काठमाडौँ। चर्चित लोक तथा दोहोरी गायक/गायिकाहरूको स्वर रहेको ‘चुईगम भर्सेस पराग’ बोलको गीत सार्वजनिक गरिएको छ। हिजो (शनिवार) रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गरेर उक्त गीतलाई राष्ट्रिय सभाकी सदस्य तथा चर्चित गायिका कोमल वली र रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले संयुक्त रूपमा विमोचन गरेका हुन्।
उक्त गीतमा लय तथा शब्द सिर्जना राजकुमार बानियाँको रहेको छ भने गीतको निर्माता भने रमेश धरेल हुन्। गीतमा प्रीति आले, राजकुमार बानियाँ, रविन लामिछाने र टिका सानुको स्वर रहेको छ। गीत जलेश्वरी म्युजिकले बजारमा ल्याएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेकी सांसद कोमल वलीले गीतका रचनाकार बानियाँलाई यो गीतले चर्चाको शिखरमा पुर्याउने विश्वास व्यक्त गरिन्। उनले भनिन्,‘उहाँ एक दशकदेखि यो क्षेत्रमा हुनुहुन्छ, उहाँले गीत–सङ्गीतमा निरन्तरता दिनुभएको छ। उहाँ सङ्घर्षशील गायक हो। गाउँघरका दुःख र पीडाका कुरा गीतमार्फत बाहिर ल्याउँदै आउनुभएको छ। यो खुसीको कुरा हो।’
‘शून्य भयो गाउँ र घर, गर्नै छाडे खेती’ बोलको गीत आफूले राजकुमार बानियाँ र पशुपति शर्मासँगै गाएको स्मरण गर्दै त्यो गीत पनि धेरै राम्रो बनेको बताइन्। उनले भनिन्,‘यो गीतले राजकुमार भाइको साङ्गीतिक यात्राको उचाइमा पुर्याउन मद्दत गर्नेछ।’
कार्यक्रममा विशेष अतिथि पत्रकार ऋषि धमलाले नेपाली समाजमा लोक भाका र लोकदोहोरीको महत्त्व विशेष रहेको सुनाए। उनले भने,‘अहिले लोकदोहोरीको ठुलो क्रेज छ। यो गीत राम्रो बनेको छ।’ उनले गीतमा सृजनशीलता देखिएको सुनाउँदै गीत सफल हुने विश्वास दिलाए। कार्यक्रममा उक्त गीतमा स्वर रहेकी गायिका प्रीति आलेले गीत सन्देशमूलक रहेको बताउँदै गीतलाई माया गरिदिन आग्रह गरिन्।
त्यस्तै, गायक रविन लामिछानेले स्वागत मन्तव्य राखेका थिए भने गायिका टिका सानुले पनि आफ्नो धारणा राखेकी थिइन्। उनले गीत राम्रो बनेको भन्दै माया गरिदिन दर्शक तथा श्रोतासमक्ष आग्रह गरिन्। कानुन व्यवसायीसमेत रहेका निर्माता रमेश धरेलले गीतलाई दर्शक तथा श्रोताले माया गरिदिनेमा आफूहरू विश्वस्त रहेको बताए। धरेलले उक्त गीतबाट हुने आथिृक लाभ सामाजिक कार्यमा खर्चिने पनि घोषणा गरे।
शब्द रचनाकार तथा गायक बानियाँले चुईगम र पराग सेवन स्वास्थ्यको लागि हानिकारक रहेको सुनाउँदै उक्त गीतमार्फत आफूहरूले चुईगम र पराग नखाऔँ भनेर सन्देश दिन खोजेको सुनाए। उनले भने,‘गीत राम्रो बनेको छ। सबैले माया गरिदिनुहुनेछ भन्नेमा आशावादी छौँ।’ बानियाँले यसअघि पनि दर्जनौँ गीतहरू ल्याइसकेका छन्। उनका अधिकांश गीतहरू गाउँघरका कथा बोक्ने सन्देशमूलक रहेका छन्।