन्स्पेक्टर धु्रव राउत असई, रामकुमार साहहरु त्यस दिन आफूहरुलाई कार्यालयहरुको विशेष सुरक्षा गर्न आदेश आएको बताउँछन्। एसपी खनाल र इन्स्पेक्टर राउत आफूहरुले त्यहाँ ठूलो दुर्घटना हुनबाट जोगाएको दाबी गर्छन्। उनका अनुसार प्रहरीहरुले संयमता नअपनाएको भए त्यहाँ अझ बढी मानिसहरु मारिन सक्थे।

नरसंहारका अभियुक्तहरु को–को ?

नरसंहारका मुख्य योजनाकार उपेन्द्र यादव र उसलाई नजिकबाट सहयोग गर्ने अपराधिक गिरोहहरु बबन सिंह, ललन सिंह, चन्द्रीका सिंह, भुषण सिंह, अजय गुप्ता, बाबुलाल साह, गौरी शंकर, गगनदेव बैठा, शम्भू साह, बलराम सिंह कु‌ंवर, गणेशमान यादवलगायतका रहेका छन्। चन्द्रीका सिंह, अजय गुप्ता, बलरामसिंह कुँवर योजनाका मुख्य नाइकेहरु भएको माओवादीहरुले बताएका छन्।

अजय गुप्ता शाही सत्ताका मेयर हुन् भने बाबुलाल, गौरीशंकर भूपू मेयर र बलरामसिंह कुँवर भ्रष्ट भूतपूर्व न्यायाधीश र शम्भू साह खुंखार मानव तस्कर भएको बताइन्छ। रौतहटको सिर्सिया, हजमनिया, गौर, भारतको सितामणी, ब्रम्हपुरी, मोतिहारी क्षेत्रहरु इन्डियनहरुको गढ मानिन्छ। रक्सीका भट्टीहरु चलाउने, गिरोहहरुलाई तालिम दिने, हातहतियार खरिद तथा सप्लाई गर्ने यिनीहरुको पेशानै भएको जनसमुदायहरु बताउँछन्।

पञ्चायत कालमा खुंखार मण्डले, तस्कर जनयुद्धको शुरुवात पछि जनकारबाहीमा परी विस्तापित भएका र माओवादी प्रतिकार समिति समूहमा संलग्न हिजोआज मधेसी फोरम नामक आपराधिक गिरोहमा यी व्यक्तिहरु संलग्न रहँदै आएका छन्। यस गिरोहमा कतिपय दलका आपराधिक व्यक्तिहरु पनि संलग्न रहेको स्थानीय माओवादीहरु बताउँछन्।

निष्कर्ष

घटना सुनियोजित देखिन्छ। किनकि हत्याकाण्डमा एकतर्फी रुपमा मोर्चाका कार्यकर्ता मात्र मारिएका छन्। मोर्चा र फोरमबीच झडप वा भीडन्त भनी अहिलेसम्म आएका समाचारहरु घटनास्थलको अध्ययनपछि साँचो मान्न सकिएन। हत्यामा भारतीय गुण्डाहरुको समेत प्रयोग भएको छ। हत्या अत्यन्तै पाशविक, जंगली, बर्बर र निर्मम छ। महिलाको स्तन काटेर, बलात्कार गरेर, योनीमा लठ्ठी धुसाएर, ढुंगाले टाउकोमा हानेर, काटेर मन्दिरमा घुमाएर अति बर्बर ढंगले मारिएको छ। पेशेवर गुण्डा हत्याराबाहेक राजनीतिक विचारमा चल्नेहरुबाट यस्तो जघन्य अपराध हुनै सक्दैन।

घटनाको स्थलगत अध्ययन र प्राप्त तथ्यहरुको आधारमा विश्लेषण गर्दा कार्यक्रमको विवादको निहुँ बनाएर यो घटना सुनियोजित देखिन्छ। फौजी तालिमप्राप्त व्यक्तिहरुबाट कहाँबाट फायर खोल्ने, मोर्चाका कार्यकर्तालाई कसरी घेरामा पार्ने भनेर पहिले नै योजना बनाएको देखिन्छ। शान्तिपूर्ण आन्दोलनमा लागेको दावी गर्ने फोरमले हतियारधारी जत्थाको प्रयोग गरी मच्चाएको गौर नरसंहारले लोकतन्त्र मास्न र संविधानसभा हुन नदिन ठूलो षड्यन्त्र भइरहेको कुरा उजागर गरेको छ।

(पत्रकारको टोलीले गरेको स्थलगत अनुगमनपछि तयार पारिएको रिपोर्टलाई आधार बनाएर त्यतिबेलाको मूल्यांकन मासिकमा दीपक खनालले समाचार लेखेका थिए।)

शान्ति प्रक्रियापछि भएको यति बर्बर हत्याकाण्डको आजसम्म अनुसन्धान हुन सकेको छैन। बलत्कार प्रयासको अभियोगमा बहालवाला सभामूख गिरफ्तार पर्नु, सामूहिक हत्याको अभियोगमा पूर्वमन्त्री आलम गिरफ्तार पर्नु तर २८ जनाको सामूहिक हत्या गर्ने उपेन्द्र यादव झण्डा हल्लाउँदै सरकारमै बसिरहनुले निर्धाका लागि न्याय कसले दिन्छ ? भन्ने प्रश्न उठेको छ।

सरकारका उपप्रधानमन्त्रीले गौर हत्याकाण्डको छानविन हुने संकेत गरेर पीडितलाई केही आशावादी बनाएका छन्। तर, सरकारमाथि विश्वास गर्न सकिने अवस्था छैन। उपेन्द्रले संविधान संशोधनको निहुँ बनाएर सरकारबाट बाहिरिने चेतावनी दिइरहेका बेला सरकारले उनलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अघि बढाउन ढिला गर्नु हुँदैन।

Spread the love
  • 14.3K
  •  
  •  
  •  
  •  
    14.3K
    Shares
You might also like
Comments
Loading...