काठमाडौं। गण्डकी प्रदेशमा पर्ने लमजुङ जिल्लाको उत्तरकन्या–१, को घलेगाउँ समुद्र सतहबाट २१ सय मिटर उचाइमा छ। काठमाडौंबाट १ सय ७५ किलोमिटर र तनहुँको डुम्रेबाट ४२ किमी, सदरमुकाम बेसीशहरबाट २७ किमी पश्चिम–उत्तर दूरीमा अवस्थित सार्क राष्ट्र पर्यटकीय गाउँ हो ‘घलेगाउँ’। १ सय १५ घरधुरी रहेको घलेगाउँमा एकघर बाहुन, २४ घर दलित र बाँकी सबै गुरुङ छन्।
चौबिसे राज्यकालमा घले राजाले यस ठाउँमा शासन गरेका थिए। तिनै राजाको नामबाट यस गाउँको नाम घले गाउँ राखिएको हो। साथै उनै राजाको सम्मान स्वरूप गाउँमा घले राजाको मूर्ति समेत बनाइएको छ। वि.सं. २०५७ सालदेखि यस गाउँलाई ग्रामीण पर्यटकीय होमस्टे गाउँको रुपमा स्थापना गरिएको हो। घलेगाउँबाट माछापुच्छे, अन्नपूर्ण, हिमालचुली, मनास्लु, लमजुङ, बौद्ध लगायतका हिमश्रृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ।
करिब असी जति घरमा पाहुना राख्ने आवश्यक पूर्वाधारको विकास गरिएको छ। दुईदेखि आठ जनासम्म एउटै घरमा बास गराउने व्यवस्था मिलाइएको छ। एकरातमा करिब ३ सय पाहुनालाई घलेगाउँले खुवाउन र सुताउने क्षमता राख्छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने यो गाउँ करिब सातसय वर्ष पुरानो मानिन्छ। लमजुङको सदरमुकाम बेसीशहरबाट कच्ची मोटरबाटोको यात्रासँगै करिब साढे तीन घण्टामा घलेगाउँ पुगिन्छ।
परम्परागत गुरुङ संस्कृति, घाँटु, सोरठी, सेर्गा लगायतको नाचले स्वागत गरिने सो गाउँ वरिपरि नमूना चियाबगान, भेडीगोठ, भ्यूटावर, उत्तरकन्या मन्दिर, पिकनिक पार्क त्यहाँ अवलोकन गर्ने आकर्षक स्थान हुन्। यहाँका होमस्टेमा पाहुनालाई स्थानीय भाषा र संस्कृतिअनुसार स्वागत गरिन्छ। आधा एक घण्टा जति नृत्यले पर्यटकलाई मनोरञ्जन दिएपछि बासका लागि कोठामा लगिन्छ।
परालका गुन्द्रीमाथि गाउँमै बुनेका राडी र गलैंचामा पलेटी मारेर पारिवारिक वातावरणमा खानपिन गर्दा साँच्चै रमाइलो अनुभूति हुन्छ। अंगेनाको वरिपरि लहरै पाहुनालाई बसाएर रोजेको परिकार पकाइदिने र बातमार्दै त्यसको स्वादले कसको मन आनन्दित नहोला। स्थानीय मस्र्याङ्दी नदीको माछा, भेडीगोठका भेडा, च्याङ्ग्रा, खसी, लोकल कुखुराको मासु, भेडा र माछाको सुकुटी, कोदोको घरैमा उत्पादित रक्सीको स्वाद्ले पाहुनाको मन हलुङ्गो हुन्छ। करिब चारघण्टे मोटरको उकालोबाटो छिचोलेर घलेगाउँ पुग्ने पाहुनाको मन निकै थकित हुन्छ। सो थकान छिनभरमै मेटाउने घलेगाउँबासीसँग अजीवको बुटी छ।
घरमै पालेका भेडा, च्याङ्ग्रा, लोकल कुखुरा, खसी, हाँसको मासु त छँदैछ। घर–घरमै माहुरीको घार छ। सो घारबाट तत्कालै निकालिएका ताजा महको स्वाद्। अंगेना वरिपरि बसाएर स्थानीय मह औलाले चाट्ने काइदा अझ गजबको। हिमश्रृङ्खलाको काखैमा अवस्थित घलेगाउँमा चिसो हुनेहुनाले दाउराको अंगेना वरिपरि पाहुनालाई बसाएर बातमार्ने पारिवारिक वातावरणले मन औधी रमाउँछ। घरमै पालेका लोकल कुखुरा र भेडाको व्यापार अधिक छ। ताजा महको व्यापार अझ राम्रो छ । पाहुनाहरुले मनभरको स्वाद लिने र आवश्यक लाग्दा किनेर घर लानमिल्ने प्रबन्ध छ।
