मार्तडी। मौसममा आएको परिवर्तनसँगै सुदूरपश्चिमका अधिकांश उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ। वर्षासँगै सुदूरपश्चिमका बाजुरासहित अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुला जिल्लामा हिमपातपछि चिसो बढेको छ।
बाजुराका गौमुल, हिमाली, स्वामीकार्तिक खप्तड छेडेदह गाउँपालिका र बडीमालिका नगरपालिकालगायतका क्षेत्रमा हिमपात भएको स्थानीयवासीले बताएका छन्।
पूर्वी उत्तरी भेगका चार स्थानीय तहमध्ये हिमाली गाउँपालिकामा रहेका विच्छ्याँ, रुगिन, बूढीनन्दा नगरपालिकाको कोल्टी, पाण्डुसैन र बडीमालिका नगरपालिका र बूढीनन्दा नगरपालिकामा बीचमा पर्ने पोरखे लेकमा बाक्लो हिमपात भएको छ।
पोरखे लेकमा बाक्लो हिमपात भएको बडीमालिका नगरपालिका–७ का स्थानीय धनलाल पाध्यायले बताए। यस्तै गौमुल गाउँपालिकाको दहकोट र मानाकोटमा समेत बाक्लो हिमपात भएको सोही गाउँपालिका–१ का वडाध्यक्ष बलबहादुर रोकायाले जानकारी दिनुभयो ।
हिमपातले चिसो बढेसँगै बस्तुभाउ स्याहारमा समेत समस्या भएको छ। गोठमा गाईभैँसी र भेँडापाठा चराउन पुगेका स्थानीय कृषकलाई समेत सामान पुर्याउन नसकिएको रोकायाले बताए। सिँचाइ नभएका क्षेत्रमा वर्षा र हिमपातले भने किसान खुशी भएका छन् ।
लेकाली भेगका ठाउँमा चिसोबाट बच्न सतर्कता अपनाउन निमित्त प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले आग्रह गरे। पूर्वी क्षेत्रका चार स्थानीय तह र तल्लो क्षेत्रका गौमूल गाउँपालिकालगायतका क्षेत्रका विद्यालय हिमपातका कारण बन्द गरिएको छ।
वर्षा र हिमपातका कारण विद्यालयले सञ्चालन गर्दै आएका परीक्षा प्रभावित भएको मालिका नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक शुभराज पाध्याले बताए।
राजमार्ग अबरुद्ध
पश्चिमी वायुका कारण गएरातिदेखि डडेल्धुरामा निरन्तर बर्षा भइरहेको छ। निरन्तरको बर्षासँगै परेको हिमपातका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।
भिमदत्त राजमार्ग अन्र्तगत साहुखर्क र हगुल्टेलेकमा एक फिट जति हिउँ जमेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। अहिले पनि ति स्थानहरुमा हिमपात भईरहेको छ।
हिमपातका कारण डडेल्धुराको भिमदत्त राजमार्ग र दशरथचन्द राजमार्ग अवरुद्ध भएका छन् । दशरथ चन्द राजमार्गको अनार खोलीमा पनि भारी हिमपात भएको छ।