सुर्खेत, १६ पुस । सुर्खेतको पञ्चपुरी नगरपालिका ८ स्थित चेनेरीताल जंगलमा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका कार्यकर्ता र प्रहरीबीच दोहोरो ‘फायरिङ’ भएको छ। चन्द नेकपाका नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि बुधबार दिउँसो तीन राउन्ड फायर गरिएपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रमूख एवं प्रहरी उपरीक्षक दिल्लीराज पन्तले चन्द नेकपा र प्रहरीबीच दोहोरो फायरिङ भएको पुष्टि गरे। चन्द नेकपाका जिल्ला नेता शाही घरमा आएको सूचनाका आधारमा प्रहरी उनलाई पक्राउ गर्न गएको थियो ।प्रहरी उपरीक्षक पन्तले शाहीको घरमा नपुग्दै जंगलमा प्रहरीमाथि आक्रमणको प्रयास गरिएको बताए।
शाहीलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय बाबियाचौरबाट पेस्तोलसहित दुई जना प्रहरी सादा पोसाकमा खटाइएको थियो। ‘प्रहरीलाई देख्नेबित्तिकै ८–१० जनाको संख्यामा रहेका विप्लवका कार्यकर्ताले फायरिङ गरे। हाम्रो तर्फबाट दुई जना मात्रै भएकाले पक्राउ गर्न सकेनौं’–इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमूख ज्ञानबहादुर खत्रीले भने–‘अहिले थप प्रहरी परिचालन गरेर जंगल क्षेत्रमा उनीहरुको खोजी भइरहेको छ ।’ रासस