काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा सदस्य उम्मेदवारको टुंगो लगाएको छ। शुक्रबार बसेको नेकपा सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका तर्फबाट १६ उम्मेदवारको टुंगो लगाएको हो।
राष्ट्रियसभा निर्वाचनमा नेकपाले आफ्न शिर्ष नेताहरुलाई समेत उम्मेदवार बनाएको छ। पार्टी सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई गण्डक प्रदेशबाट उम्मेदार बनाएको छ भने, नेकपाका स्थायी समिति बेदुराम भुसाललाई प्रदेश ३ बाट राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ। श्रेष्ठले सुरुमा आफू राष्ट्रिय सभामा जान अनिच्छुक रहेको सार्वजनिक प्रतिक्रिया दिएका भएपनि हाल आएर भने उम्मेदवार बनेका हुन्।
नेकपा सचिवालय सदस्य वामदेव गौतमलाई पनि राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बन्न प्रस्ताव गरेपनि उनले अनिच्छा देखाएको एक नेताले बताएका छन्। बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका गौतमले भने राष्ट्रियसभा उम्मेदवार बन्न अनिच्छा देखाएका बताइएको छ।
अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओलीले उनलाई राष्ट्रियसभामा आउन प्रस्ताव गरेको भएपनि उनले राष्ट्रिय सभामा जाँदैमा प्रधानमन्त्री बन्ने बाटो खुला नहुने भन्दै चाहना नदेखाएको ती नेताले बताएका छन्। ‘अध्यक्षद्वयले वामदेव कमरेडलाई उम्मेदवार बन्नुस् भनेर प्रस्ताव गर्नुभयो। तर उहाँले सर्त राख्नुभयो– संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउने भएमात्रै जान्छु, नत्र जाँदिन,’ सचिवालयका ती नेताले भने, ‘त्यसपछि अध्यक्ष ओलीले यो सम्भव छैन भन्ने जवाफ दिनुभयो।’
गौतमले प्रधानमन्त्री बन्नेबाटो खुला हुने अवस्थामा मात्रै सांसद हुने निकटस्थसँग बताउँदै आएका छन्। तर, राष्ट्रियसभाका सांसद प्रधानमन्त्री बन्न नपाउने संवैधानिक प्रावधान छैन। उनले यसअघि पटक–पटक उपनिर्वाचनबाट सांसद बन्ने चाहना राखेपनि माहोल प्रतिकूल हुँदा पछि हटेका थिए।
उनी डोल्पा र काठमाडौँ क्षेत्रनम्बर ७ बाट उपनिर्वाचन लड्ने तयारीमा रहेको भएपनि माहोल प्रतिकूल बनेको थियो। यसो त कास्की क्षेत्र नम्बर २ बाट समेत उनले चुनाव लड्ने चाहना राखेपनि त्यो पूरा हुन सकेको थिएन। यता प्रदेश २ मा नेकपाले राजपासँग तालमेलको सहमति गरिसकेको छ। आगामी माघ ९ गते राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ।