चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको इतिहास

cultural revolution-MAIN-PHOTO
लाेकपाटी न्यूज

पार्टीभित्रको प्रतिक्रान्तिकारी शक्तिका विरुद्ध कठोर वैचारिक र संगठनात्मक प्रतिरोधका आँधीमय १० वर्षलाई विश्व कम्युनिष्ट आन्दोलनमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिका रुपमा चिनिन्छ। चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको नेतृत्वमा सन् १९६६ देखि १९७६ सम्म चलेको क्रान्ति सांस्कृतिक क्रान्तिका रुपमा प्रख्यात छ। सांस्कृतिक क्रान्ति कम्युनिष्ट पार्टीभित्र घुसेर बसेका तथा सत्तामा पुगेपछि क्रान्तिकारी चरित्र त्यागेका नेता–कार्यकर्ताविरुद्धको विद्रोहको द्योतक हो।

कम्युनिस्ट पार्टीले सत्ता हासिल गरेपछि पुँजीवादको पुनस्र्थापनाका विरूद्धमा सञ्चालित यो क्रान्ति कम्युनिस्ट पार्टीभित्रको मार्क्सवाद र पूँजीवादपन्थीहरुबीचको खुल्ला निर्मम, तीब्र र भीषण सङ्घर्षको इतिहास हो। चिनियाँ कम्युनिस्ट पार्टीको मुख्यालयमा पूँजीवादी शक्तिका पक्षधरहरूको बहुमत भएपछि स्वयं माओले ‘पार्टी मुख्यालयमाथि वम वर्षाउ’ भने। सन् १९७६ मा माओको निधन हुँदा बित्तिकै चीनमा प्रतिक्रान्ति भएपछि सर्वहारा सांस्कृतिक क्रान्तिका चार जना सेनानीहरूलाई तेङस्याओपिङहरूले कडा सजायको भागिदार बनाए।

सन् १९५६ मा निकिता ख्रुश्चोवको नेतृत्वमा सोभियत सङ्घमा पूँजीवादको पुनस्र्थापना गरिएको थियो। ख्रुश्चोवले स्टालिनमाथि वैचारिक हमला गर्दै शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्त अघि सारेका थिए। त्यसको प्रभाव समकालीन विश्व कम्युनिष्ट आन्दोलनमा पनि सघन रुपमा पर्न थाल्यो। चिनियाँ कम्युनिष्ट पार्टीभित्र पनि ख्रुश्चोवको विचार शक्तिशाली बन्दै थियो। ल्युसाओचिले ‘बिरालो कालो होस् वा सेतो, यसको मूख्य काम मुसा मार्नु हो’ भन्दै आर्थिक विकासका दृष्टिले जुन व्यवस्था राम्रो हुन्छ, आफूहरु त्यसैको पक्षधर भएको मत अघि सारे। यी सबै परिघटनालाई नजिकबाट नियालेका माओले सन् १९५६ मै सांस्कृतिक क्रान्ति गर्न चाहन्थे। तर, पार्टीभित्र अल्पमतमा परेका कारण त्यो सम्भव भएन।

चिनियाँ कम्युनिष्ट पार्टीभित्र ख्रुश्चोवको खुला वकालत गर्न थालेपछि रक्षामन्त्री पेङतेह हुईलाई पार्टीले पदबाट बर्खास्त गरेको थियो। त्यसै दौरानमा स्वयं माओले पनि राष्ट्रपति पदबाट राजीनामा दिएका थिए। ल्युसाओचि राष्ट्रपति भएका थिए। पेङ तेह हुइको बर्खास्तीलाई दक्षिणपन्थीहरूले अत्यन्त ठूलो मुद्दा बनाए। त्यस सिलसिलामा दक्षिणपन्थीहरूले पहिले कला, साहित्य, शिक्षा लगायतका क्षेत्रमा समेत आफ्नो वैचारिक प्रभुत्व कायम गरेर क्रान्तिकारीहरूलाई आक्रमण गर्ने नीति अपनाए। यसरी आफ्नो जनमत तयार पार्ने नीतिअन्तर्गत दक्षिणपन्थीहरूले सन् १९६१ मा हाई चुई पदबाट बरखास्त गरियो भन्ने नाटकको प्रदर्शन गरे। सर्वप्रथम बेजिङमा रिहल्सन गरिएको सो नाटक बेजिङका उप मियर बुहानले लेखेका थिए। सो नाटकमा माओलाई बादशाह बताइएको थियो। र एउटा बादशाहले हाइचुईलाई पदबाट बर्खास्त गरेको घटना उल्लेख गरेर पेङ तेहहुइलाई हाइजुइको सिम्बोल बनाइएको थियो। यो नाटकको कारण पार्टीमा गम्भीर विवादको सुत्रपात भयो। पार्टीले नाटकको परिभाषा लगाउन र तथ्य पत्ता लगाउन भनेर एउटा आयोग बनायो। सो आयोगको अध्यक्षमा पेङ चेन नियुक्त भएका थिए।

