गुल्मी, २२ पुस । गुल्मीमा दुई बुहारी मिलेर सासूको हत्या गरेका छन्। गुल्मीको इस्मा गाउँपालिका ३ सिमपानीमा दुईजना बुहारी मिलेर सासूको हत्या गरेका हुन्।
दुई बुहारी देवी र लक्ष्मी मिलेर ७६ वर्षीया कौशीला बिकको हत्या गरेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर घलेले जानकारी दिए। उनीहरुले सुनका गहना लुट्ने योजनाका साथ सासूको हत्या गरेको डीएसपी घलेको भनाइ छ ।
पुस १७ गते गोरु फुकेको भन्दै कौशिलालाई गोठमा लिगी दाउराले हानेर बेहोस बनाइ नाक र कानमा लगाएका गहना लुटेको प्रहरीको दाबी छ। तर, उनीहरुले गोरुले हानेर सासू घाइते भएको नाटक गरी छिमेकीलाई खबर गरेर उपचारको लागि गुल्मी अस्पताल पु¥याएका थिए।
गम्भीर घाइते भएकी कौशीलालाई तम्घासमा उपचार सम्भव नभएपछि बुटलस्थित प्रादेशिक अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको गत १९ गते मृत्यु भयो। मृतक कौशीलाको टाउकोमा लागेको चोट हेर्दा गोरुले हानेको जस्तो नदेखेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा दुई बुहारी मिलेर हत्या गरेको पुष्टि भएको डीएसपी घलले बताए ।
श्रीमान विदेशमा रहेकाले बुहारी देवी सासूसँगै बस्दै आएकी थिइन् । घटना हुनेबेला मृतक कौशीलाका श्रीमान मासु लिन गएका थिए। त्यही मौका छोपी देवी र लक्ष्मीले सासूलाई गोठमा लिएर दाउराले हानेर बेहोस बनाएर गहना लुटेका थिए। दुवै जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।