काठमाडौं। परापूर्वकालदेखि नै हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त रहँदै आएको छ। यसअनुरूप यस देशमा बसोबास गर्ने विभिन्न जातजातिहरूमध्ये गुरुङ पनि एक प्रमुख जात हो। गुरुङ जाति नेपालका आदिवासीहरूमध्ये पनि एक हुन्। अन्नपूर्ण हिमालको श्रृङ्खलाको दक्षिणीक्षेत्र मनाङ, मुस्ताङ, लमजुङ, गोरखा, कास्की, स्याङ्जा आदि जिल्लाका पहाडी भेकहरूमा यिनीहरूको घना बस्ती रहेको पाइन्छ।
गुरुङ जातिकाे प्राचीन इतिहास
अघि सृष्टि कालमा आकाशमा पानी, हावा, कुहिरो, आगो र फलाम उत्पन्न भई उक्त पाँच वस्तुहरूको एक अर्काको प्रतिक्रियाबाट एउटा सुन्दर माटोको डल्लो उत्पन्न भयो। उक्त माटोको डल्लो गह्रौं भएको हुँदा क्राेनासा हुँदै सगोंती कहयाल्साकोप्लींप्लीङ्यो भन्ने जग्गामा खसी फुट्यो। उक्त माटोको डल्लो भित्रबाट मानिसको रूपको ३ वटा जीवित प्राणीहरू उत्पन्न भए। ती ३ प्राणीहरूमध्ये एक करगली क्हयाला, दोस्रो आपाकर्हाबुकल्हे र तेस्रो स्यामा क्होंलु पच्यु थिए। ती महाज्ञानीहरूमध्ये करगली क्हयाला (व्राेरो, सिरो, सरो) पृथ्वी, पाताल, आकाश, चन्द्रमा, तारा तथा सूर्यग्रहमा समेत गई बस्न सक्ने क्षमता भएका महापुरुष थिए।
यी तीन महापुरुषहरूको उदय भएकै समयमा क्रोंरोक्रोंं – होंगु नायेया, सिरोंसी – होखु नायेमा, लरों ल – होंग्रु नायेमा, सरों स–होग्रु नायेमा, मुरोमु – होंग्रु नायेमा, ङिहरो ङ्हिर – होंग्रु नायेमा तथा सरों स – होंग्रु नायेमा नाम गरेका ७ माहरू (आमाहरू) पनि उत्पन्न भई आकाशमा एक, माटोमा दुई र बाँकी चार क्रोंन, ङ्हि र सर्दो भन्ने ठाउँमा बसे। यिनै तीन महापुरुषहरू र सात आमाहरूको शाखा सन्तानबाट गुरुङ (तमु) हरूको श्रृष्टि भएको कुरा वेद (तमु) मा उल्लेख भएको पाइन्छ।
प्राचीन कालमा गुरुङहरू गण्डक क्षेत्रमा कसरी आइपुगे भन्ने कुरामा बुहुसङ्ख्यक विद्वान्हरू मंगोलियाबाट चीन–तिब्बत हुँदै नेपालको मुस्ताङ, गण्डक क्षेत्रको मनाङ, कास्की लमजुङ, गोरखा, स्याङ्जा र तनहुँमा बसोबास गरेको भन्ने विश्वास गर्छन्। केही विद्वान् गुरुङहरू गण्डक क्षेत्रमा आउनुभन्दा अघि मंगोलियाबाट चीन–तिब्बत भई पहिले भारतमा बसोबास गरी कालान्तरमा गण्डक क्षेत्रमा प्रवेश गरेको बताउँछन्। यस तर्कमा विश्वास गर्नेहरू त्यसैले पनि गुरुङहरू हिन्दू धर्मावलम्बी भएको तर्क अगाडि सार्छन्। गुरुङहरूको वंशावलीमा भने उनीहरू कन्नौजबाट आएका आर्य हुन् भनेका छन्। लेखक जनकलाल शर्माले गुरुङहरू “हूण” जातिका हुन् भन्ने तर्क प्रस्तुत गरेका छन्।
तमुका वंशज मंगोलियाबाट चीनको कोकोनार ताल (कोकली म्हस्योँ), सिचुवान, युनान, तिब्बतको छ्याम्डो, ल्होक्याँ हुँदै नेपालको मुस्ताङ, फलिप्रोँ, लिप्रोँ (लुव्रा) मनाङको नार हुँदै क्होला सोंँप्रे ट्होया सन् ५०० तिर स्थाई बसोबास गरेका थिए भन्ने कुरा सन् २००० मा क्याम्ब्रिज विश्वविद्यालय बेलायत र पुरातत्व विभागले गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
प्राचीन कालमा तमूका पुर्खाहरू एसिया महादेशका मध्य उत्तरी चीनको क्षेत्र, मंंगोलियामा व्युत्पत्ति हुँदै त्यहाँबाट खानाको खोजीमा बसाइसराई गर्दै पश्चिममा किर्किजस्तान, ताजिकिस्तान हुँदै पुनः दक्षिण पश्चिम मोडिएर तिब्बतका पश्चिम पहाडी क्षेत्र एवं वन, जंगल पार गर्दै चीनको कोकोनर ताल सिच्युयन प्रान्तबाट दक्षिणतिर उँइचु चुँरु हुँदै तिब्बत क्षेत्रमा प्रवेश भएको पाइन्छ। तिब्बतबाट हिमालपार गर्दै मनाङ, मुस्ताङ, जोमसोम, लब्रु, तिलिचो तालको आसपासबाट मुँइच ह्युलामा ठूलै समूह आएको देखिन्छ। त्यहाँ निकै धेरै वर्ष बसे पश्चात तोरीबारीमा बच्चाहरूको ढुङ्गाको गोटि खेल्ने क्रममा “मुँईचु प्लाँप्ली कु प्लाँप्ली, मुँईचु प्लाँप्ली स्यो प्लाँप्ली” अर्थात् त मुँइचु ह्युलामा ठूलो पैरो जाने संकेत बच्चाहरूले दिएपछि त्यहाँबाट पुनः सबै समूह माथि मनाङमा पर्ने ‘सब्जे ब्राम्ह ऊ’मा सरे।
त्यहाँ खेती नहुने भएपछि सबै शिकार गर्ने पेशामा लागे। शिकार गर्ने क्रममा शिखरसहित आफूहरू त्यहाँको ठूला शिखर (येक्रे) पार गरेर क्होला आइपुग्छन्। त्यहाँको समथर उब्जाउ भूमि पाहारिला पाखा, दक्षिण ढलपरेर रहेका भू–भाग, शिकारका लागि उपयुक्त बन जंगल, मह काट्न सकिने महभीरहरू, प्रशस्त जलस्रोत लगायत आवश्यक सामग्रीहरूले युक्त ठाउँमा सर्न माथि सब्जे ब्राम्ह ऊमा गएपछि राजालाई जानकारी गराए। उनीहरूले आपूmसँग झोलामा भएका उवा, जौका गेडाहरू निकालेर समथर जग्गाको एउटा कुनामा छरेर छाडे र भने, यदि यो ठाउँमा मानिस बस्न योग्य भूमि हो भने यहाँ छरेको जौ, उवाका बिउहरू छ महिनामा हात भएको बोट र वित्ता भएका बाला भई राख, यदि बस्न नहुने भए त्यही हराइरहोस्।
छ महिनापछि फर्केर हेर्न आउँदा भने जस्तै हातभरिको बोट र बित्तारको बाला निस्केको देखियो। त्यहाँबाट माथि सब्जे ब्राम्ह ऊमा गएर राजालाई भने पछि राजासहित सबै क्होलामा आएर त्यहाँ मानव बस्ती बसाले भन्ने धार्मिक गुरुहरूको प्येमा उल्लेख भएको पाइन्छ। क्होला मानव बस्तीका लागि अति उपयोगी भएको थाहा भएपछि सव्जे ब्राम्ह ऊ छाडेर समूह–समूहमा राजा क्हयाल्वु रुजु क्ल्हेसँगै ठूलै झुप्पा तल्लो क्होलामा आएको देखिन्छ।
