काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई दिनुपर्ने धारणा राखेकी छिन्। आइतबार राति ८ः०० बजे प्राइम टाइम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा धमलासँग कुरा गर्दै नेतृ कोइरालाले यस्तो कुरा बताएकी हुन्।
उनले भनिन्, ‘नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा मिचिएको कुरा छ, यसको बारेमा झगडा र गाली गरेर वा पुत्ला जलाएर समस्याको समाधान हुँदैन। यसका लागि दुवै पक्षबीच वार्ता गर्नुपर्छ। नेपाल सरकारको तर्फबाट जुन पहल हुनुपर्दथ्यो, त्यो भएको छैन। कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई लिजमा दिनुपर्थ्यो।’
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–बंगलादेशबीचको समस्या समाधान कुशलतापूर्वक गरेको सुनाइन्। उनले भनिन्, ‘भारतसँग नेपालले यी भूमि फिर्ता गराउन सक्दैन। त्यसैले नेपालले पनि भारत र चीनसँग कुनै ठाउँको जमिन लिएर हुन्छ भने समस्याको समाधान गर्नुपर्छ। हाम्रो लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतलाई लिजमा दिने र उनीहरुको जमिन हामीले लिने (साटासाट) गरेर जानुपर्छ।’
उनले अहिले कांग्रेसको भारतसँगको सम्बन्ध बिग्रेको टिप्पणी गरिन्। उनले भनिन्, ‘भारतसँग राम्रो सम्बन्ध बनाउनुपर्छ भनेर हिँड्ने मान्छे मै हुँ। हाम्रो पार्टीमा भारतसँग मिलाउने व्यक्ति पनि मै हुँ। तर पार्टीले मलाई कुनै जिम्मेवारी दिएन।’
उनले पार्टी सभापति शेरबहादुर देउवा असफल सभापति भएको पनि आरोप लगाइन्। उनले सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल अब अभिभावक भएर बस्नुपर्ने सुझाव दिइन्। उनले भनिन्, ‘अब पार्टीको नेतृत्वमा नयाँ पुस्ता र नयाँ फेस आउनुपर्छ।’ पछिल्लो समय सभापति देउवाले गल्ती गरेको पनि उनको आरोप छ।
उनले थपिन्, ‘उहाँले पेलेर लैजान खोज्नुभयो। यो गलत हो। रामचन्द्र पौडेल समूह पनि केन्द्रीय समितिको बैठकमा जानुपर्छ। उहाँहरुले पनि आफ्नो कुरा केन्द्रीय समितिको बैठकमा राख्नुपर्छ। सभापतिले पनि छलफलका लागि नेताहरुलाई बोलाउनुपर्छ। हामी पनि जानुपर्छ। म त जाने तयारी छु। त्यहीँ गएर कुरा राख्छु।’