बेनी-जोमसोम सडकका मजदुर आन्दोलित

beni
लाेकपाटी न्यूज

बेनी, १६ पुस। बेनी–जोमसोम सडकका मजदुरहरु आन्दोलित भएका छन्। राष्ट्रिय गौरबको आयोजना बेनी–जोमसोम–कोरला सडकमा काम गर्ने मजदुरहरुले लामो सयमदेखि पारिश्रमिक नपाएपछि आन्दोलित भएका हुन्।मजदुरहरुले तलबको माग गर्दै बुधवार जिल्ला प्रशासन कार्यालय म्याग्दी अगाडि प्यालेकार्डसहित शान्तिपूर्ण धर्नामा बसेका हुन्।

बेनी जोमसोम सडक खण्ड अन्र्तगत गलेश्वर देखि तातोपानी सम्मको सडक स्तरउन्नतीको ठेक्का लिएको ठेकेदार कम्पनी शर्मा एण्ड युनाइटेडले सडकको स्तरउन्नतीमा खटिएका मजदुरहरको करिव सवा करोड रुपैयाँ तलब भुक्तानी गर्न बाँकी रहेको मजदुरहरुले बताएका छन्। पटक-पटक माग गर्दा पनि नदिएपछि आन्दोलनमा उत्रिनु परेको नेपाल ट्रेड युनियन म्याग्दीका महासचिव अर्जुन रानाले बताए। उनका अनुसार विगत ६ महिनादेखि मजदुरहरुले पारिश्रमिक पाउन सकेका छैनन्। कम्पनीले एक करोड १२ लाख पचास हजार रुपैयाँ तलब भुक्तानी गर्न बाँकी रहेको मजदुरहरुले बताएका छन्।

मजदुरहरुले तलबको माग गर्दै मंगलबार तिप्ल्याङस्थित कम्पनीको साइड अफिसमा तालाबन्दी गरी नारावाजी समेत गरेका थिए। पटक -पटक तलब दिने आश्वासन पाए पनि तलब नपाएपछि आफूहरु आन्दोलित हुनुपरेको कुमबहादुर बुढाले बताए। ६ महिनादेखि तलब नपाएको उनले गुनासो गरे। दैनिक मजदुरी गरेर परिवार पाल्ने गरेको बताउँदै बुढा मगरले भने, लामो समयसम्म तलब नपाउँदा घरखर्ची चलाउन धौधौ भएको छ।’ तलब नपाएपछि खाना बस्नका लागि निकै समस्या छ उनले भने।

घरखर्ची चलाउन लागेको ऋण तिर्न समस्या भएको रोल्पाबाट मजदुर काम गर्न आएकी दिलकुमारी वुढाले भनिन्। बच्चासहित धर्नामा बसेकी बुढाले भनिन्, ‘काम गरेको पारिश्रमिक पाउन पनि आन्दोलन गर्नुपर्ने बाध्यता आयो।’ मजदुरहरुलाई पारिश्रमिक दिलाउन प्रशासनले पहल गरेको प्रमूख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए। ठेकेदार कम्पनीका प्रतिनिधि र आयोजना प्रमूखसँग मजदुरको समस्याका वारेमा पटक-पटक छलफल भएपनि समाधान गर्न समय लागेको उनले बताए। अब केही दिन भित्रै मजदुरले पारिश्रमिक पाउने उनले बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्