हूणहरूको खास निवासस्थान वर्तमान मंगोलिया, मन्चुरिया र यसको उत्तरमा पर्ने साइबेरियाको भू–भागमा पनि थियो। पहिले हूणहरू यायावर भए पनि पछि चीनको छेउदेखि मध्य एसियासम्म अर्थात् सिरदरिया हुँदै अराल सागरसम्म साम्राज्य खडा गरेर राज्य गर्न थाले। चीनले महान पर्खाल लगाएर आफ्नो सीमा कायम गरेको भए पनि हूणहरूलाई त्यसको परवाह थिएन र सदा चीन र हूणहरूको युद्ध भइ नै रहन्थ्यो। पछिल्लो कालमा हूणहरूको आपसमा गृहकलह सुरु भयो। त्यस समय गृहकलहको भूमि मन्चुरियादेखि हास्सिकुलसम्म रह्यो। यस भूमिका अनेक हूण सामन्त चीनसित मिलेर आपूm सुरक्षित हुन चाहन्थे भने केही आफ्नै अलग सार्वभौमसत्ता कायम गर्न चाहन्थे। हूणहरूको आपसी सङ्घर्षले गर्दा चीन बलियो भएर आयो। इशाको प्रथम शताब्दीको अन्त्यसम्ममा हूणहरूको आपसी सङ्घर्ष अत्यन्त उग्र भएर आयो र हूणहरू आफ्नो भूमि छोडेर अन्यत्र भाग्न बाध्य भए।
यस प्रकार भएको सङ्घर्षमा तुर्कवंशले लाभ उठायो र यस वंशले ३५४ इश्वीको आसपास साम्राज्य त्यानशानदेखि कोरियासम्म पुर्यायो। भूमिबाट यसरी धपाइएका हूणहरू हिमाल पार गरेर क्रमशः दक्षिणतिर लागे। यसरी भाग्ने हूणहरूको सङ्ख्या निकै थियो। यिनीहरू दक्षिणको मैदानी भागमा खास गरेर हाम्रो प्रायद्वीपको पश्चिमी भागमा पैmलिए भने केही मेष पालक भएर पहाडी भागमा पनि बसे। हूणहरू मूलतः आयुघजीवी जाति भएको हुँदा यस भू–भागमा अनेकबार आक्रमण गरे। यिनै हूणका सन्तति आजका गुरुङहरू हुन्। जुन हूणहरू उत्तरबाट झरेर दक्षिणको मैदानमा बसोबासका साथै धर्म परिवर्तन गरेर पुनः उत्तरी पहाडमा आए, ती हिन्दुहरूको संस्कार लिएर आए। तर, हिमालयपारबाट दक्षिणको मैदानमा नगई सोझै हिमाली भागमा जुन हूणहरू आए तिनमा हिन्दु धर्मको प्रभाव परेका छैन र बौद्ध धर्ममा विश्वास राख्दछन्।
वर्तमान नेपालको मुस्ताङ जिल्लामा पहिलो शताब्दीमा बसोबास गरेको भनिएको तमू गुरुङहरू, प्राचीन नेपालको खाल्डोमा किराँतीहरू राज्य गर्ने समयताका क्होल भनिने स्थानमा इ.सं. ५०० मा बसोबास गर्न थालेका थिए। तमूहरू करिब १००० वर्ष समय सो स्थानमा बसोबास गरेका अनुसन्धानबाट पुष्टि भइसकेको छ। तमुहरूको छिमेकी राज्यको रूपमा रहेको कर्णाली प्रदेशमा नागराजवंशीय खस मल्ल राजाहरूको राज्य स्थापनापूर्व पनि कर्णाली प्रदेशका शैवमार्गी, बोनमार्गी तथा बौद्धमार्गीहरू लगायतका धर्मावलम्बीहरू बस्दथे। कर्णाली प्रदेशमा तीन शताब्दीसम्म साम्राज्य जमाएको खस राज्य पन्ध्रौ शताब्दीको मध्यतिर छिन्नभिन्न हुन थालेका थिए। वरिपरिका बाइसी–चौबिसी राज्यहरू मध्येका तमू गुरुङहरूको शैवमार्गी जुम्ली राजाहरूसँग राम्रो सम्बन्ध थियो।
तमु तथा गुरुङ शब्दको व्युत्पत्ति
कुनै पनि शब्दको अर्थ हुन्छ। यसरी अर्थ दिने शब्दको व्युत्पत्ति कसरी भयो होला भनी विद्वान्हरूले अनुसन्धान गरेका हुन्छन्। विशेष गरी जातजाती, देश सम्बन्धी शब्दका व्युत्पत्तिबारे विद्वानहरू झनै गहनतापूर्वक अनुसन्धान कार्यमा लागेका हुन्छन्। त्यस्ता विशिष्ट विद्वान्हरूको खोजीनीतिअनुसार तमू तथा गुरुङ शब्दको व्युत्पत्ति निम्न बमोजिम भएको देखिन्छ।
तमु तथा गुरुङ एउटै जातिलाई जनाउने दुईवटा नामयोग शब्द हुन्। तमू शब्द दुई अक्षरले बनेको छ। यस शब्दमा प्रयोग भएको ‘तमू’ अक्षरमा ‘त’ को अर्थ वज्र, माथि, घोडा र वञ्चरो जनाउँछ। ‘मू’ को आकाश हो। त्यसैले तमूको अर्थ आकाशको वज्र, घोडा भएका अथवा पालक तथा लेकाली मानिस हुन् भनी विद्वान्हरू लेख्छन्। त्यस्तै गुरुङ शब्द तिब्बती भाषाको ‘ग्रोङ’ शब्दबाट बनेको हो भन्ने भनाइ पनि छ। जसको अर्थ खेतला वा कृषक हुन्छ। तिब्बती भाषाको घोरुङ शब्दको अपभ्रंश भएर गुरुङ भएको हो भन्ने भनाइ पनि छ। घोरङको अर्थ ‘पाल’ हो भन्ने अर्को भनाइ छ। गुरुअङ्गबाट गुरुङ भएको हो भन्ने पनि कथन छ भने चीनको स्वशासित क्षेत्र तिब्बतको ज्यारोङबाट आएका हुनाले गुरुङ भएको तर्क पनि कतिपय विद्वान्हरूले अगाडि सारेका छन्। डा. हर्क गुरुङको भनाइ अनुसार गुरुङ शब्दको उत्पत्ति तमू शब्दको ‘कुक्रोहा’ कु (नौ) क्रोहों (मुखिया) अर्थात् नौ मुखियाको अपभ्रंश भएर गुरुङ भएको हो।
गुरुङ राज्यको इतिहास
गुरुङ वंशावलीमा रागस्य राजा र भागस्य राजाको उल्लेख छ। यी रागस्य र भागस्य व्यक्तिको नाम नभएर घले राजा र शाही राजा भने जस्तै जातिगत नाम हुन्। यी रागस्य र भागस्यहरू नै यहाँका भूमिपुत्रहरू हुन्। अघि कास्कीका राजा राकसे गुरुङले आक्रमण गर्दा पर्वत, मल्लाज, माझफाँटका घर्तीहरूले पुराना गाउँको पोखरीमा भाँडाकुँडाहरू लुकाएको वर्णन पाइन्छ। मुस्ताङको ठिनी (क्हयाल्सोम्पो) सँग गुरुङहरूको ऐतिहासिक सम्बन्ध गाँसिएको छ। ठि (राजगद्दी) भएको ने (स्थान) भएको हुँदा क्हयाल्सोम्पोलाई ठिने भनेको र कालान्तरमा ठिनेबाट ठिनी भएको हो। ठिनी (क्हयाल्सोपो) लाई गुरुङहरू ठिनीकहयाल्स भन्दछन्।
गुरुङको वंशावलीमा सबुतोँक्हयाल्स (जुम्ला, सिंजा) मा आई रजाइँ गरेको उल्लेख छ। ठिनिकहयाल्ससँग नोचन खोर्लो ह्रिमरछेको पनि सम्बन्ध रहेको छ। ठिनिक्हयाल्समा अजिमोप्हजिमो नामक भूत उत्पन्न भएर उपद्रो मच्चाउँदा नोचन खार्लो ह्रिमरछेले उक्त अजिमो–प्हजिमोलाई मारी ठिनिक्हयाल्समा शान्ति र सुव्यवस्था कायम गरेर उनी त्यहाँको राजा भएको उल्लेख नोचन खोर्लो ह्रिमरछेको पे (कथा) मा पाइन्छ।
सगोंती क्हयाल्सामा पोंजो करू क्ल्हे (कर्जें क्हयाला) राजा भए। उनको मृत्युपछि योमै–हें भन्ने राजा भए। योमै–हें राजा त्यहाँबाट आफ्नो प्रजा र गुरुहरू (पच्यू, ध्यावृ) सबै साथमा लिएर चोंम्रु (मुक्तिनाथ) भन्ने जग्गामा बसाइ सरे। चोंम्रु भन्ने जग्गामा योमै–हें भन्ने राजाको मृत्यु भएपछि पालमा–हें भन्ने राजा भए। चोम्रु भन्ने जग्गामा ज्यादै ठण्डा र हिमपातको कारणले बस्न नसकी पुनः बसाइँ सर्ने काम भयो। बसाइ सर्ने क्रममा पालमा न्हें राजाको पनि मृत्यु भयो। र त्यसपछि क्हयाल्बो खम्पा राजा भए। चोंम्रुबाट मैजु भन्ने ठाउँमा (मैजु हयुला) बस्यो। खेतीपाती राम्रो भएतापनि बाढीपहिरोको कारणले मैजु भन्ने जग्गालाई छाडी सब्जें प्ह्रेंकुरा भन्ने ठाउँमा बसाइँ सर्यो। खेतीपाती राम्रो नभएको कारणले अनिकाल परी ठूलो समस्या भएको हुँदा जनताहरू शिकार खेल्न लेकलेक भ्रमण गर्न थाले। त्यसरी भ्रमण गरी हिंड्ने क्रममा एउटा राम्रो तथा सम्म परेको दक्षिण पूर्वको भू–भाग देखे। उक्त ठाउँलाई क्होला चिकु भन्दथे। शिकार खेल्न आएका मानिसहरू (कुग्री – नौथरे) ले उक्त ठाउँमा गई ३ गेडा करु परीक्षणका लागि रोपे।
