जनमत पार्टीले राजपा र समाजवादीको भण्डाफोर गर्ने

CK_Raut
लाेकपाटी न्यूज

नेपालगञ्ज। सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले ठूला पार्टीसँग गरेको सम्झौताप्रति आपत्ति जनाएको छ। राष्ट्रिय सभा निर्वाचनका लागि नेकपासँग राजपा र कांग्रेससँग समाजवादी पार्टीले सम्झौता गरेका छन्।

उक्त सम्झौताले मधेसी जनताप्रति गद्दारी भएको जनमत पार्टीको दाबी छ। उसले राजपा र समाजवादी पार्टीलाई मधेसी जनताले बिष्कार गर्नुपर्ने बताएको छ। जनमत पार्टीका केन्द्रीय सदस्यद्वय अब्दुल खान र इरफान शेषले नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर भनेका छन्, ‘राजपा र समाजवादी पार्टीविरुद्ध गाउँगाउँमा भण्डाफोर गर्नुका साथै बहिष्कारको अभियान चलाउँछौँ।’

यस विषयलाई थप प्रष्ट्याउँदै उनीहरुले भने, ‘मधेसीको हकहितका लागि भनेर लडाउने काम गरे, मधेसी र पहाडीका बीचमा दुश्मनी पैदा गराइयो, उनीहरुले त्यो सबै आफ्नो पद र कुर्सीका लागि गरेका रहेछन्, हामी यसको गाउँगाउँमा भण्डाफोर र बहिष्कार गर्छौ।’

उनीहरुले रौतहट र बाँकेका रामनोहर काण्डमा उपेन्द्र यादवलाई झेलमा हाल्नु पर्ने जिकिर गरे। ‘मधेसी जनताको मूल आधार, राजपा, समाजवादीको बहिष्कार’ भन्ने नारा नै तय गरेको जनमत पार्टीले जनाएको छ। अहिले आएर नेकपा र कांग्रेससँग सम्झौता गर्नु थियो भने विगतमा यी पार्टीविरुद्ध किन घृणा फैलाएको भन्ने प्रश्न समेत जनमत पार्टीले गरेको छ।