काठमाडौं। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बुधवार नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। ४३ औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाल विद्यार्थी सङ्घ नेपाल इन्जिनियरिङ कलेज परिवारको आयोजनामा रक्तदान भएको हो।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो। नेपाल इन्जिनियरिङ कलेज विद्यार्थी कल्याण शाखाका प्रमुख एवं कलेजका एसोसियट प्रोफेसर सङ्कल्प पोखरेलले रगतको अभावलाई केही मात्रामा भए पनि समाधानका लागि खुल्ला रक्तदान कार्यक्रम गरेको जनाए।
कार्यक्रम व्यवस्थापन संयोजक आशिस कैनीका अनुसार कार्यक्रममा कलेजका प्रोफेसर, कर्मचारी, शिक्षकका साथै अन्य सर्वसाधारणले पनि रक्तदान गरेका थिए। कार्यक्रमको क्रममा सरसफाइ कार्यक्रम पनि भएको थियो। विद्यार्थीले कलेजका विभिन्न ठाउँहरुमा सरसफाइ गर्नुका साथै २० ठाउँहरुमा डस्टविन पनि राखेका थिए।
कार्यक्रमको उद्घाटन नेपाली काँग्रेस भक्तपुरका सभापति दर्लभ थापाले गरेका थिए। कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णलाल भडेल, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापालगायतको उपस्थिति रहेको थियो।