पछि आएर हेर्दा ठूलोठूलो गाँज भएर सप्रेको साथै लामा लामा बालासमेत भएको पाइएकाले उक्त जमिनको उर्वराशक्ति राम्रो र उत्पादन राम्रो हुन सक्ने अनुमान गरी सोको विवरण राजा र प्रजाहरू सबै आ–आफ्नो श्री सम्पत्ति साथमा लिएर तीन लेक (कहो सों) तीन डाँडा काटेर सगोंती क्हयाल्सालाई पछाडि छाडेर क्होला चिकु भन्ने ठाउँमा आएर बसोबास गरे। तिनीहरू सबै तीनगाउँ, तीन थलो, तीन भाग (क्होला सोंप्रे हयुला) गरी बसोबास गरेकाले यस गाउँलाई तीनगाउँ (कहोल सोंप्रे हयुला) भनियो। पछि तिनीहरू तीन थर भएर बसेका हुनाले क्होला सोंथरे भनेर नामकरण गरियो।
क्होला क्षेत्रभन्दा बाहिर तत्कालमा माथि उत्तरबाट बसाइसराइका क्रममा कहोलामा नआई सोझै क्होलाका पूर्वमा पर्ने नौंँदी, हिन्कु, क्वाँर, तप्रां, चिक्रेसमा मानिसहरू बसोबास गरेकाले पुराना घरका भग्नावशेषहरू पाइन्छ। धेरै क्षेत्र ओगटेका “क्होला सोंथर” राज्यमा “रुजुक्ल्हे” भन्ने राजाले आफ्नो अधिकार जमाएको पाइन्छ। राज्य सञ्चालन राम्रैसँग व्यवस्थित गरेर चलाएको देखिन्छ। राज्यका मन्त्रीहरू, करिन्दा, खेगी, म्हिग्रेचोगी लगायत जनताहरू मिलेर व्यवस्थित प्रकारले राज्य सञ्चालन भएको पाइन्छ।
तिब्बतका हिमाली घाँच र घाँटी काटेर मनाङको बाटो हुँदै लमजुङको घनपोखरा, घेर्मु र कास्कीको सिक्लेसमा बसोेबास गर्न आइपुगेका गुरुङ घलेहरूले यशोब्रहम शाह पूर्व लमजुङमा राज गरेका थिए। घले राज्य (घले गाउँ) राज्य व्यवस्था सञ्चालन गर्न नालसभार (सांसद) समेतको व्यवस्था भएको बुझिन्छ। तत्कालीन राज्य व्यवस्था जनसमर्थन र विश्वासको आधारमा चलेको देखिन्छ। गोरखा राजवंशको उदयपूर्व गुरुङ पश्चिमी नेपालको केही भागमा स–साना ठकुराइमा विभक्त थिए।
अशोक चल्लको शक्तिशाली सेना, राज्य विस्तार स्वरूप र उनको लामो शासनकाललाई दृष्टिगत गर्दा गण्डकी प्रदेशका गुरुङ – मगर मुखियाहरूले अधीनता स्वीकार गरी उनको साथ दिएकोमा शङ्का छैन। इतिहासको मध्यकालमा आएर स्याङ्जा जिल्लाको पश्चिम क्षेत्रमा १२ मगराँतमध्येका केही भुरे राज्यहरू थिए भने जिल्लाको पूर्व भागमा टाकुरे राज्यमध्येका राज्यहरू थिए। जसमा मगरात (भुरे) राज्य मगरहरूका राज्य थिए भने टाकुरे राज्यहरू गुरुङ राज्य थियो। गोरखा राज्यका संस्थापक द्रब्य शाह गोरखामा प्रवेश गर्नुभन्दा पहिले यो जिल्लाको लिगलिग कोटमा घले राजाहरू थिए भन्ने कुरा इतिहासकारहरूले प्रमाणित गरेका छन्। यसबाट के प्रष्ट भएको छ भने चार–पाँच सय वर्ष पहिलेदेखि नै गुरुङहरूले गोरखामा महत्वपूर्ण स्थान ओगटेका छन्।
गोरखाको वारपाकमा रहेको वारपाककोटलाई पनि महत्वपूर्ण केन्द्रकै रूपमा मानिएको थियो। वारपाकमा घले राजाहरूको शासन कायम थियो। घलेहरूलाई पूर्ण शाहले जिती गोरखामा सम्मिलित गरेका थिए। तर केही समय पछि वारपाक फेरि स्वतन्त्र भयो र राम शाहले यसलाई अधीनस्त पारेका थिए। वारपाकमा तल्लो र माथिल्लो गरी दुई कोट रहेका छन्। गोरखाका ३२ कोटहरूमध्ये लिगलिगकोट पनि त्यतिकै महत्वपूर्ण रहेको छ। द्रब्य शाहले लिगलिगकोट विजय गरिसकेपछि गोरखा राज्यलाई हात पार्न सफल भएका थिए। त्यसबेला लिगलिगकोटमा घले राजाहरू थिए। उनीहरूले राजा छान्ने काममा लागेको बेलामा द्रब्य शाहले हमला गरी लिगलिग हात पार्न सफल भए।
लिगलिग राज्यपछि फेरि स्वतन्त्र राज्यको रूपमा रहन गयो। यसलाई पुनःविजय गर्ने काम पूर्ण शाहले गरेका थिए। लमजुङमा शाहवंशको उदय भएपछि राज्य बढाएर हालको मनाङ जिल्लासम्म पुगेका थिए। त्यहाँका घले राजाहरूलाई हराई मनाङ क्षेत्र पनि लमजुङ राज्य अन्तर्गत गाभियो। यसरी मनाङ सहितको लमजुङ राज्यमा शाहवंशको राज्यपरम्परा कायम गर्न यशोब्रहम शाह हुन् भन्ने कुरामा कुनै मतभेद छैन।
गुरुङ जातिको वंशावली
विभिन्न जातजातिमा ठूलो जात र सानो जातको भेद भए जस्तै धेरै पहिले गुरुङहरूमा पनि चारजाते ठूलो र सोह्र जाते सानो भन्ने प्रचलन रहेको थियो। तर कर्णेल लछमन गुरुङको उजुरीले श्री ३ जङ्ग बहादुर बाट वि.सं. १९२४ मा गुरुङहरूमा चार जात र सोह्र जातमा ठूलो सानो भन्ने नभएको फैसला भएको थियो। जसले गुरुङ समाजमा ठूलो जात र सानो जात भन्ने भावना मेट्न अहं भूमिका खेलेको थियो।
गुरुङहरूको वंशावलीहरू थुप्रै किसिमका भेटिन्छन्। क्ले कुगी, तथा सोगीहरूका छुट्टाछुट्टै वंशावलीहरू पाइन्छ। जसअनुसार कुगीलाई कश्यप गोत्र भनिएको छ, सोगीहरूलाई कन्नौज बुन्देलखण्डका भारद्वाज गोत्र भनिएको छ। तर, यहाँ राजा यशोब्रहम शाहका पण्डित भोजराजले तयार गरी पण्डित शिखरनाथ सुवेदीले प्रकाशित गरेको थर–गोत्र प्रश्नावली नामक पुस्तकमा प्रकाशित भएको वंशावली प्रस्तुत गरिएको छ। कुनै समयमा पिउठाना भन्ने ठाउँमा गोचन नामका भारद्वाज गोत्र सूर्यवंशी राजा थिए। राजा गोचनका लोचन र रोचन नामका दुई राजकुमार थिए । राजारानीका लागि कान्छा छोरा प्यारा थिए, त्यसैले गर्दा पिउठानाको राज्यभार राजा गोचनले जेठो छोरा लोचनलाई नदिई कान्छा छोरा रोचनलाई दिए। दाजु हुँदाहुँदै भाइले राज्य पाएपछि जेठो राजकुमार दिक्क हुनु स्वभाविकै थियो। यसरी भाइ राजगद्दीमा बसेपछि जेठाले देश छाडेर बाहिर जाने निधो गरे।