उनी बेजिड्ड नगर प्रमुख र सो नाटकका समर्थक थिए। सो आयोगले १९६६ मा एउटा प्रतिवेदन पार्टीलाई बुझायो। सो प्रतिवेदनमा वास्तविक तथ्य र उद्देश्यलाई बंगाएर प्रस्तुत गरिएको थियो। प्रतिवेदन बाहिर आएपछि विवादले झन उग्र रूप लियो। अबको वादविाद पार्टी घेराभन्दा बाहिर गयो। असन्तुष्टहरूले सो नाटकका विरूद्धमा हेन्डविल, पर्चा, भित्ते लेखन र पोस्टरहरू बनाएर संशोधनवादका विरूद्धमा प्रतिरोध गर्न थाले। विश्व विद्यालय, विद्यालय प्राविधिक शिक्षालय मात्र होइन प्रशासनिक र विकासे कार्यालयहरू समेत सैद्धान्तिक राजनीतिक बहसका केन्द्र बन्न थाले। कैयौं शैक्षिक संस्थाहरू बन्द र आम हड्तालका केन्द्र बन्न गए। जनसाधारणले समेत खुल्ला रूपमा आफ्ना विचारहरू प्रकट गर्न थाले।

त्यस दौरानमा केही बुद्धिजीवी, पुराना पुँजीपति तथा डाक्टर इञ्जिनियरको ठूलो तप्का लम्बे छलाङ मात्र होइन, माओको क्रान्तिकारी मार्क्सवादी–लेनिनवादी लाइनको विरूद्धमा खडा भयो। बहस विशेषतः नाटककै विषयमा केन्द्रित भयो। माओको राजनीतिक लाइनका पक्षधर युयाओ बेन युनले हाई चुई पदबाट बर्खास्त गरियो भन्ने नाटकको भण्डाफोर गरेर एउटा लेख लेखे। त्यो लेखले दक्षिणपन्थीहरूको मंथिगलमा भयानक हलचल मच्चाएको थियो। यो लेख १९६५ मा साङ्घाइको प्रकाशन गृहबाट प्रकाशन भएको थियो किनभने बेजिङको सम्पूर्ण पार्टी संयन्त्रको कमाण्ड दक्षिणपन्थीहरूको हातमा थियो।

सन् १९६६ मा चीनको कम्युनिस्ट पार्टीले माओको नेतृत्वमा पुँजीवादको पुनस्र्थापनाको खतरा तथा संशोधनवादी लाइनका विरूद्धमा व्यापक रूपले सङ्घर्ष उठाउन र त्यसका पक्षमा जनमत तयार पार्न भनेर त्यस वर्षको अगस्तमा सर्वहारा सांस्कृतिक क्रान्तिको घोषणा गर्‍यो। पार्टीले १६ सुत्रीय घोषणापत्र जारी गर्दै पुँजीपति वर्ग सत्ताबाट फ्याँकिए पनि तिनीहरूले जनताका पुराना विचार, पुरानो संस्कृति र पुराना चलन भन्ने पिछडिएको चेतनास्तरलाई उपयोग गरेर पुँजीवादको पुनर्स्थापनामा जोड लगाउँछन्।

