अमेरिकी सेनाद्वारा टिकटक प्रयोगमा प्रतिबन्ध

1574125642tik
लाेकपाटी न्यूज

काठमाडौं, १६ पुस। अमेरिकी सेनाले बढ्दो रूपमा लोकप्रिय टिकटक एपको प्रयोग कार्यालय प्रयोजनमा प्रयोग हुने मोबाइल फोनमा चलाउन रोक लगाएको छ। सुरक्षाको कारण देखाउँदै चिनियाँ कम्पनी बाइट डान्सको स्वामित्व रहेको उक्त एपमाथि अमेरिकासहित विभिन्न मुलुकमा कडा निगरानी रहेको छ।

अमेरिकी सेनाकी प्रवक्ता प्रमूख सेनानी रोबिन ओचोआले अमेरिकी सञ्चारमाध्यमहरूलाई उक्त एपलाई साइबर खतराका रूपमा हेरिएको बताएकी छिन्।विश्वभरि आधा अर्ब प्रयोगकर्ता रहेका उक्त एपले प्रायः जसो फरक किसिमका छोटा भिडिओ आफैँ सम्पादन गरेर सार्वजनिक गर्न सहयोग गर्छ। कुनै गीत वा हँसाउने भिडिओमा १५ सेकेन्ड जति ओठ मिलाउँदै अभिनय गर्न र त्यसलाई अरूले हेर्न मिल्ने गरी सार्वजनिक गर्न सकिने एप युवा प्रयोगकर्ताबीच निकै लोकप्रिय छ।

एपका सबै खाता शुरूमा सबै प्रयोगकर्ताले हेर्न सक्ने खाले हुन्छन्। तर त्यसमा केही प्रतिबन्ध लगाउन सक्ने सुविधा भने प्रयोगकर्तासँग हुन्छ। सेना प्रवक्ता ओचोआका अनुसार सैन्य अधिकारीहरूलाई सरकारी स्वामित्वमा रहेका मोबाइल फोनहरूमा डिसेम्बर महिनाको तेस्रो हप्ताबाट एप प्रयोग नगर्न सुझाइएको बीबीसीले जनाएको छ।

सेनाले निजी मोबाइल फोनमा उक्त एपको प्रयोगमा रोक लगाउन नसक्ने भए पनि रक्षा मन्त्रालयले हालसालै कर्मचारीहरूका लागि निर्दे्शिका जारी गरेको छ जसमा आफूले डाउनलोड गर्ने एपहरूबाट सावधान रहन भनिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्