गाउँमै बसेर मासिक ४० देखि ५० हजार रुपैयाँ आम्दानी गर्ने घलेगाउँका बासिन्दा आर्थिक रुपले तङ्ग्रिदै गएका छन्। शुरुमा होमस्टेको प्रचारप्रसारको कमीले छिटपुट आन्तरिक पर्यटकले मात्र खर्चको जोहो नचल्दा गाउँलेलाई चिन्तित बनाएको थियो। प्रचारप्रसारपछि घलेगाउँ अहिले देशविदेशमा परिचित भएको छ। आन्तरिकदेखि बाह्य गरी दैनिक करिब दुईसय पचासदेखि तीनसयसम्म पर्यटक घलेगाउँ पुग्ने गर्छन्। तीमध्ये ३० प्रतिशत विदेशी पाहुना आउने गरेको गाउँलेको भनाइ छ।
चारैतिर बाटोले घेरिएको थुम्कोमा घलेगाउँ अवस्थित छ। गाउँलेहरु एकाविहान उठेर सामूहिक रुपमा बाटेघाटोमा झाडुलिएर सरसफाईमा जुट्छन्। पाहुनाहरु सुतेकै अवस्थामा सरसफाई सकिसक्छन् गाउँलेले। चिसोका कारण प्रायः पाहुनाहरु विहान छ बजेतिर उठेर प्राकृतिक मनोरम दृश्यको अवलोकन गर्छन्। पाहुनाहरुका लागि घरघरमै पक्की शौचालय र बाथरुम स्थापना गरिएका छन् । खानेपानीको धारा जडान छन्। पाहुनालाई तातो र चिसो पानीको प्रबन्ध आवश्यकताअनुसार मिलाइन्छ। ढुंगाको गराले बनेका घरहरुको छानामा टिनर सिलेट प्रयोग गरिएका छन्। निकै आकर्षक शैलीमा निर्माण गरिएका स–साना घरहरु छन्।
निकै उचाइमा हिमश्रृङ्खलाको काखमा अवस्थित घलेगाउँको झ्यालबाटै मनोरम सेताम्य हिमालको टाकुरा देखिन्छ। लाग्छ, प्रत्यक्ष हिमाललाई स्पर्श गरिरहेका छौं। नजिकका झाडीमा चिरविर चराहरुको चिरविराहटले त झन प्रकृतिसँग लुटपुटिएको अभास हुन्छ। गाउँको वरिपरि मनमोहक दृश्यावलोकनका प्राकृतिक हरियाली पहाड, फाँट र गहिँरा खोल्साखोल्सीहरु। हरिया चियाबगान, भ्यूटावर, भेडीगोठ, उत्तरकन्या मन्दिर, पोखरी र अन्य सुन्दर प्राकृतिक छटाले मन आनन्दित हुन्छ।
माछापुच्छ्रे, अन्नपूर्ण, हिमालचुली, मनास्लु, लमजुङ, बौद्ध लगायतका हिमश्रङ्खलाको मनोरम दृश्यले मोहित त्यहाँ आगन्तुक पाहुनाहरु विहानभरी क्यामेरा, मोबोइल, आइफोनमा आफ्ना तस्विर कैद गरेरै बिताउँछन्। गाउँ नजिकै डाडाँमा भ्यूटावर निर्माण गरिएको छ। त्यहाँबाट सूर्योदय र सुर्यास्तको राम्रो अवलोकन गर्न सकिन्छ। गाउँबाट हेर्दा चारैतिर देखिने मानववस्तीहरु र साँझको अँधेरीमा देखिने झिलमिल उपत्यका र नागबेली हुँदै बगेको मस्र्याङ्दी नदीको दृश्यले सबैलाई लोभ्याउँछ।
शहरी कोलाहल, धुलोधुँवाले उकुसमुकुस भएका पाहुनालाई घलेगाउँको शीतलताले सञ्जीवनी दिएको आभास हुन्छ। ग्रामीण पर्यटकीयस्थलको रुपमा सार्क राष्ट्रमै परिचित घलेगाउँलाई हनिमुन भिलेजको रुपमा स्थापित गर्ने तयारी गाउँलेहरुले गरेका छन्।