त्यसैले सत्तामा रहेका पुँजीवादी बाटो समातेका तत्वहरूलाई पराजित गर्नु, प्रतिक्रियावादी चिन्तन प्रणाली बोकेका शैक्षिक अधिकारीहरूको आलोचना गर्नु, सबै खाले शोषक र प्रतिक्रियावादी विचारधाराका विरूद्ध संघर्ष गर्न, शिक्षा, साहित्य, कला र संस्कृतिलाई समाजवादीकरण गर्नु, समाजवादी आर्थिक, सामाजिक आधार भूमिसित मेल नखाने सम्पूर्ण अधिरचना बदल्नु। थोरै संख्यामा रहेका अतिप्रतिक्रियावादी पुँजीवादी दक्षिणपन्थीहरू र सबै संशोधनवादीहरूलाई नियन्त्रण गर्ने काममा पार्टीको क्रान्तिकारी तागतलाई एकजुट बनाउनु नै थियो। त्यस क्रममा पार्टीले पार्टीभित्रका पुँजीवादी बाटो समातेका सत्ताधारीहरूलाई हटाउने कुरामा प्रधान जोड दिने फैसला गर्‍यो।

इतिहासका निर्माता जनता हुन्। राजनीतिमा हारजीतको फैसला गर्ने तागत बहुसंख्यक जनतामा हुन्छ भन्ने विश्वास माओलाई थियो। मेहनतकश जनतालाई जागृत र सैद्धान्तिक रूपमा लेस बनाएर मात्र पुँजीवादको पुनस्र्थापनालाई रोक्न सकिन्छ भन्ने उद्देश्यले माओको नेतृत्वमा सर्वहारा सांस्कृतिक क्रान्ति अगाडि बढेको थियो। पुँजीवादी दृष्टिकोण बोकेका पार्टीका उच्च तहका पदाधिकारीका विरूद्ध जनताले खुल्ला र कडा आलोचना गरे। पार्टी मुख्यालयको यो कार्यमा असहयोग भयो। त्यसकारण माओत्सेतुङले हेडक्वाटरमाथि वम वर्षाउ भने। सर्वहारा सांस्कृतिक क्रान्तिलाई अगाडि बढाउन भटाभट लालरक्षकहरू गठन हुँदै गए। लालरक्षकहरूले तुफानको गतिमा आफ्नो अभियान अगाडि बढाउँदा कैयौं अधिकारी जनकार्वाही र बरर्खास्तीमा परे। ल्युसाओचिले लालरक्षकहरूका सम्पूर्ण समितिहरूलाई अवैद्य घोषणा गरे। तर लाल रक्षकहरूको अभियान थप तेज गतिले अगाडि बढ्यो।

लालरक्षकको भूमिकाको प्रश्नलाई लिएर कम्युनिस्ट पार्टीभित्र माओ–त्सेतुङ र ल्यूशाओचीका बीचको मतभेदले अत्यन्त उग्र रूप लियो। ल्युसाओचि र देङस्याओपिङले आफ्नो दक्षिणपन्थी तथा संशोधनवादी लाइनलाई अगाडि बढाई रहे। सन् १९६८ अक्टुवरमा चिनियाँ कम्युनिस्ट पार्टीको आठौं केन्द्रीय समितिको बाह्रौं पूर्ण बैठकले ल्युसाओचि र देङस्याओपिङलाई पार्टी र सरकारका सबै जिम्मेवारी र पदीय दायित्वबाट हटाउने निर्णय गर्‍यो। सन् १९६७ को अन्त्यसम्ममा सम्पूर्ण चीनमा क्रान्तिकारी जनसमितिहरू गठन गरिसकिएको थियो। ती समितिहरू सेना, क्रान्तिकारी कार्यकर्ता तथा मजदुर वर्गीय एकतामा आधारित थिए। शिक्षण संस्था, कृषि उद्योग, ठूला उद्योग लगायतका सम्पूर्ण तहमा त्यस प्रकारका समितिहरू स्थापना गरिएका थिए।

