हेटौँडा प्रदेश ३ को राजधानीका लागि उपयुक्त

kamal-thapa
लाेकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रदेश ३ को राजधानीका लागि हेटौँडा उपयुक्त ठाउँ भएको बताएका छन्। उनले सामाजिक सञ्जाल मार्फत हेटौँडालाई राजधानी बनाउनु पर्ने तर्क गरेका हुन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले प्रदेशको राजधानी हेटौँडा र नाम बागमती राख्ने निर्णय गरेको थियो। नेकपा सचिवालयको उक्त निर्णयको पक्ष र विपक्षमा बहस भइहेको छ। नेकपाकै कतिपय सांसद पार्टीले प्रदेशसभाको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको भन्दै त्यसको विपक्षमा उभिएका छन्।

सोही क्रममा अध्यक्ष थापा भने प्रदेश राजधानी हेटौँडा राख्नु पर्ने पक्षमा अभिएका छन्। उनले हेटौँडा राजधानी बनाउनु पर्ने आधारहरु पनि उल्लेख गरेका छन्। सडक सञ्जालका हिसाबले राजधानीका लागि हेटौँडा उपयुक्त रहेको र अन्य पूर्वाधार समेत रहेको उनले दावी गरे।

‘प्रदेश ३ का सबै सहरहरुको तुलनामा सडक सञ्जालका हिसाबले राजधानीका लागि हेटौँडा सबैभन्दा उपयुक्त छ’, उनले भनेका छन्’, ‘चतरा–हेटौँडा राजमार्ग निर्माण सम्पन्न हुन लाग्यो। काठमाडौँ, निजगढ द्रूतमार्ग बन्दैछ। कान्तिराजपथ पनि लगभग बनिसक्यो। त्रिभुवन राजपथ र महेन्द्र राजमार्ग छँदैछ। राजधानीको अन्य सबै पुर्वाधार छ।’

अध्यक्ष थापाले राजधानीका विषयमा बोले पनि प्रदेशको नामका विषयमा भने कुनै प्रतिक्रिया दिएका छैनन्। मकवानपुर अध्यक्ष थापाको गृहजिल्ला पनि हो।