बिआरआइका पाँच आधारभूत मान्यता के–के हुन् ?

Nepal China Relation
लाेकपाटी न्यूज

काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको बृहत्तर परियोजना हो बिआरआइ अर्थात् बेल्ट एण्ड रोड इनिसिएटिभ। बिआरआई कुनै सैन्य गठबन्धनको उद्देश्यद्वारा प्रेरित परियोजना होइन। यो विकासका मुद्धामा विश्वसँग कनेक्टिभिटी जोड्ने एउटा भरपर्दो परियोजना हो।

बिआरआइमा नेपालले सन् २०१७ मै हस्ताक्षर गरिसकेको छ। हालसम्म ७० भन्दा बढी देशहरु बिआरआई सम्झौतामा जोडिएका छन् भने अन्य देशहरु पनि यससँग आवद्ध हुन इच्छुक देखिएका छन्। हालसम्म विश्वको ६५ प्रतिशत जनसंख्या बिआरआइसँग जोडिएको छ। युरोपमा पनि बिआरआइप्रति आकर्षण बढ्दै गएको छ।

बिआरआइ परियोजनामा नेपालले हस्ताक्षर गरेपछि अमेरिकाले दक्षिण एसियामा इण्डोप्यासफिक रणनीतिअन्तर्गत सैन्य गठबन्धनको प्रस्ताव अघि सारेको छ, त्यसका विषयमा नेपालका राजनीतिक दलहरु विभाजित देखिएका छन्। यस सन्दर्भमा बिआरआइ र इण्डोप्यासफिकबारे नेपालीहरुमा कौतुहलता बढ्दै गएको छ।

बिआरआइ कुनै सैन्य रणनीतिअन्तर्गतको परियोजना होइन। यसले विशुद्ध आर्थिक र पूर्वाधार विकासमा साझेदारीको परिकल्पना गर्दछ। यसले आर्थिक र सामाजिक क्षेत्रमा पारस्पारिक लाभको मान्यता बोक्दछ। समतापूर्ण विश्व निर्माणका लागि बिआरआइ कोशेढुंगा हुने परराष्ट्र विज्ञहरुको दावी छ।

बिआरआइ परियोजनाका मूलतः पाँच आधारभूत मान्यता छन्। त्यही मान्यतामा टेकेर चीनले विश्व समुदायसँग साझेदारीको प्रक्रिया अगाडि बढाएको छ। बिआरआइका पाँच आधारभूत मान्यता यस प्रकार रहेका छन्ः–

(१) नीतिगत समन्वय :– बिआरआइको पहिलो मान्यता हो विकास र पूर्वाधारका क्षेत्रमा नीतिगत समन्वय गर्नु। यसले परियोजना सम्झौतामा कुनै राष्ट्र वा शक्तिमाथि आफ्नो शर्त थोपर्दैन। सम्झौतामा हस्ताक्षर गर्ने राष्ट्रहरुबीच जुन विन्दुमा सहमति हुन्छ, त्यही नै उसको नीतिगत मान्यता हुन्छ। तसर्थ, बिआरआइले नीतिगत विषयमा शर्त होइन, समन्वय खोज्दछ।

(२) कनेक्टिभिटी :– बिआरआइको अर्को महत्वपूर्ण पक्ष हो कनेक्टिभिटी। तर, कनेक्टिभिटीका अनेक आयामहरु छन्, जसमा सडक सञ्जालमार्फत् कनेक्टिभिटी, हवाई कनेक्टिभिटी र वेभ कनेक्टिभिटी पर्दछन्। सडक सञ्जाल, रेल मार्ग, हवाई उड्डयन र प्रविधिका क्षेत्रमा कनेक्सन जोड्नु यसको दोस्रो प्राथमिकता हो।

(३) खुला व्यापार :– बिआरआइको तेस्रो प्राथमिकतामा खुला व्यापार पर्दछ। यस मान्यताअन्तर्गत एउटा देशले अर्को देशसँग आपसी समझदारीमा खुल्ला रुपमा व्यापार गर्न सक्दछन्। बजार बिनिमय यसको महत्वपूर्ण पक्ष हो। यसै मान्यताका आधारमा व्यापार सम्बन्धी नीतिहरु निर्देशित हुन्छन्।

(४) वित्तीय एकीकरण :– एकल प्रयासभन्दा संयुक्त प्रयासमा पूर्वाधार विकासको काम गर्नु बिआरआइको अर्को महत्वपूर्ण पक्ष हो। वित्तीय साझेदारीका आधारमा विकास आयोजनाहरुलाई तीव्रता दिनु यसको लक्ष्य हो। यसले साना परियोजना होइन, समृद्धिमा गुणात्मक अर्थ राख्ने पूर्वाधार विकासका लागि वित्तीय साझेदारीमा जोड दिन्छ।

(५) जनसम्बन्ध :– यसलाई पिपुल्स टु पिपुल्स कनेक्टिभिटी पनि भनिन्छ। यसअन्तर्गत चीन र साझेदार राष्ट्रका नागरिकहरुको सिधा सम्पर्क र नागरिक जीवनमा परिवर्तन ल्याउने सामाजिक कार्यहरु पर्दछन्। जसले विश्व समुदायमा विश्ववन्धुत्वको भावना विकसित गर्न मद्दत मिल्ने चीनको विश्वास छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्