सामाजिक वर्ग सङ्घर्ष, उत्पादनका लागि सङ्घर्ष र वैज्ञानिक प्रयोग आदि क्षेत्रमा समाजवाद निर्माण प्रक्रियाका निम्ति सङ्घर्ष गर्दै सलहको गतिमा लालरक्षकहरू अगाडि बढेका थिए। कार्य सम्पादनका क्रममा उपस्थित समस्याहरूलाई सुझाव, आलोचना र रूपान्तरणको विधिबाट समाधान गर्ने गरियो। सर्वहारा सांस्कृतिक क्रान्तिको दौरानमा नयाँ पिँढीबाट क्रान्तिकारी योद्दाहरू नेतृत्वदायी भूमिकामा अगाडि आए, त्यसमा कमरेड चिङचाङ चाओ, कमरेड बाँङहुङ वेन, कमरेड याओ वेन युआन र कमरेड च्याङचिङ (माओ पत्नी) मुख्य छन्। तिनीहरूले कमरेड माओको निर्देशन र सल्लाह बमोजिम अत्यन्त क्रान्तिकारी जोस र उत्साहका साथ काम गरे।

सर्वहारा सांस्कृतिक क्रान्तिको समयमा कृषि र उद्योग, गाउँ र शहर तथा बौद्धिक श्रम र शारीरिक श्रमका बीचमा रहेको विभेदलाई न्यूनिकरण गर्ने प्रयत्न गरिएको थियो। सार्वजनिक स्थलहरूमा बुर्जुवा वा पुँजीवादी पार्टी मुख्यालयमाथि वमवार्ड गर, प्रतिक्रियावादीहरूका विरूद्ध विद्रोह गर्नु न्यायोचित छ, लगायतका नाराहरू लेखिएका हुन्थे। विद्यालय र विश्व विद्यालयका प्रध्यापक, शिक्षक र विद्यार्थीहरूले सैद्धान्तिक अध्ययनमा समय लगाए त्यसपछि कारखाना, उद्योग र कृषिका फर्महरूमा गई किसान मजदुरसित उत्पादन कार्यमा सहभागिता जनाउने र सीप आर्जन गर्ने गर्दथे। सांस्कृतिक क्रान्तिको कालमा कैयौं क्षेत्रहरूमा केही उग्रज्यादती र उपद्रहहरू पनि भएका थिए। पार्टीमा सेनाको भूमिका बढेको थियो।

२६ मार्च १९६७ मा ३५ जना प्रमुख व्यक्तिहरूलाई जनमुक्ति सेनाको सहयोगमा लालरक्षकहरूले गिरफ्तार गरेका थिए। १८ सिप्टेम्बर १९६६ मा पेकिङमा एउटा विशाल जनसभाको आयोजना गरियो, जुन सभामा ल्युसाओचीको राजनीतिक लाइनको मात्र आलोचना भएन, उनीमाथि व्यक्तिगत रूपमा पनि लान्छनाहरू लगाइयो। चिनियाँ ख्रुश्चेवको उपनाम दिइयो। आफ्नो अभियानका दौरान सांस्कृतिक क्रान्तिका एकजना अगुवा चेनपौताले सशस्त्र प्रतिरोध पनि गरेका थिए। पछि माओको पहलकदमीमा उनलाई विशेष जिम्मेवारीबाट मुक्त गरिएको थियो।

केही कमजोरीहरूका बाबजुद सर्वहारा सांस्कृतिक क्रान्तिको लक्ष्य र स्पीरिट सही थियो। सन् १९६९ अप्रेल १ देखि २४ सम्म चिनियाँ कम्युनिस्ट पार्टीको नवौं महाधिवेशन बेजिङमा सम्पन्न भएको थियो। त्यो एउटा गरमागर्मी बहसको महाधिवेशनले सर्वहारा सांस्कृतिक क्रान्तिको सकारात्मक मूल्याङ्कन गर्दै त्यसको स्पीरिटलाई जोडदार रूपमा पक्रने निर्णय गर्‍यो। नवौं महाधिवेशनको राजनीतिक प्रतिवेदन पार्टी केन्द्रको तर्फबाट लिनपियाओले प्रस्तुत गरेका थिए। सो प्रतिवेदनमा ल्युसाओचिको कडा आलोचना थियो। त्यतिबेला लिनपियाओ माओका दाहिने हात हुन् भन्ने महसुस हुन्थ्यो। १९७३ को २४ अगस्त देखि २८ सम्म वेजिङमा नै पार्टीको दशौं महाधिवेशन भयो। सो महाधिवेशनमा पार्टी केन्द्रको तर्फबाट चाउएनलाइले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे। त्यसमा लिनपियाओको षडयन्त्रकारी भूमिकाको तीब्र आलोचना थियो।