लोचनले देश छाडेर बाहिर जानलाग्दा काली नामकी उनकी पत्नी पनि पछि लागिन्। राजकुमारका साथमा पत्नी मात्र नभई उनका पुरोहित मुकुन्द लामिछानेका छोरा बलि लामिछाने र उनकी पत्नी काशीसमेत पछि लागे। उनको आठपहरिया (अङ्गरक्षक), केहरसिंह खवास (दास वा कमारो) तथा उनकी पत्नी पनि पछि लागे। राजकुमारले पिउठाना दरबार छोड्दा राजकुमारका साथमा उनी बाहेक पाँचजना साथी भए। यसरी देश छोडेर हिँडने राजकुमारले कुनै नयाँ राज्य खडा गर्ने विचार नगरेर हिमालयको काखमा गएर तपस्या गर्ने विचार गरे। उनीहरू यस प्रकार प्रस्थान गरेको केही दिन पछि बाटामा अत्यन्त सुन्दरी तरुनीहरूको जमातसित भेट भयो। तरुनीहरू सोह्रदेखि बीस बर्षका भित्रका थिए। यिनीहरूबाट राजकुमार अत्यन्त मोहित भएर केही समय उनीहरूसित विताउने विचार गरे। दुईरात उनीहरू सितै हाँसखेलमा वित्यो। तेस्रो रात पनि विताउने विचार भयो। तेस्रो रात विताएर ब्युँझदा त्यहाँ कुनै युवती थिएनन् र आफूसित भएको धनदौलत पनि थिएन।
यति मात्र होइन, राजकुमार र गुरूपुत्रको आङमा जनै पनि थिएन। जनै चोरिनुको अर्थ थियो – जात चोरिनु। सम्पत्तिका साथै जात पनि चोरी भएको हुँदा उनीहरू सार्है खिन्न भए। त्यसपछि उनीहरू हिमालयको काखमा रहेको एउटा नदीको किनारमा पुगेर त्यहीँको एउटा गुफामा बसे। राजकुमारकी पत्नीसित बाँकी भएका गहना बिक्री गरेर उनीहरू जीवनयापन गर्न थाले। यस्तो आपत्ति पर्दा पनि केहरसिंह खवासले आफ्नो कर्तव्य नछोडी सेवा गरेको हुँदा राजकुमार र बलि लामिछाने अत्यन्त प्रशन्न भए। यी दुवैजना मिलेर केहरसिंहलाई भने, “तैंले हाम्रो यस्तो अवस्थामा पनि आफ्नो कर्तव्य नछोडी सेवा गरिस्। तँदेखि हामी अत्यन्त प्रशन्न छौँ। हाम्रो जात गएको कुरा तँलाई सबै थाहा छ, त्यसकारण अबदेखि तँलाई खवास अर्थात कमारो भन्दैनौं। सबै कुरा थाहा पाएको हुँदा थापा भन्छौँ।
अबदेखि तँ थापा भइस्। हाम्रो पनि जात गइसकेको हुँदा तँ जस्तै भयौँ। युवतीहरूले हाम्रो जात चोरेर लगेको हुँदा हामीसित जात छैन। हामी सबै उस्तै भएपछि तैंले पकाएको भात खान अब हामीलाई कुनै आपत्ति छैन। त्यसकारण अब उप्रान्त तैंले पकाएको भात खान्छौँ, तैंले पकाएर खुवाउनू।” राजकुमार र गुरूपुत्रको यस्तो प्रस्तावबाट केहरसिंह खवास बडो अचम्ममा पर्यो र स्वीकार गर्न मानेन। तर, उनीहरूले धेरै सम्झाए पछि प्रस्ताव स्वीकार गरेर भात पकाएर खुवाउन थाल्यो। त्यस दिनदेखि यी सबै बराबर भए। सबै कुरा थाहा पाएको हुँदा केहरसिंह खवास (कमारो) बाट त्यसै दिनदेखि थापा भयो।
यस प्रकार हिमालयको काखमा जीवन व्यतीत भइरहेका समय पिउठानाका राजकुमार लोचनका तीन छोरा र दुई छोरी जन्मे। राजकुमारका छोराको नाम क्रमशः यस प्रकार रह्यो – घले, घोताने र लामा। यसै प्रकार छोरीको नाम थियो – लक्ष्मी र गौरी। यसै समय गुरूपुत्र बलि लामिछाने वा बलि आचार्यका पनि दुई छोरा र तीन छोरी जन्मे। पछि गएर यी बलिका छोराहरू क्रमशः आचार्य लामिछाने र प्लोने लामिछानेका नामले विख्यात भए। बलिका छोरीको नाम क्रमशः यस प्रकार थियो – कुमारी, नारी र मली। यी दुवै थरीका छोराछोरी ठूला भएपछि लोचन र बलिका छोराछोरीको आपसमा विवाह गरेर कुटुम्ब हुन पुगे। त्यसै समयदेखि यिनीहरूमा राजकुमारका पुत्र घले, घोताने र लामाका सन्तान त्यसै नामले प्रसिद्ध भएका हुँदा त्यही नामको थर पनि हुन गयो। गुरूपुत्रका सन्तान भने लामिछाने नामले वा थरले प्रसिद्ध भए।
यिनै घले, घोताने, लामा र लामिछाने चार जनाका सन्तती पछि गएर चार जात कहलाए। तपस्या गरेका समयमा जन्मेका हुँदा यिनीहरूलाई लोकले महागुरु भन्ने पदवी दियो र त्यसैको अपभ्रंश रूपमा महागुरुङ भयो। हुँदाहुँदै महा पनि भन्न छोडियो र गुरुङ मात्र बाँकी रहन गयो, जो आज पनि त्यही नामले प्रसिद्ध छ। उनीहरूको खवास केहरसिंह थापाले त्यहाँ गएपछि एउटी अर्की श्रीमती पनि थपेको थियो। भनाइको तात्पर्य हो उसका दुई स्त्री थिए। दुवै स्वास्नीका तर्फबाट जम्मा सोह्र भाइ छोरा र दस बहिनी छोरी भए। छोरीका नामको कतै उल्लेख छैन। केहरसिंह थापाका छोराहरूको नाम क्रमशः यस प्रकार थियो – पग्यु, डोर, केप्चै, कोचै, ध्यावृङ्ग, दोचै, प्रचै, थिचै, योचै, खलाल, भयचै, कोके, कुपचै, नानन्चौ, लेगै र रूपचै। राजकुमारको खवास केहरसिंह खवासबाट थापा भए पछि यी छोरा जन्मेका हुँदा सबैका नामका पछाडि थापा पदवी पनि लाग्यो। यी थापाका सन्तति विभिन्न ठाउँमा गएर बसे र त्यस पछि तिनै नामले एक एक वंश त्यही नामधारी गुरुङमा परिणत भएको हुँदा सोह्र जातका गुरुङ कहलाए।
रहँदाबस्ता यिनीहरूको आपसमा विहेवारी चल्यो र जताततै फैलिन पुगे। जुन समय यिनीहरू हिमालयको काखमा थिए, त्यसै समय सोह्र भाइ मध्येको नानचै थापाले चार भाइ मध्येको घोताने महागुरुङकी मर्फी नाम गरेकी छोरीसित अनुचित सम्बन्ध स्थापित गर्यो। खवासको सन्तान नानचै थापाले मालिककी नातिनीसित अनुचित यौन सम्बन्ध राखेको हुँदा त्यहाँका चार जातका गुरुङहरू मिलेर नानचै थापालाई तरबारले काट्ने विचार गरे। यसै समय सोह्र जातका गुरुङ जम्मा भएर चार जातका गुरुङहरूसित माफी माग्दै भने – “यसले चार जातकी छोरी अर्थात् मालिककी चेलीमा हात नहाल्नुपर्ने हो हाल्यो, त्यो यसको भूल हो, हामी पनि मान्छौं। तर जो नहुनु थियो, त्यो भइसक्यो। त्यसकारण यसलाई माफी हुनु पर्दछ। उसका तर्फबाट हामी माफी माग्दछौं र ऊ पनि माफी माग्दछ। यसलाई जीवन दान दिनुहोस्।”
