बर्दिबास, २२ पुस। महोत्तरीको बर्दिबासमा बस दुर्घटनामा परी नेपाली कांग्रेसका महासमिति सदस्य ललनकुमार रायको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका ५ स्थित टुटेश्वर चोकमा मंगलबार बिहान दुर्घटनामा परी रायको मृत्यु भएको हो।
महोत्तरीको मनरासिस्वा नगरपालिका १० बथनाहा गाउँ बस्ने ५८ वर्षीय कांग्रेस नेता रायको निधन भएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। काठमाडौंबाट आउँदै गरेको ना५ख ६४११ नंको गङ्गोत्री बसले उखु लोड गरी रोकिराखेको ना४ख ५८१३ नंको ट्रकमा बस ठोकिएर बस दुर्घटना भएको थियो ।
दुर्घटनामा परी नेता राय गम्भीर घाइते भएर उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएकोमा त्यहाँबाट उनलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा पु¥याइएको थियो। तर, अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको आफन्त असिम दुबेले बताए।
नेता राय २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा महोत्तरीको क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका उम्मेदवार रहेका थिए। त्यसैगरी सोही दुर्घटनामा परी १८ जना अन्य कांग्रेसकै नेता तथा कार्यकर्तासहित सर्वसाधारण यात्रु पनि घाइते भएका छन्। घाइतेहरुको बर्दिबासस्थित शुभ स्वस्तिक, जनसेवा, सिटी र बर्दिबास अस्पतालमा उपचार भइरहेको छ।