दशौं महाधिवेशनले लिनपियाओको षडयन्त्रकारी भूमिकाको आलोचना मात्र गरेन। महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई निरन्तरता दिने निर्णय समेत गरेको थियो। तर, सर्वहारा सांस्कृतिक क्रान्तिकै कालमा पार्टी र सरकारको जिम्मेवार पदबाट फालिएका ल्युसाओची र देङस्याओपिङलाई पुनः पार्टी र सरकारमा पुनर्स्थापना गर्ने निर्णय गर्‍यो। वास्तविक अर्थमा ल्युसाओची र देङस्याओपिङलाई पुनर्स्थापना गर्ने काममा प्रधानमन्त्री चाउएनलाइको मुख्य पहलकदमी रहेको थियो। चिनियाँ कम्युनिस्ट आन्दोलनको इतिहासमा चाउएनलाइले वामपन्थी र दक्षिणपन्थी राजनीतिक लाइनका प्रश्नमा चल्ने अन्तरसङ्घर्षमा मध्यपन्थी भूमिका निर्वाह गरेको आरोप लाग्ने गरेको छ।

महाधिवेशनमा दक्षिणपन्थीहरूको पुनर्स्थापनाको प्रश्नलाई लिएर सर्वहारा सांस्कृतिक क्रान्तिका सेनानी चिङचाङचाओ, च्याङचिङ, वाङ हुङ वेन, याओ वेन युआन आदिले कडा विरोध गरेका थिए। १९७६ को जनवरी महिनामा चाउएनलाइको देहान्त भयो। शोकसभामा देङस्याओपिङले माओ विचारधाराका विरूद्धमा भाषण गरे। त्यसपछि ७ अप्रिलमा बसेको पार्टीको पोलिटव्यूरो बैठकले देङस्याओपिङलाई सरकार र पार्टीका सम्पूर्ण पदहरूबाट हटाउने निर्णय गर्‍यो। बैठकले हुवाको फङलाई पार्टीको प्रथम उपाध्यक्ष र सरकारको प्रधानमन्त्री बनाउने निर्णय गर्‍याे।

१९७६ कै सेप्टेम्बर ९ मा माओको निधन भयो। माओको निधन भएको एक महिना पनि बित्न नपाउँदै चीनमा प्रतिक्रान्ति भयो। सरकार र पार्टी दक्षिणपन्थी शक्तिको कब्जामा गयो। सर्वहारा सांस्कृतिक क्रान्तिका सेनानीहरूमा चिङचाङ चाओ, च्याङचिङ, वाङहुङ वेन, माओ बेन युआनजस्ता व्यक्तित्वहरूलाई पक्रेर कारवासको सजाय दिइयो। सांस्कृतिक क्रान्ति पक्षधर कार्यकर्ताहरूलाई व्यापक रूपमा धरपकड गरियो। सांस्कृतिक क्रान्तिको अन्तिमतिर पार्टीको प्रथम उपाध्यक्ष र प्रधानमन्त्री बनेका हुवाको फेङ पनि देङस्याओपिङको पक्षमा उभिए। २५ जनवरी १९८१ मा अदालतले च्याङचिङ र च्याङ चुन चियाओलाई आजीवन कैद, वाड्डहुङ वेनलाई जन्मकैद र माओ वेन यु आनलाई २० वर्ष कैदको सजाय सुनायो।

सन् १९६६ देखि १९७६ सम्मको दश वर्ष चीनमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको काल रह्यो। यो कम्युनिस्ट पार्टीभित्र घुसेका पुँजीवादी तत्वहरूका विरूद्धको सङ्घर्षको इतिहास हो। नेपालको माओवादी आन्दोलनले पनि समाजवादी रुपान्तरणका लागि चीनको सांस्कृतिक क्रान्तिलाई प्रस्थानविन्दु मानेको थियो। एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा हालको चिनियाँ व्यवस्था समाजवादी व्यवस्था भएको निष्कर्ष निकाले पनि सांस्कृतिक क्रान्तिको समीक्षाबारे नेकपाको दस्तावेज मौन छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्