इरान अमेरिका तनाव बढ्यो

Iraq
लाेकपाटी न्यूज

एजेन्सी। इराकका प्रधानमन्त्री अदील अब्दुल महदीले शुक्रबार अमेरिकाले बगदादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई आक्रमण गरी इरानका फोर्स कमाण्डर र केही इराकी सुरक्षाकर्मीको हत्या गरेकोमा निन्दा गरेका छन्। उक्त कार्य गलत भएको उनले जनाएका छन्।

बगदादस्थित अमेरिकी दूतावासले आफ्ना त्यहाँ रहेका नागरिकलाई तत्काल इराक छोड्न आग्रह गरेको छ। यता इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनीले अमेरिकासँग इरानी सेनाका कमाण्डर जर्नेल कासिम सुलेमानीको हत्याको बदला लिने बताएका छन्। नेता खामेनीले अमेरिकाविरुद्धको लडाइँ जारी रहने पनि बताएका छन्।

इरानी सेनाका उच्च अधिकारी अमेरिकी सेनाको हातबाट मारिएपछि आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रतिक्रिया दिँदै खामेनीले भने, ‘सबै साथीहरु, र सबै दुस्मनहरुलाई पनि थाहा छ प्रतिरोधको यात्रा जारी रहनेछ। र मुजाहीद्दीनलाई एउटा निश्चित विजयले पर्खिरहेको छ।’

साथै नेता खामेनीले सोलेमानीको सहिद हुने सपना पूरा भएको बताए। उनले भने, ‘धेरै वर्षदेखिको सहिद हुने उनको सपना पूरा भएकोछ। अन्ततः भगवानले उनलाई सर्वोच्च ठाउँमा पर्याएका छन्।’ खामेनीले सुलेमानीको मृत्युमा इरानमा तीन दिन राष्ट्रिय शोक मनाइने पनि घोषणा गरेका छन्। यसअघि इरानका विदेश मन्त्री मोहम्मद जावेद जरिफले पनि अमेरिकाले आफ्नो दुष्ट र मूर्खतापूर्ण कामको नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए।

अमेरिकाले आफूविरुद्ध आक्रमणको योजना बनाएको भन्दै सुलेमानीमाथि कारबाही गरेको बताएको छ। तर मध्यपूर्वमा इस्लामिक स्टेट(आईएस) विरुद्धको लडाइँमा कासिम सुलेमानीको प्रमुख भूमिका रहेको सीएनएनका पत्रकार निक प्याटन वाल्सको विश्लेषण छ।

उनका अनुसार आईएसको गतिविधि रोक्न सुलेमानी र इरानको प्रमुख भूमिका रहेको छ। सुलेमानीले अग्रपंक्तिमा रहेर आईएसविरुद्ध लडेको पनि पत्रकार वाल्सको विश्लेषण रहेको छ। उनका गतिविधिको प्रशंसा वा आलोचना जे गरे पनि पछिल्लो एक दशकमा सुलेमानी मध्यपूर्वका प्रभावकारी व्यक्तित्व रहेका वाल्सको बुझाइ छ।

सुलेमानी मारिएसँगै फेरि एक पटक तेहरान र वासिंगटनबीच टकरावको स्थिति सिर्जना भएको छ। बढ्दो तनावलाई लिएर अमेरिकाले इराकमा रहेका आफ्ना नागरिकलाई फिर्ता हुन आग्रह गरेको छ। शुक्रबार इराकको बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी हवाई आक्रमणमा इरानी सेनाका कमाण्डर जर्नेल कासिम सुलेमानी, इराकी विद्रोही नेता अबु अल महदी मुहान्दिससँगै केही व्यक्ति मारिएका छन्।

मंगलबार बग्दादमा रहेको अमेरिकी दूतावासमा इराकको पपुलर मोबिलाइजेसन फोर्स(पीएमएफ) का समर्थकले आक्रमण गरेपछि अमेरिकाले जवाफी कारबाही गरेको हो। इराकका प्रधानमन्त्री अदिल अब्दुल महदीले पनि अमेरिकी आक्रमणको कडा निन्दा गरेका छन्। अमेरिकाले त्यसको गम्भीर परिणाम भोग्नुपर्ने पनि उनले बताए।

मध्यपूर्वमा बढ्दो टकरावलाई लिएर चीनले पनि प्रतिक्रिया दिएको छ। चीनले मध्यपूर्वमा शान्ति वहालका लागि सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्