काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। नेकपाबाट राष्ट्रियसभाका लागि उम्मेदवारको चयन गर्न सचिवालय बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। बिहीबार राति नटुंगिएको बैठक शुक्रबार बिहान ८ः३० बजे पुःन सुरु भएको सल्लाहकार थापाले बताए।
बिहीबारको बैठकमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्भावित उम्मेदवारको सूची बैठकमा पेस गरेका थिए । त्यसपछि अन्य नेताहरूले आआफ्ना सूची पेस गर्दा ४० देखि ५० जनाको नाम छलफलमा रहेको स्रोतले बतायो। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ताको कार्यक्रम छ। सबै क्षेत्रमा जित निश्चित देखिएको नेकपाभित्र उम्मेदवार बन्न र बनाउन दौडधुप चलेको छ।
राष्ट्रियसभामा रिक्त १९ मध्ये १८ सिटका लागि माघ ९ गने निर्वाचन हुँदै छ। राष्ट्रपतिबाट मनोनित हुने एक पदमा सरकारले पछि सिफारिस गर्नेछ। प्रदेश २ मा राजपासँग चुनावी तालमेल गरेको नेकपाले १६ पदमा उम्मेदवारी दिनेछ। राजपाले २ सिटमा उम्मेदवार पाउनेछ।
दुईवर्षे कार्यकाल सकिएका अर्थमन्त्री डा. युवराज खतिवडासहित बलराम बाँस्कोटा र कालीबहादुर मल्लले पुनः उम्मेदवार बन्न ‘लबिङ’ गरेको स्रोतले जनाएको छ । सचिवालयका नेताहरू भने उम्मेदवार दोहोर्याउने पक्षमा रहेका छैनन् ।