यसमा उनीहरूले अझै विनयसाथ भने – “हामी खवासका सन्तान हौं, हामी सोह्र भाइका सन्तान दरसन्तानले चारभाइका सन्तान दरसन्तानका सामने शिर झारौँला। त्यति मात्र होइन चारभाइका सन्तानको जाबी बोकेर पछि लागौँला र जो परेको सेवा टहल गरौँला। चार भाइका सन्तानले अर्थात् चार जातका सन्तानले विवाह गर्दा जो परेको काम गरौँला र नेक, दैदस्तुर खाउँला। हाम्रो भैयादलाई नमार्नुहोस्।” चार जातले नानचै थापालाई राजकुमार लोचन र बलि आचार्य वा लामिछानेका समिप पुर्याए। यो कुरा केहरसिंह थापालाई पनि सुनाए र सबैको संयुक्त सभा बस्यो। नानचै थापाले ज्यान माफी पायो। यस्तो घटना बराबर घट्न सक्ने हुँदा उनीहरूले एउटा नियम बनाए।
चारभाइमा राजपुत्र र गुरुपुत्र भएका हुँदा यी मालिक हुन्। सोह्र भाइ भनेका खवासका सन्तान हुन्। त्यसकारण अहिले जे भयो – भयो, अब उपरान्त चार जात र सोह्र जातको विवाह नगर्नू। चार जातका सन्तानले सोह्र जातका सन्तानकी छोरी – चेली ल्यायो भने बात पनि लाग्दैन। यदि सोह्र भाइका सन्तानले चार भाइका सन्तानकी छोरी चेली ल्यायो भने त्यसको सन्तान खवास हुने हुँदा बात लाग्दछ। यसरी लागेको बातलाई १६ रुपियाँ तिरेर फुकाउनू भन्ने अर्को नियम पनि बनाए। त्यसै नियमका कारणले गर्दा गुरुङहरूमा सोह्र जातका गुरुङले चार जातकी गुरुङकी छोरी विवाह गर्दा सोह्र रुपियाँ दस्तुर बुझाउनुपर्ने नियम चलेको मानिन्छ।
गुरुङ जातिको भाषा र लिपि
नेपालका आदिवासी जनजातिहरूको आ–आफ्नै भाषा, धर्म र संस्कृतिहरू छन्। विविध कारणले यी जातिहरूमध्ये धेरै जस्तोको भाषा, धर्म र संस्कृतिहरू लोपोन्मुख अवस्थामा रहेका छन्। गुरुङ भाषाको सन्दर्भमा वि.सं. २०६८ को जनगणना अनुसार यिनीहरूको जनसंख्या महिला २,८३,७८० र पुरूष २,३८,८६१ गरी ५,२२,६४१ (१.९७ प्रतिशत) रहेको छ। यीमध्ये ३,२५,६२२ मात्र गुरुङ भाषा बोल्दछन्। गुरुङहरूको आफ्नै बोलीको भाषा छ। गुरुङ भाषालाई तमुक्वी भन्दछन्। गुरुङ भाषालाई भोट बर्मेली र खमेर परिवारको भाषा भन्ने गरिन्छ। गुरुङहरूको खेमाप्ही भन्ने लिपि छ र यो लेख्न सकिने भाषा भनिन्छ। तर सबै गुरुङले यो लिपिलाई मानेका छैनन्।
नेपालमा भोट बर्मेली शाखा अन्तर्गत ५७ भाषा बोलिन्छन्। तीमध्ये गुरुङ बोडिस समूहको एउटा प्रमुख भाषा हो। यसको लेख्य परम्परा नभएकोले वैज्ञानिक अध्ययन भएको छैन। लिपि भाषाको जीवन्तताको लागि अत्यावयक कडी हो। आभूषण पनि हो। लिपि विकासले भाषाको विकासमा ठूलो भूमिका खेल्छ। नेपाल बहुभाषी, बहुजाति, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक हो। यहाँको एउटा महत्वपूर्ण जातिभित्र पर्ने तमु जातिको आफ्नै भाषा, धर्म, कला, भेषभूषा लगायत संस्कार संस्कृतिको छुट्टै मौलिक पहिचान हुँदाहुँदै पनि आफ्नो लिपिको अभावले संस्कृतिदेखि संस्कारसम्मका विकासमा अवरोध सिर्जना भएको छ। शिक्षा क्षेत्रमा प्राथमिक तहसम्म मातृभाषा पढ्न पाइने कानुनी आधार छ। यसका लागि पनि भाषाको लिपि आवश्यक हुन्छ।
गुरुङ भाषा भोट बर्मेली भाषाअन्तर्गत पर्छ। तमु भाषालाई तमू क्यूई भनिन्छ। तमू क्यूई बोलीचालीको भाषा हो भने चो क्यूई तमु पुरोहितहरूले शास्त्रमा प्रयोग गर्ने भाषा हो। यो भाषा तमु भाषा नै भए पनि बुझ्न मुस्किल छ। यस भाषाको लिपि नभएको हुनाले नेपालका अन्य जनजातिको जस्तै तमूहरूको पनि मौखिक आख्यानको रूपमा ऐतिहासिक दस्तावेज, पण्डित, पुरोहितहरूको ज्ञान, विद्या, विधिविधान एउटा पुस्तादेखि अर्को पुस्तामा सर्दै र सार्दै ल्याइएको छ।
गुरुङहरू गण्डकी अञ्चलका रैथाने जाति भएकाले गुरुङ भाषाको मूल थलो पनि यही प्रदेश हो, जहाँ ऐतिहासिक कालमा गुरुङहरूको आफ्नै स–साना नौ थुम गणराज्यहरू थिए। गुरुङ भाषामा खेब माने पढ्नु र प्हिब माने लेख्नु भन्ने शब्द छन्। तर आजसम्म लिपि भेटिएका छैन। स्याङ्जा निवासी पच्युगुरु पिमबहादुर गुरुङले खेमालिपि र कास्की निवासी जगनलाल गुरुङले तमुप्ही नामक दुई प्रकारका लिपि प्रयोगमा ल्याइनुपर्छ भनी प्रस्तावमा आइराखेका छन्। यीमध्ये खेमालिपि भारतको सिक्कीम राज्यका गुरुङ भाषा प्रेमीहरूले अपनाएर विद्यालय स्तरका किताब छापी प्रयोगमा पनि ल्याइसकेका छन्। हालसम्म फेला पारेको तथ्यअनुसार गुरुङ भाषाको लेख्य परम्परा देवनागरीमा ढोर निवासी अमरबहादुर गुरुङले २०१५ मा प्रकाशित गरेको गुरुङ भाषाको किताब ‘तमु क्युई चेकेदेदै रोमे’ (गुरुङ भाषाको सानो कोसेली) बाट प्रारम्भ भएको देखिन्छ। गुरुङ भाषा र साहित्यका अधिकांश किताबहरू देवनागरीमा नै लेखिएका छन्।
गुरुङ जातिको धर्म
तमु जातिको प्राचीन धर्म संस्कार प्राकृतिक बोन संस्कार नै हो। तमु समाजमा प्राकृतिक बोन संस्कारअन्तर्गत धामी, झाँक्री, पैँडी, पच्यु, ध्यावृ, बोन लामाहरूको महत्वपूर्ण भूमिका हुन्छ। यसैले समाजमा जन्मदेखि मृत्युसम्मका संस्कार सम्पन्न गर्दा कुल, कुलायन बुझाउँदा, देवी, देउरालीहरूको पूजाआजा गर्दा र बिरामी पर्दा भूत–प्रेत–पिचाश लगायतका लागुभागु मन्छाउने कार्य गरिन्छ। यिनीहरूले वन जङ्गलमा हुने प्राकृतिक जडीबुटीको औषधीले बिरामीहरू निको पार्ने काम गर्छन्। अझै गाउँघरमा त्यो चलन हटेको छैन। प्राकृतिक बोन धर्म, बोन संस्कारको उत्पत्ति र विकास मानव उत्पत्तिपछि मानव सभ्यता र विकासको क्रम सँगसँगै भएको हो। मानव विकासको प्रारम्भिक चरणका मानिसहरूले धेरै प्राकृतिक विपत्तिहरूको आपतविपत सामना गर्न पर्यो। उत्पन्न भएको प्राकृतिक विपत्तिहरू र प्राकृतिक दैवी शक्ति तथा दैवी प्रकोपको रहस्यहरू मानिसले बुझ्न सकेनन्। मानिसहरूलाई आपत विपत पार्ने प्राकृतिक विपत्तिहरूको समाधान कसरी गर्ने भन्ने हेतुले खोजी नीति र अध्ययन अनुसन्धान पनि साथै सुरु गर्ने क्रममा प्राकृतिक दैवी शक्ति र स्रोतबाट तान्त्रिक बोन विद्या उत्पन्न भयो।
