काठमाडौं। जापानले फेरि नर्सिङ केयर गिभरका लागि नेपालमा भाषा परीक्षा सञ्चालन गर्ने भएको छ। यअसघि एक चरणमा परीक्षा सञ्चालन गरिसकेको जापानले जनवरी र मार्चमा गरी दुई चरणमा केयर गिभरका लागि भाषा परीक्षा सञ्चालन गर्न लागेको हो।
जनवरीमा १ हजार र मार्चमा १ हजार ३ सय जनाले परीक्षामा सहभागी हुन पाउनेछन्। जापान फाउन्डेसनले परीक्षामा सहभागी हुन चाहनासँग आवेदन माग गरेको छ। जनवरी ७, ८, १४, १५, १६, २१, २२, २३, २८ र २९ तारिखमा परीक्षा सञ्चालन हुनेछ।
मार्चमा ३, ४, ५, ९, १०, ११, १२, १५, १६, १७, १८ र १९ तारिखमा पनि परीक्षाको मिति तोकिएको छ। जापानले यसअघि कात्तिक सञ्चालन गरेको भाषा परीक्षामा ५६ जना नेपाली उत्तीर्ण भएका थिए। तर उनीहरु मध्ये कतिले सीप परीक्षा पास गरे भन्ने जानकारी दिइएको छैन।
यो पटक पनि परीक्षा शुल्क २ हजार ५ सय तोकिएको छ। परीक्षा कम्प्युटरमा आधारित हुनेछ। युनिभर्सल ल्याग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट डिल्लीबजारमा परीक्षा केन्द्र तोकिएको छ।
स्त्रिmप्ट, भुक्याबलरी, कन्भेक्सनल एन्ड एक्स्प्रेसन, राइटिङ टाइप र कम्प्युटरमा टाइपिङ स्किलमा आधारित भएर परीक्षा हुनेछ। २५० पूर्णाङ्कको परीक्षामा २ सय अंक आएर उत्तीर्ण गराइने सूचनामा उल्लेख छ। परीक्षामा आवेदन दिन नेपाली नागरिकता, राहदानी वा सवारी चालक अनुमतिपत्र आवश्यक पर्नेछ।
परीक्षामा सहभागी हुन जापानी भाषामा ए टू लेभल आवश्यक पर्नेछ। दैनिक जीवनमा आवश्यक पर्ने कामका लागि सहजै भाषा बुझ्ने र बोल्ने क्षमता पनि न्युनतम् योग्यताका रुपमा छ।