हेटौँडा, २१ । प्रदेश नं ३ प्रदेशसभाको सोमबारको बैठकमा नेकपा संसदीय दलका प्रमूख सचेतक रामेश्वर फुयाँलले प्रदेशको नामकरणसम्बन्धी कार्य्विधि २०७६ सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा सर्वसहमतिबाट स्वीकृत भएको छ। उक्त प्रस्तावलाई प्रमूख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका प्रमूख सचेतक राधा घले र प्रदेशसभाका सदस्य रमेश पौडेलले समर्थन गरेका थिए।
सो प्रस्तावमाथि प्रदेशसभाका सदस्य डा. राजेन्द्रप्रसाद श्रेष्ठ, रमेश पौडेल, नरोत्तम वैद्य, ओमबहादुर घलान, प्रतिमा श्रेष्ठले छलफलमा भाग लिनुहुँदै प्रदेशको नामकरण सम्बन्धमा प्रदेशसभाले छुट्टै अध्ययन कार्यदल गठन गरी प्रदेशको १३ वटै जिल्लामा पुगेर प्रदेशको नामकरणका विषयमा सुझाव प्राप्त भइसकेपछि मात्र निर्णय लिनु उपयुक्त हुने राय प्रस्तुत गरेका थिए ।
यसपछि सो प्रस्तावका प्रस्तावक रामेश्वर फुयाँलले प्रदेशसभा सदस्यको भावनालाई समेटेर अघि बढ्ने दृढता व्यक्त गरे। प्रदेशसभाको अर्को बैठक पुस २३ गते बुधबार दिउँसो ३ बजे बस्ने छ।रासस