बोन धर्मको सुरुआत भने भारत तथा इरान बीचको सीमानामा पर्ने ताग्जिक भन्ने स्थानमा बताइन्छ। बोन धर्मावलम्बीहरू यस धर्मलाई तोन्यो सेन्रप मिओछेले प्रतिपादन गरेका हुन् भन्दछन्। वेभ विश्वकोश विकिपिडियामा तोन्यो सेन्रप मिओछे आज भन्दा १८,००० वर्ष अघि जन्मेका हुन भनिन्छ भने बोन द प्रिभिटिभ रिलिजन अफ तिबेत (तिब्बतको प्रागएतिहासिक धर्म) का लेखक अनुकूल बेनार्जीले बुद्ध भगवान् भन्दा १०५५ वर्ष अघि जन्मेका भनेका छन् । कुनै स्रोतले भने भगवान् तोन्यो सेन्रप मिओछे बुद्धका समकालीन हुन् पनि भनेका छन्। उनले दिएको ज्ञान गौतम बुद्धको ज्ञानहरूसँग धेरै मिल्दोजुल्दो भएको लेखक सामदेन जी – कार्मेले उल्लेख गरेका छन्। बोन धर्मको विकास भएको साङसुङ राज्यलाई सातौं शताब्दीमा सम्राट स्रङचङ गम्पोले तिब्बतमा गाभेका थिए। तमू समाजले परम्परादेखि पच्यु, क्यबी र लम (लामा) यी तीन वर्गको तमू भाषामा खेगी (पुरोहित) हरूलाई मान्यता दिई पुजारीहरूको काम विभाजन पनि गरेका थिए। तमूहरूमा पच्युले विरामी हुँदा झारफुक तथा ल्हे (पूजा) गरी बिरामीलाई निको बनाउने, मृत्यु संस्कारमा मृतात्मालाई भूतप्रेतबाट अलग्याउने, क्यबीले मृतात्मालाई विभिन्न विधिविधान अपनाई स्वर्ग तारिदिने र लामाले छैखु (आम्यु) ह्योखु (सह बटुलेर धन ऐश्वर्य बृद्धि गराउने काम) गर्ने तथा शान्तिका लागि बत्ती बाल्ने भन्ने मान्यता छ।
गुरुङ जातिको संस्कार
प्रत्येक जातजातिमा आ–आफ्नै प्रकारका संस्कारहरू हुन्छन्। संस्कार रूपी रूखको जरा प्रत्येक व्यक्तिका जीवनका हर व्यवहारमा गाँसिएका हुन्छन्। गुरुङहरूको जन्म संस्कारमा शिशुको जन्म हुनासाथ समाजको अनुभवी महिलाद्वारा सालनाल काटी शिशुलाई मनतातो पानीले नुहाई, तोरीको तेल लगाई सफा कपडामा बेरेर सुताइन्छ।
शिशु जन्मेको तेस्रो दिन पैंडी (ज्योतिषी) बोलाई शिशुको नामकरण गरिन्छ। अर्थात् शिशुको नाम राखिन्छ। शिशु जन्मेको छैंठौ दिनको साँझ नवजात शिशुको भविष्य राम्रो होस् भनी शुभमंगल कामनाको लागि थालीमा एक माना चामल, रूपैयाँ पैसा भेटी राखी थाल माथिनै दियो बालेर शिशुको सिरानीमा राखिन्छ।
बालकको जन्म भएको नौ दिन या एघार दिनमा न्वारान वा नामकरण हुन्छ। बालिकाको सात दिनमा न्वारान गर्ने गरिन्छ। सात माता र नौ पूर्खाको प्रतीकको रूपमा यसलाई लिइने हुनाले बालबालिकाहरूको न्वारानमा पनि सात तथा नौ दिनलाई शुभ मानिएको हो। यस दिनमा चोख्याउने मात्र नभई क्यब्रीबाट स्वस्ति – शान्ति पूजा (था सों प्रिहसों) गर्ने गरिन्छ। त्यसै दिनमा पैंडीले तीन दिनमा जुराएको नाम पुनः सुनाइन्छ। बालबालिकालाई दोष–दोषालो तथा दुरात्माको कुदृष्टि नपरोस् भनी छोरा भए नौसरोमा नौ गाठो, छोरी भए सात सरो धागो सात गाँठो पारेर बेसारमा मोलेर तमू भाषामा स्याइस्याइ भन्दै पवित्र धागो (प्हैरू) शिशुको घाँटीमा, दुवै हातको नाडीमा, दुवै खुट्टाको कल्लीमा र कम्मरमा बाँधिदिने चलन छ।
अन्य जातजातिमा भए जस्तै गुरुङ जातिमा पनि पास्नीको संस्कार छ। छोरा भए ६ महिना र छोरी भए ५ महिनामा पास्नी अन्नप्रासन (भात खुवाई) संस्कार गरिन्छ। जेठा छोरा जन्मेर हुर्केपछि ३, ५, ७, ९ वा ११ यी विजोर वर्षहरूमध्ये कुनै एक वर्षमा पुटपुटे संस्कार गरिन्छ। जेठा छोराको मात्र पुटपुटे गरिन्छ। यस अवसरमा पुटपुटे गरिने बालकको घरमा मावली गाउँको नाच नाचिन्छ। भोलिपल्ट विहान शुभसाइतमा बालकलाई टीका लगाएर शुभआशिष दिइन्छ।
सबै छोराहरूको चूडाकर्म संस्कार गरिन्छ। ३, ५, ७, ९, ११ र १५ यी विजोर वर्षहरूमा छोराहरूको चूडाकर्म गरिन्छ। चूडाकर्म गर्दा गाईको गोठ वा गोरुको भकारोमा लगेर कपाल काटिन्छ। यदि गाईको गोठ र गोरुको भकारो छैन भने आगनको छेउमा टाट्नो बनाइन्छ। त्यस ठाउँमा गाई वा गोरुको गोबर पनि राखिन्छ । टाट्नोमा गाईको दाम्लो पनि बाँधेर राखिएको हुन्छ। टाट्नोमा बाँधेको गाईको दाम्लोले चूडाकर्म गर्ने बालकको घाँटीमा बाँधिन्छ। बालकको मुखमा नुनको ढिका पनि राखिन्छ। यसरी पशु जसरी व्यहार गरेपछि शुभसाइतमा त्यस वर्षको सगुनी पुरुषले मोहडापट्टिबाट कैँचीले बालकको कपाल काटिदिन्छन्।
गुरुङ जातिमा छोरीहरूको वर्गबाट विजोर वर्गमा पैंडीले शुभसाइत जुराई गुन्यू – चोली दिने चलन छ। यस कर्मका लागि छोरीको उमेर वर्गबाट गनेर सात वर्ष, नौ वर्ष वा एघार वर्ष उत्तम मानिन्छ। घोडा (तलो) वर्ग र सर्प (सप्री) वर्गको नौ वर्ष रिमा वर्ग (क्र घीं) परेको हुनाले यी दुई वर्गको नौ वर्षमा गर्न हुँदैन भनिन्छ। यसरी शुभसाइत निकालेर मात्र तमु गुरुङ चेलीहरूलाई गुन्यू – चोली दिने परम्परा रहेको छ। यसलाई बालिकाबाट वयस्क भएको सङ्केतको रूपमा लिइने र सामाजिक–सांस्कृतिक रूपले जिम्मेवारी लिन सक्षम मानिन्छ।
हरेक जातजातिका आ–आफ्नै प्रकारका विवाह पद्धति रहेझैं, गुरुङ जातिमा पनि विवाह पद्धतिमा आफ्नै विशेषता छन्। विवाहमा पहिले चार–सोह्र जातको मुख्य हुन्थ्यो, चार र सोह्र जात बीच सामान्यतः विवाह गरिदैन्थ्यो भने अहिले त्यस्तो सामाजिक बन्धनबाट गुरुङ समाज मुक्त छ। अतः विवाह खानपान आदि संस्कारका लागि उच–नीचको भेदभाव छैन। अहिले विवाहका लागि मुख्य तत्व हो थर – गोत्र पृथक हुनु। तमु जातिको विवाह गर्ने विधिहरूमा मगनी विवाह, प्रेम विवाह, जबर्जस्ती विवाह, जारी विवाह, विधुर र विधवा विवाहलाई उल्लेख गर्न सकिन्छ।
