काठमाडौं। अनेरास्ववियूले केन्द्रीय कमिटीको एकता टुंग्याएपछि असन्तुष्ट समूहले अन्यायपूर्ण एकता अस्वीकार्य हुने बताएका छन्। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकतापछि भातृ विद्यार्थी संगठन पनि एक भएका थिए।
लामो समयको अन्यौलतापछि शुक्रबार अनेरास्ववियूले भागबन्डाका आधारमा एकता टुंग्याएको थियो। संगठनमा विधि, पद्धति, क्रियाशीलता र क्षमतावानलाई पूर्वाग्रही ढंगले पाखा लगाउँदै गरिएको एकता आफूहरूलाई अस्वीकार्य हुने असन्तुष्ट समूहले बताएका छन्।
सह संयोजकले अखिल (क्रान्तिकारी)को तर्फबाट अन्यायपूर्ण, एकलौटी र चरम गुटिया मानसिकताका आधारमा नाम समावेश गरेको असन्तुष्ट समुहको आरोप छ। उनीहरूले अन्यायपूर्ण एकता सच्याउन पनि माग गरेका छन्।