काठमाडौं। नेपाली कांग्रेसको असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुले आज दिउँसो पार्टी कार्यालय सानेपामा भेला हुँदैछन्। सभापति शेरबहादुर देउवाले पार्टीमा एकपक्षीय रूपमा निर्णय गरेको निष्कर्षसहित दबाब दिन असतुष्ट पक्षले पार्टीका जिल्ला सभापतिहरूको भेला बोलाएको हो।
भेलामा सहभागी हुन विभिन्न जिल्लाका कांग्रेस सभापतिहरु काठमाडौँ पुगिसकेका छन्। सभापति देउवाले एकलौटी ढंगले पेलेर जान खोजेकोले जिल्ला सभापतिहरुसँग छलफल गरेर आगामी रणनीति बनाउने पौडेल समूहको तयारी छ।
१४औँ महाधिवेशनको विषयलाई लिएर पार्टीभित्र असमझदारी बढेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधरको बहिस्कारबीच कांग्रेस केन्द्रीय समितिले महाधिवेशनका मिति तोक्ने लगायतका महत्वपूर्ण निर्णय गरेपछि दुवै समूह सभापति शेरबहादुर देउवाविरुद्ध एक जुट भएर लाग्ने निष्कर्षमा पुगेका हन्।
सभापति देउवाले गत पुस ११ गते बहुमतको बलमा केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको कार्यतालिका तोक्ने, विधानका दफा निलम्बन गर्ने, विभागको संख्या थप्ने र तरुण दलको म्याद बढाउने निर्णय गरेपछि पौडेल-सिटौला पक्ष विरोधमा उत्रिएका हुन्। कांग्रेसले १४औँ महाविधेशन अर्को वर्ष फागुन पहिलो हप्तामा गर्ने, पार्टीका विभागलाई २८ बाट ४१ पुर्याउने, तरुणदलको कार्यकाल थप्ने लगायका निर्णय लिएको थियो।
इतिहासमै पहिलोपटक बहुमतबाट महाधिवेशनको कार्यतालिका तोक्दै विधान निलम्बन गरेर गलत नजिर बसाएको उनीहरूको आरोप छ। पुस ११ गते देउवाले गराएको निर्णय सच्याउनुपर्ने माग पौडेल-सिटौला पक्षको छ। त्यही निर्णयविरुद्ध दबाब दिन उनीहरूले जिल्ला सभापतिहरूको भेला डाकेका हुन्। पौडेल र सिटौला पक्षमा ४० भन्दा बढी जिल्लाका पार्टी सभापति छन्। उनीहरूले गर्ने निर्णयले देउवालाई ठूलो दबाब पर्ने असन्तुष्ट पक्षको दाबी छ।