परिवारको कुनै सदस्यको मृत्युले परिवार, आफन्त र समाजमा अशोच, त्रास र चिन्ताको वातावरणको सिर्जना गरिदिन्छ। साथै मृत्युले परिवार, नाताकुटुम्बमा अपवित्र ल्याउने विश्वास पनि गरिन्छ। त्यसैले प्राय सबै धर्मवलम्बीहरूमा अन्त्येष्टि संस्कार धार्मिक विधिविधान पूरा गरी सतर्कता साथ सम्पन्न गर्ने गरिन्छ। तमुहरू धार्मिक दृष्टिकोणबाट बोन, बौद्ध तथा हिन्दु धर्ममा विश्वास गर्ने गर्छन्। हालको परिप्रेक्षमा तमूहरूले अन्त्येष्टि संस्कार पनि बोन, बौद्ध तथा हिन्दू तीन धार्मिक विधि विधान अनुसार सम्पन्न गर्ने गरेको पाइन्छ।
गुरुङ जातिको भेषभुषा
गुरुङ जातिका मानिसहरूको भेषभूषा आफ्नै किसिमका हुन्छन्। खास गरेर बाह्य प्रभावमा नपरिसकेका गुरुङहरू साधारण किसिमको खस्रो कपडाको लुगा लगाउँछन्। गुरुङ जातिका पुरुषहरू शरीरको माथिल्लो भागमा भोटो लगाई जाङमा कछाड र त्यसको भित्र लगौंटी बाँधेका हुन्छन्। तन्नेरीहरूले कछाडको माथि कम्मरमा कम्मर पेटी र शिरमा टोपी लगाउँछन्। केहीले भोटो माथि कालो रङको कपडाको इष्टकोट लगाउँछन्। हिउँदमा उच्च डाँडाहरूमा धेरै जाडो हुने हुँदा बाक्लो ऊनको बक्खु ओड्छन्। वर्षा ऋतुको पानीमा पनि सोही बक्खु ओड्छन्। व्यापार तथा अन्य कारणको लागि भ्रमण गर्दा पनि गुरुङ पुरुषहरू बक्खुलाई ओड्ने तथा ओछ्याउने काममा पनि प्रयोग गर्दछन्। बक्खु नलगाउँदा भोटोमाथि ऐँठे (भाङ्ग्रा) भनिने कपडाले बेरेका हुन्छन्। सैनिक सेवामा भर्ती भएका पुरुषहरूले पैण्ट, कट्टु, कमिज, कोट, गन्जी, स्वेटर आदि लगाउने गर्दछन्। कुनै भूतपूर्व सैनिकहरू विभिन्न बेलामा आपूmलाई गरिएको सम्मानका पदक, तक्मा आदि पनि लगाउने गर्दछन्।
गुरुङ महिलाहरू शरीरको माथिल्लो भागमा चोलो र तल्लो भागमा गुन्यू भनिने छोटो फरिया लगाउँछन्। फरिया पटुकाले टम्म कस्सिएको हुन्छ र पछिल्तिर कम्मर मुनि मखमल (कालो) को तीन कुने कपडा लगाउने गर्छन्, यसलाई ताम्लो (टीकी) भनिन्छ र माथि घरबुनाको घलेक (स्यामा) लाउने गर्छन्। यो अलि प्रौढ महिलाहरूमा मात्र सीमित हुन गएको छ। युवतीहरू बढी मात्रमा रङ्गीन कपडाहरू प्रयोग गर्दछन्। विदेशी सैनिक सेवामा लागेका मानिसका परिवारका महिलाहरूले मखमलको चोलो, नाइलन सारी, छापिएको रङ्गीन लुंगी आदि प्रयोग गर्दछन्। गुरुङ युवतीहरू नाकमा झुम्केबुलाकी, बाला, शिरपूmल, ढुङ्ग्री, लेस, पोते आदि लगाउँछन्। धेरै जसो सम्पन्न परिवारका महिलाहरू नाडीमा सुनको बाला र चुरी विभिन्न रङका काँचका चुराहरू, गलामा सुनको हार इत्यादि र कानमा माडवाली (बाघमुखे बुट्टा काटिएको मुन्द्री) पनि लगाउँछन्। विधवा स्त्रीले काँचको चुरी पोते लगाउँदैनन्।
तमु जातिका चाडपर्व
सिल्दो नाल्दो पूजा तमु गुरुङहरू गाउँबस्तीको सुरक्षा तथा कुशलमंगलका लागि सिल्दो नाल्दो (सिमे भूमे) पूजा गर्दछन्। यसलाई कतै सिल्दो नाल्दो, कतै सब्तो सिप्तो र कतै साची सिल्दो भनी फरक फरक नाम दिइएको पाइन्छ। यी सबै नामहरूको अर्थ हो – “प्रकृतिको मालिक देवता”। गाउँ घरका पशुगोठहरू चैतदेखि न्यानो हुने हुनाले गाउँभन्दा माथि लेकमा लैजाने र कात्तिक लागेपछि बेंसीतर्पm लैजाने हुनाले पनि यस पर्वलाई उँभौली र उँधौली पूजा भन्ने गरिन्छ। लेकतर्फ जाँदा उँभौली पूजा गरिन्छ भने बेंसीतर्पm झर्दा उँधौली पूजा गर्ने गरिन्छ। चैत र कात्तिक महिनामा गरिने सिल्दो नाल्दो पूजा गाउँमा महामारी आएमा पनि गर्ने परम्परा छ। प्ह्रो वापा (स्वस्ति–शान्ति गर्ने) :– चैतको पहिलो मंगलबार र साउनको पहिलो मंगलबार शुक्लपक्षमा दोष–दोषालो शान्त होस् भनेर स्वस्ति शान्ति गर्ने गरिन्छ। गाउँमा पशु पन्छीलाई कुनै किसिमको रोगव्याध र बाली–नालीमा कीरा फट्याङ्ग्रा नलागोस् भनी प्ह्रो फाल्ने चलन गुरुङ समाजमा छ
ल्होसार (ल्होछार) नेपालका अनेकौं चाडपर्वहरूमध्ये ल्होसार एक हो। मंगोल परिवारका एक ठूलो जनसमुदाय यथा गुरुङ, तामाङ, शेर्पा आदिद्वारा समान उत्साहले यो चाडलाई प्रत्येक वर्ष मनाइदै आएको छ। नयाँ वर्षको आगमनलाई खुशियालीका साथ स्वागत अभिवादन गर्नु नै यो पर्वको विशेष महत्व मानिन्छ। प्रस्तुत सम्वत् फेरिने ल्होसार पर्वको प्रारम्भ आजभन्दा झण्डै पाँच, छ हजार वर्षअघि तिब्बत एवं चीनका विभिन्न भागहरूमा विकास भएको नयाँ वर्ष वा सम्वत् परम्परा हो। भारतीय उप–महादेशमा प्रचारित वर्षहरूमा विभिन्न ग्रहहरूलाई राजा एवं मन्त्रीको रूपमा उल्लेख गरिएझैं चिनियाँ पात्रोमा प्रत्येक वर्षहरूलाई विभिन्न पशुहरूद्वारा प्रतिनिधित्व गराइएको छ। चीनीयाँ वर्षहरूमा प्रतिनिधित्व गराइएका विभिन्न बाह्र पशुपंछीहरूमा १. मुसा, २. गोरु, ३, बाघ, ४. बिरालो, ५. गरुड, ६. नाग (सर्प), ७. चरा, ८. कुकुर, ९. बँदेल, १०. घोडा, ११. बाँदर, १२. भेंडा पर्दछन्। प्रत्येक वर्षको गणना गर्दै जाँदा बाह्रौं वर्षको अनन्तर फेरि पहिलो वर्षकै जनावरको नामले वर्षको संज्ञा दिइन्छ। यसरी बाह्र वर्षको एक चक्र मानिएर यसलाई ल्होखार्लो (वर्षचक्र) भन्ने गरिएको छ।
साथै तमु समुदायले आफ्नै परम्पराका गैडु, गैरु पूजा, प्होतें लबा (गाउँ पूजा), फैलु (कुल पूजा), तु देउता, थासो वापा (स्वस्ति शान्ति गर्ने) आदि लगायत बैशाख पूर्णिमा, श्रीपंचमी, साउने संक्रान्ति, नाग पञ्चमी, जनै पूर्णिमा, वडा दसैं, तिहार, माघे संक्रान्ति, चैते दशैं जस्ता हिन्दूहरूले मनाउने पर्वहरू पनि हार्दिकता साथ मनाउने गर्दछन् ।
तमु जातिको लोक संस्कृति
रोधीँ तमुहरूको विशुद्ध पहिचान हो। यो तमु समाजको मौलिक परम्परामा आधारित सामाजिक संस्था हो। सयौं वर्ष अगाडि तमु सभ्यताको केन्द्र क्होल सोंथरबाट रोधीँ सभ्यता र संस्कृति सुरु भएको थियो। जनश्रुति अनुसार गुरुङ भाषा ‘रोव’ को अर्थ सुन्ने र ‘धी’ को अर्थ घर जनाउँदछ। ‘रोव’ र ‘धी’ लाई सन्धि गर्दा ‘रोवधी’ वा सुत्ने घर हुन्छ। यही रोव धी भन्ने शब्द अपभ्रंश भई रोधी भएको भन्ने भनाइ छ। अर्को जनश्रुति अनुसार ‘रु’ को अर्थ धागो ‘लब’ को अर्थ कात्ने र ‘धी’ को अर्थ घर हो। रुघी वा धागो कात्ने घरबाट विकसित हुँदै रोधी हुन आएको हो भनिन्छ।
