काठमाडौं। आज (सोमबार) देशभरजसो सामान्यतया मौसम सफा रहने मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम र पूर्वका एक/दुइ स्थानमा भने हल्का वर्षाको सम्भावना छ। केही स्थानबाहेक आज मुलुकका धेरै ठाउँमा घाम लाग्ने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्।
आज बिहान १.६ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको तापक्रम दिउँसो बढेर १६ डिग्रीसम्म पुग्ने छ। तर आज बेलुका फेरि नेपालको पश्चिमी क्षेत्रबाट पश्चिमी न्यून चापीय प्रणाली भित्रिने भएकाले मौसममा प्रभाव पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमका क्षेत्रमा बेलुकादेखि मौसम बदली हुने छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव मंगलबारदेखि पश्चिम हुँदै मध्य र पूर्वी क्षेत्रमा पर्ने जनाइएको छ। ‘आज बेलुकी पश्चिमबाट पुनः पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्ने देखिन्छ,’ मौसमविद् पोखरेलले भनिन्, ‘यो यसअघिको जस्तो शक्तिशाली त देखिएको छैन तर देशका उच्च पहाडी र हिमाली भेगमा हिमपात गराउने सम्भावना छ।’
साथै पश्चिमका केही स्थानमा वर्षासमेत गराउने सम्भावना रहेको उनले बताइन्। ‘मध्य र तराई क्षेत्रमा भने वर्षा हुने देखिन्न,’ उनले भनिन्, ‘तर चिसो सबै ठाउँमा बढ्ने सम्भावना छ।’ हिमपात भने पश्चिमदेखि पूर्वसम्मैका उच्च पहाडी तथा हिमाली भेगमा हुने सम्भावना रहेको उनले बताइन्। पश्चिमी वायुकै कारण केही दिनदेखि हिमपात र वर्षाका कारण कष्टकर भएको जनजीवन आइतबारदेखि केही सामान्य भएको थियो।