काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी भएको छ। बुधबार बिहान प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग टेलिफोन गरी नयाँ वर्ष २०२० को शुभकामना साटासाट गरेका छन्।
उनीहरूबीच दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन २०१९ सफल रहेको कुराकानी भएको प्रधानमन्त्री ओलीले ट्विट गरी उल्लेख गरेका छन्। प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मोदीले प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिप्रति चासो राखेका थिए।
‘मोदीले आफ्नो स्वास्थ्यबारे राख्नुभएको चासो र शुभेच्छाका लागि प्रधानमन्त्रील धन्यवाद दिनु भएको छ’, थापाले भने।टेलिफोन संवादका क्रममा दुई देशबीचको सम्बन्धलाई नयॉ उचाईमा पुर्याउन बाँकी समस्या २०२० भित्र समाधान गर्ने सहमति पनि भएको थापाले बताए।
‘दुई नेताबीच सीमा विवादसहितका बाँकी रहेका समस्या सन् २०२० मा समाधान गर्ने सहमति भएको छ’, थापाले भने, ‘बाँकी समाधान गर्दै सम्बन्धलाई अझै उचाईमा पुर्याउन सन् २०२० सफल रहने पनि उहाँहरूले विश्वास व्यक्त गर्नुभएको छ।’
प्रधानमन्त्री ओलीले मोदीलाई पुनः नेपाल भ्रमणको लागि आग्रह पनि गरेका छन्।