गुरुङ महिलाहरू स्थानीय इलाकामा पुवा भनिने, अलो नाम गरेको सिस्नुपाट र भेडाबाख्राको ऊनबाट थैला, भाङग्रा र राडोपाखी, उत्पादन गर्ने गर्छन्। रोधीको संरचना र औचित्यका बारेमा भन्नु पर्दा एकै उमेरका दौँतरी युवा युवतीहरू एकै ठाउँमा भेला भएर सीप, कला, ज्ञान र सामूहिक व्यवहार सिक्ने स्थानको नाम रोधी हो। रोधी प्राचीन समयमा विद्यमान सामाजिक मूल्य र मान्यतामा आधारित विश्वास तथा सीप सिक्ने पाठशाला हो। यो लोक संस्कृतिलाई जीवन्त तुल्याउने, फुर्सद मिलाएर गाउने, बजाउने, नाच्ने, रमाइलो गर्ने थलो हो। रोधी गुरुङहरूको पारस्परिक सहयोग सद्भाव र अनुशासनको व्यावहारिक ज्ञान आर्जन गर्ने विद्यालय हो।
रोधीँ गुरुङ जातिको प्राचीन संस्कृतिमध्ये एक हो। यो गुरुङ जातिको आफ्नै महत्व बोकेको संस्कृतिभित्र पर्न आउँदछ। गुरुङ भाषामा रो – बुन्नु, सुन्नु, धीँ – घर भन्ने हुन आउँछ। गुरुङहरू कृषि व्यवसायी भएका हुनाले दिन भर खेतवारीमा काम गरेर साँझ खाना खाई सकेपछि दिनभरको थकाइ मेटाउनको लागि रोधीँ घरमा जम्मा हुन्छन् र भलाकुसारी तथा गीत गाउने, बजाउने र नाच्ने गरी मनोरञ्जन गरेर दिनभरको थकाइ मेटाउँछन्। अर्का थरी आफूहरूले लगाउने कपडा बुनेर तैयार पारेर प्रयोग गर्ने, अरूलाई दिने गर्दछन्। यसैले रोधीँ अर्थात् बुन्ने घर, आधुनिक भाषामा सिलाइ बुनाई केन्द्र भन्न सकिन्छ। त्यहाँ सिलाइ बुनाई सिकाउने र उत्पादन गर्ने गरिन्छ । गुरुङ समाजमा हरेक गाउँमा एक एक रोधीँ घर हुने गर्दछ। त्यो रोधीँ घर अति नै अनुशासित र कडा निगरानीका साथ बूढा पाकाहरूले संरक्षण र सम्वद्र्धन गरेर राखिएको हुन्छ।
घाटुनाच गुरुङ जातिको एउटा आफ्नै विशेषताले भरिपूर्ण संस्कृति हो। हिमचुली, वरचुली, देवचुली आदिको आराधना नगरी घाटु जाग्दैन। यो घाँटीबाटै एक्लै सुर झिक्ने राग (गीत) भएकोले एक अर्थमा यसलाई घाटु भनिएको हो भनिन्छ। धार्मिक एवं सांस्कृतिक भावनाले ओतप्रोत रहेको घाटुनाच गुरुङ समाजको जीवन्त संस्कृति हो। यसमा तत्कालीन सामाजिकता एवं ऐतिहासिकता पनि छिपेको छ। त्यसैले यो राष्ट्रिय संस्कृतिमा दरिनयोग्य छ। कुनै स्वाभिमानी नेपालीले आफ्नो राष्ट्रिय संस्कृतिको नमुना कतै प्रस्तुत गर्नु परेमा घाटुनाच निर्धक्क अगाडि सार्न सक्दछ। घाटु दुई प्रकारका छन्, सती घाटु र बाह्रमासे घाटु। सती घाटुको विधि विधान अलि चर्को छ। यो जुन समयमा पनि नचाउनु हुँदैन। यसको एउटा निश्चित अवधि वा समय हुन्छ। तर बाह्रमासे घाटु जहिले पनि जहाँ पनि आयोजना गर्न सकिन्छ।
गुरुङ जातिमा प्रचलित यो पृथक किसिमको नाच हो सोरठी। नृत्यको कथा वस्तु सात जना श्रीमती भएका निःसन्तान प्राचीनकालीन एक जना राजा र उनका रानीहरूको सेरोफेरोमा केन्द्रित रहेको छ। कथामा सातवटी रानीमध्येकी कान्छी रानीबाट छोरी पाएकोमा अन्य सातवटी रानीले ईष्र्या गर्दा जन्मेकी छोरीलाई मार्ने षडयन्त्र यस गीतिकथाको मुख्य कथाबस्तु हो। बालिकालाई षडयन्त्रपूर्वक खोलामा फालि दिन्छन्। तर ती बालिकालाई माझिले फेला पार्छ। अन्तमा षडयन्त्र पर्दाफास हुन्छ र आमा छोरीको पुनर्मिलन हुन्छ भने दोषीहरू सजायका भागिदार हुन्छन्। यो नृत्य दसैं र तिहारको बीचमा १६ दिनसम्म नाच्ने गरिन्छ।
गुरुङ जातिमा प्रचलित यो फरक पहिचान भएको नाचमध्येको एउटा नाच हो मारुनी। यो साउनमा सुरु भएर पुषसम्म नाच्ने गरिन्छ। यस नाचमा हिन्दु देवीदेवताहरूलाई विभिन्न फूलहरू चढाएर पूजा आराधना गर्ने गरिन्छ। ती देवीहरू मध्येकी विद्याकी देवी सरस्वती प्रमुख देवी हुन्। नाचको अन्तमा सरस्वतीको पूजा आधारना गरेर देवीबाट आशीर्वाद पाएको अभिनय गरी टुङ्ग्याइन्छ। परम्परागत भेषभूषामा नर्तकहरूले शरीर अनौठो तर भद्र पाराले मर्काउँदै नाच्ने गर्छन्। उपस्थित अन्य मानिस गीत गाउने, मादल बजाउने गर्छन्।
तमु जातिको ऐतिहासिक पेशा
इतिहास र जातिको विकासको क्रममा गुरुङ जातिका पेशामा पनि धेरै परिवर्तनहरू हुन गएका छन्। यो जाति तिब्बततिरबाट हिमाल पार गरेर हिमालयको दक्षिणी ढालहरूमा बसाइँ सर्दा (सोको तिथि निश्चित नभइसकेको) भेडी गोठसँग नै बास सर्दै जाने गर्दथे। बिस्तारै हिमालयको दक्षिणी भेकका पाखाहरूमा खेती गरी गाउँहरू बसाउन थाले। केही कालपछि यिनीहरूको मुख्य पेशा कृषि हुन पुग्यो र भेडा पालन, घोडा पालन आदि व्यवसायहरू पनि अपनाउन थाले। घले राजाहरूको पतन भएपछि उदय भएका शाह राजाहरूको सैन्यमा काम गर्न थाले। नेपाल इष्ट इण्डिया कम्पनीको सन्धि भएपछि नेपालीहरूलाई ब्रिटिश भारतको फौजमा भर्ती हुने व्यवस्था मिलाइएको थियो। कालान्तरमा नेपालका अन्य जाति सरह गुरुङहरू पनि विदेशी सैनिक सेवामा भर्ना हुन थाले। हाल सैनिक सेवाबाट प्राप्त हुने रकम उनीहरूको अर्थ व्यवस्थाको एक मूल आधार बन्न गएको छ।
विदेशी सैनिक सेवामा लाग्दा यिनीहरूले देखाएको वीरता (विश्व प्रसिद्ध भिक्टोरिया क्रस अलकारबाट विभूषित वीर गजे घले), साहस, इमान्दारी आदिको कारण यिनीहरू संसारभर प्रख्यात भएका छन्। ती सब परिवर्तनहरूको फलस्वरूप भेडा पालन तथा ऊनमा आधारित घरेलु उद्योगको भाग गुरुङहरूको अर्थ व्यवस्थामा सानो हुन गएको छ। वर्तमान अवस्थामा गुरुङ जाति नेपालमा ठूला ठूला उद्योग, शिक्षा, प्रशासन, वैदेशिक व्यापार, राजनीति आदि क्षेत्रमा प्रगति गरिरहेका छन्।